सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी – Nepal Press

सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी

काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ ।
बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ ।
बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो ।
“टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ”, एक प्रेस विज्ञप्तिमा भनिएको छ, “उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।”
नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताउनुभएको छ ।
नोएल दशकौँदेखि समूहसँग जोडिएका छन् । यद्यपि उनी विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिन्छन् ।
टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर