जब छोराको शव टीकाको अघिल्लो दिन आयो… – Nepal Press

जब छोराको शव टीकाको अघिल्लो दिन आयो…

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि गएका पन्थले १० महिने कोर्ष पूरा गरिसके । ८ महिनापछि उनी पाइलट बन्दै थिए ।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैँ पनि विगतको भन्दा उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार । तर, त्यो सपनामै सीमित भयो । विराट घटनास्थापनको भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

यता नेपालमा रहेको पन्थ परिवार दशैँका लागि जमराको चाँजोपाँजो मिलाउँदै थियो । त्यहीबेला खबर आयो, छोरा विराटको आफैँले चलाएको कार दुर्घटनामा परी निधन भयो । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको बताइएको छ ।

कानूनी प्रक्रिया पूरागरी पन्थको शव शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरियो । दशैँको बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ ।

बुवा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् ।

आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला ! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।’

छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको सुनाए ।

‘आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्’, श्रेष्ठले भने ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *