समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’ – Nepal Press
समिक्षाः

समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’

दक्षिण भारतीय चलचित्रको अन्धनक्कल गर्दा चिप्लिए बिराज भट्ट

एउटा गाउँ छ, जसको नाम हो ‘१२ गाउँ’ । यो गजेन्द्रको बुवाले बसाएको गाउँ हो । ‘१२ गाउँ’ मा अहिले गजेन्द्र (मुरलीधर)ले हुकुमी शासन चलाइरहेका छन् । गाउँमा गैरकानुनी रूपमा हुने गाँजा र अफिम खेतीमा उनको एकलौटी नियन्त्रण छ ।

गाउँलेहरू नजरबन्दको अवस्थामा छन् । उनीहरूलाई गाउँको सिमाना नाघेर बाहिर जान वर्जित गरिएको छ । यदि कोही गाउँले बाहिर जान कोसिस मात्रै गरेमा गजेन्द्रको हातबाट मारिनुपर्छ । वा कोही नयाँ मान्छे बाहिरबाट गाउँभित्र छिरेमा जिउँदो फर्कन असम्भव छ ।

यही गाउँमा कर्णेले गजेन्द्रविरुद्ध विद्रोह गर्छ । उ गाउँ छाडेर जाने निर्णय गर्छ । फलतः गजेन्द्रले कर्णेलाई मारिदिन्छ । कर्णेकी गर्भवती श्रीमतीको बच्चा जन्मनासाथ मारिदिने धम्की दिन्छ । त्यो बच्चा गजेन्द्रको हातबाट कसैगरी बच्छ । ठूलो भएपछि गजेन्द्रको क्रूरताविरुद्ध लड्छ । अहिले हलमा चलिरहेको ‘१२ गाउँ’ को मुल कथासार यही नै हो ।

यो चलचित्र शंकर (विराज भट्ट) र अजय (समीर भट्ट)को वरिपरि घुमेको छ । कुनै जमाना नेपाली चलचित्रका एक्सन स्टार बिराज भट्ट, जो पछि भोजपुरी चलचित्रतिर लागे, ले आफ्नो छोरा समीरलाई आफ्नो पदचिन्हमा हिँडाउने ध्येयले ‘१२ गाउँ’ को निर्माण र निर्देशन गरेका हुन् । चलचित्रमा आउनका लागि समीर आफैँले लामो तयारी गरेका थिए, जुन चलचित्रमा उनको काममा पोखिएको छ ।

‘१२ गाउँ’ बाट समीरले राम्रो सम्भावना देखाएका छन् । उनको एक्सन र डान्स उम्दा छ । अभिनयमा पनि मिहिनेत गरेका छन् । समग्रमा एउटा ‘हिरो प्याकेज’ का रूपमा उनी उदाएका छन् । तर निर्देशक बुवा बिराज भट्टले छोरामा भएको क्षमता र सम्भावनालाई न्याय गर्न सकेनन् । दक्षिण भारतीय चलचित्रको अन्धनक्कल गर्दै उनले एउटा ‘सी ग्रेड’को चलचित्र दिएका छन्, जसमा समीरलाई बिर्सिने हो भने अरू सम्झिन लायक खासै केही पनि छैन ।

गजेन्द्रको क्रूरताबाट सुरु भएको फिल्मले गज्जबले कथा भन्ला कि जस्तो लाग्छ दर्शकलाई । तर, कथा बिस्तारै गोलमटोल र हास्यास्पद बन्दै जान्छ । क्लाइमेक्समा पुग्दासम्म दर्शक दिक्क भइसक्छन् ।

सबैभन्दा पहिलो कुरा त, ‘१२ गाउँ’ को परिवेश नै अपत्यारिलो छ । चलचित्रको कथावस्तुमा अहिलेकै समसामयिक विषयहरू छन् । तर आजको समयमा नेपालको कुन गाउँ होला, जहाँ एउटा व्यक्तिको एकाधिकार चल्छ ? ‘१२ गाउँ’ भित्र संविधान–कानूनको अस्तित्व किन भएन, प्रहरी जानसमेत डराउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको उत्तर चलचित्रमा भटिँदैन ।

दुई दशकअघि आफैँले खेलेका फिल्महरूका कथा वाचन शैलीलाई बिराजले ‘१२ गाउँ’ मा थोपरेका छन् । चलचित्रमा गाउँको मुखिया भिलेन हुन्छ, जसको वरिपरि गुण्डाहरु हुन्छन् । भिलेनको विरुद्ध उभिन्छ एउटा सुगठित ज्यानको हिरो । अनि दुईबीच संघर्ष हुन्छ । अन्त्यमा हिरोको जित । भारतीय फिल्मबाट आयातित यो फर्मुला नेपाली चलचित्रले त्यागेको धेरै भइसक्यो । दर्शकको स्वाद पनि फेरिइसकेको छ । तर, बिराज पुरानै धङधङीमा छन् ।

हिरोइन समस्यामा पर्दा हिरोको इन्ट्री हुन्छ । हिरोले गुण्डाहरुलाई पिटेको देखेर हिरोइन प्रभावित बन्छिन् । हिरोइनले हिरोलाई आफ्नो घर लिएर जान्छिन । बुवासँग परिचय गराउँछिन् । चिया पकाएर ल्याउँछिन् । चिया पिएर उठेर हिँड्ने बेला हिरोले चिया मीठो भएको बताउँछ । हिरोइन हिरोसित एकतर्फी मायामा पर्छिन् । रातभर निदाउन सक्दिनन् । अनेक कल्पनामा तैरिन्छिन् । त्यही कल्पनामा रोमान्टिक गीत आउँछ । ओछ्यानमा सुतिरहेकी हिरोइनको मुखमा लिपिस्टिक र आँखामा गाजल हुनुलाई नौलो मान्ने हो भने बेग्लै कुरो, होइन भने यस्तो पटकथा उहिल्यै डेट एक्सपायर भइसकेको होइन र ? कुन जमानामा छन् बिराज ?

गीताले जन्माएको बच्चा गजेन्द्रको हातमा पुग्दा अचानक ६ महिना जतिको देखिन्छ ! २२ वर्षपछि एकैपटक अजयलाई हिरोको रूपमा देखाइएको छ । यो पनि पुरानै शैली ।

अजय हतियार किन्न एक गोदाममा जान्छ । हतियारका लागि बिक्रेतालाई हिरा दिन्छ । बिक्रेताले हिरा लिन्छ तर हतियार दिन मान्दैन । लफडा हुन्छ । अजयले आफ्नो सर्ट आफैं च्यात्छ । सिक्स प्याक देखाउँछ । भुटुटु… बन्दुक चलाउँछ । कुनै दक्षिण भारतीय फिल्मको दृष्य याद आयो ?

स–साना कमजोरीहरु त अनगिन्ति नै छन् । शंकर एकजना साथी र पत्रकारकी छोरीलाई लिएर पत्रकार खोज्न ‘१२ गाउँ’ जान्छ । उनीहरु जंगलमा बास बस्छन् । रातको समय आगो बाल्छन् । दृश्य रातिको, खिचाइ चाहीँ दिनको । आगोसँगै देखिएको जंगलको दृश्यमा आकाश उज्यालो देखिन्छ ।

२२ वर्षअघिको गाउँ र २२ वर्षपछिको गाउँमा कुनै भिन्नता छैन । गजेन्द्रका केटाहरु उस्तै छन् । न त गजेन्द्रको लुक्समा नै खासै परिवर्तन आएको छ । मेकअप आर्टिस्टले टाइमलाइन ख्याल गरिदिएको भए पनि यस्तो त्रुटि हुन्नथ्यो ।

चलचित्रले मध्यान्तरमा पुग्दा नै मुलबाटो हराउँछ । मूल कथा गजेन्द्रको क्रुरताको अन्त्य हो । तर, चेलिबेटी बेचविखनदेखि भूमाफियासम्मका प्रसंग घुसाएर झिँजोलाग्दो बनाइएको छ । मध्यन्तरपछि फिल्मले केही गति लिएको छ । अजय र शंकरको साइनो के हो, गजेन्द्र र अजयबीचको कनेक्सन के हो भनेर खुल्दै जान्छ । तर, भिलेनसँग हिरोको जुन किसिमको सघन संघर्ष हुनुपर्ने थियो, त्यो छैन । हिरोहरु एकैपटक भिलेनलाई मार्नका लागि मात्रै टप्किएझैं लाग्छ ।

कतिपय दृश्यमा ब्याकग्राउण्ड म्युजिकलाई अति नै लाउड बनाउँदा दृश्यसँग संगति मिलेको छैन । परम्परागत शैलीमा हिरोको इन्ट्रीलार्ई धमाकेदार बनाउन खोजिएको छ, तर त्यसले खासै तरंग पैदा गदैन । चलचित्रमा पात्रहरुलाई थुप्रै ठाउँमा हिन्दी संवाद बोल्न लगाइएको छ । नेपाली चलचित्रमा हिन्दी डाइलग घुसाउनुको कुनै औचित्य सावित गरिएको छैन ।

साउथ इण्डियन फिल्मको द्वन्द्व निर्देशक ल्याएको भनेर प्रचार गरिएकाले एक्सनमा अपेक्षा बढी हुनु स्वभाविक थियो । अपेक्षा पूरा नभए पनि केही एक्सन सीनहरु गतिलै छन् । ‘१२ गाउँ’ को सिनेमाटोग्राफी आम नेपाली चलचित्रको भन्दा राम्रो छ । यो बाहेक चलचित्रमा सवल पक्षहरु नगण्य छन् ।

सारमा भन्नुपदा ‘१२ गाउँ’ बाट निर्देशक विराज भट्टले निराश बनाए । फिल्म भित्र कलात्मकता र मौलिकता खोजि गर्ने दर्शकले ‘१२ गाउँ’ छुटाउँदा पनि पछुताउनु पर्ने छैन । समिर भट्टलाई हेर्न आतुर टिनएजर्स बाहेक आमदर्शकलाई यो फिल्मले अपिल गर्न सक्दैन । रिलिजपूर्वको माहोलले गर्दा चलचित्रले बम्बर ओपनिङ त गर्यो, तर यो कति टिकाउ होला भन्ने मुल प्रश्न हो ।


प्रतिक्रिया

2 thoughts on “समीर भट्टको मिहिनेत र प्रतिभालाई खेर फालेको ‘१२ गाउँ’

  1. तपाईंको समीक्षा चाहिँ कस्तो हो क्या!सिनेमा भनेकै तपाइँलाई थाहा रहेनछ!अहिलेको जमानामा नेपालमा त्यस्तो गाउँ कहाँ छ अरे।अरे बाबा फिल्म मा भूगोलकोको पढाइ देखाउनु पर्ने हो र कुन जिल्लको भूगोल जनसंख्या कस्तो छ भनेर।सिनेमा भनेकैएउटा काल्पनिक कथा हो जस्मा सबै पक्षले मिहिनेत गरेर दर्शक्लाइ मनोरञ्जन दिने काम गर्छ्न! तपाईंको समीक्षा पुरै बायस भएर लेखिए जस्तो लाग्यो !

  2. छक्का पन्जाको खुब तारिफ गरेर लेखेको थियो नेपाल प्रेसले । दर्शकले मन पराएको फिल्म हो १२ गाउं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *