बडा दशैँ : टीका लगाउँदा कता फर्किने ? – Nepal Press

बडा दशैँ : टीका लगाउँदा कता फर्किने ?

काठमाडौं । बडादशैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८:३३ बजे रहेको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

लगाइमाग्ने र लगाइदिने कता फर्किने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशीमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा देवमणि भट्टराई ।

यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशीका आधारमा निर्धारण हुनेछ ।


प्रतिक्रिया

One thought on “बडा दशैँ : टीका लगाउँदा कता फर्किने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *