दशैँमा सेतो टीका- यस्तो छ परम्परागत र जातीय विशेषता – Nepal Press

दशैँमा सेतो टीका- यस्तो छ परम्परागत र जातीय विशेषता

कुन समुदायमा कसरी मनाइन्छ दशैँ ?

रुपन्देही । दशैँ भन्नेबित्तिकै धेरैले रातो टीका र जमरा भनेर बुझ्ने गर्दछन् तर अधिकांश जनजाति र समुदायमा दशैँमा सेतो टीकाको प्रयोग हुन्छ ।

नेपालमा समुदायअनुसार दशैँमा लगाइने टीका फरक फरक हुने गरेको संस्कृतिविद्हरूको भनाइ छ । जनजाति समुदायले दशैँलाई रङ्गहरूको प्रयोगभन्दा पहिले मनाउन थालेको र प्राकृतिक रूपमा दही र चामलको टीकाको विशेष अर्थ रहेकाले जनजाति समुदायले यसलाई प्रयोग गरेको विश्लेषण धेरैको छ ।

प्रकृति र आदिम जातिको सम्बन्ध, अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतो भएकोले त्यसको प्रयोग, देवीदेवताको पूजा गर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भएको भन्दै सेतो रङसँग प्राकृतिक सम्बन्ध भएकाले त्यही सम्बन्धलाई कायम राख्न आदिवासीहरू सेतो रङको प्रयोग गर्ने गरेको विश्लेषण संस्कृतविद्हरूको छ ।

त्यसो त सेतो टीका कहिलेदेखि कसले लगाउन शुरू भएको भन्ने लिखित दस्तावेज र प्रमाण केही गरिएको छैन यसलाई सबैले पुर्खाबाट चल्दै आएको बताएका छन् । धेरै आदिवासी जनजातिहरूले शुभ कार्यमा लगाइने गरेको सेतो टीकालाई कहिलेकाहीँ विशेष परिस्थितिमा बाहुनक्षेत्रीले पनि लगाउने गरेको पाइए पनि त्यसको प्रमाणिक तथ्य भेटिएको छैन ।

अधिकांश आदिवासी जनजातिले प्रयोगमा ल्याउने सेतो टीकालाई यहाँका भूमि पुत्र आदिम बासी थारुहरूले दशैं, तिहार तथा अन्य बेला देवीदेवतालाई लगाइदिने गरेको थारु अगुवाहरूको भनाइ छ ।

पौराणिक कालदेखि थारुले सेतो टीकालाई प्रयोगमा ल्याउँदै आएको थारु संस्कृतिको अध्ययन गरिरहेका कृष्णराज सर्वाहारी बताउँछन् । अहिले फाट्टफुट्ट रूपमा देखासिखीमा रातो टीका प्रयोगमा आए पनि सेतो टीका नै थारु समुदायको प्राचीन सभ्यता र प्रचलन रहेको उनको भनाइ छ । आदिवासी जनजातिभित्र पर्ने थारु, नेवार, मगर, गुरुङलगायतका सबै आदिवासीले सेतो टीका अङ्गीकार गरेको पाइन्छ ।

संस्कृतविद् घनश्याम कोइरालाका अनुसार आदिवासीहरू रङको विकास भइसक्नु अगावैबाट यो संस्कृतिको थालनी गरेको प्रमाण सेतो टीकाको प्रयोगले दिने बताउँछन् । ‘त्यो बेला एउटा सेतो रङ थियो । जुन प्रकृतिको उपहार थियो, सेतो रङ प्राकृतिक रङ हो ।, यो प्रयोगले आदिवासीको इतिहासबारे प्रष्ट हुन्छ’ उनले भने ।

जानकारहरूका अनुसार सेतो रङ चोखो र प्राकृतिक रङ मानिन्छ । यही चोखो रङको प्रभाव आदिवासीमा परेको हो । त्यसैले थारु जातिको पुरानो पहिरन पनि सेतो नै छ । चाहे विवाह गर्दा होस् । मृत्यु हुँदा होस् या अन्य बेलामा । महिला तथा पुरुषले लुङ्गी, लँगौटी, धोती या चोलो सबै सेतो नै लगाउने गर्दछन् ।

थारु समाजमा विशेष चाडबाडमा सेतो पहिरनमै महिला पुरुषहरू सजिने गरेको थारु संस्कृतिका अगुवा कृष्णराज सर्वाधारीको विश्लेषण छ । हिन्दू धर्म मान्नेहरूले सेतो टीकालाई अशुद्धिको रूपमा प्रयोग गर्छन् । चाडबाडमा जाँड, रक्सी, सुँगुर छुनु पनि हुँदैन, भन्छन् । तर, आदिवासी जनजातिहरूलाई ती चिज नभई हुँदैन । अहिले भने धेरै ठाउँमा मिश्रित समुदाय बस्ने भएकाले त्यति धेरै कट्टर भने देखिँदैनन् सबै समुदायमा व्यक्तिहरू ।

यद्यपि थारुलगायतका आदिवासीहरू अझ हिन्दू र बौद्ध दुवै धर्म मान्दै आएका छन् । कतिपयले सेतो टीकालाई शान्तिको प्रतीक मान्छन् । जुन टीका गौतमबुद्धले पनि ग्रहण गर्दै आएका थिए । तथापि गौतमबुद्धले कहींकतै सेतो टीकाको महिमाबारे प्रस्ट्याएका छैनन् ।

निधारमा लाउने टीकाले मन शुद्ध हुन्छ । वीरताको संकेत गर्छ अर्थले हेरिन्छ । मानिस विजय प्राप्त गर्दा होस् या नयाँ कामको सुरुवात गर्न टीका लगाउने गर्छन् । लामो यात्रामा जाँदा होस् या भगवानको पूजा गरी प्रसादीको रूपमा प्रायः टीका लगाइन्छ । थारु, मगर, तामाङ र अन्य केही जनजातिहरूले पनि दशैँमा सेतो टीका लगाउने गरेको विश्लेषकहरूको बुझाई छ ।

संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार जनजातिहरूमा सिक्किम, दार्जिलिङतिरका राई, लिम्बू, लेप्चा, भुटिया आदि जातिमा र नेपालकै पनि मगर, गुरुङ, तामाङ, राई, लिम्बू, लेप्चा आदि जातिहरूमा उनीहरू मुख्य रूपमा मांसाहारी भएर पनि प्रायः दही अछेताकै टीका लगाउँछन् ।

टीका लगाएपछि सकिन्छ थारुको दशैँ

नेपालको पूर्वदेखि पश्चिमसम्म बसोबास गर्ने थारुहरूले दशैँमा नवरात्री पूजा नगरे पनि टीका लगाउने गरेका छन् । थारु संस्कृतिबारे अध्ययन गरिरहेका कृष्ण सर्वाहारीका अनुसार थारुहरूले सेतो टीका लगाउने चलन रहे पनि कतिपयले अहिले रातो टीका पनि लगाउन सुरु गरेका छन् ।

थारु समुदायमा नौरथा पूजा नभए पनि सप्तमीदेखि सरसफाइ सुरु हुने र नवमीमा कुखुराको बलि दिने गरिएको छ। थारु समुदायमा दशैँ मनाउन बाबरी र दौना फूलको पूजामा प्रयोग हुने गरेको छ ।

‘थारु समुदायमा पारिवारिक टीका बाहेक गाउँका संरक्षक मानिने गुरुबा र गाउँका अगुवाकोमा पनि टीका थाप्ने चलन छ । गुरुबालाई दक्षिणा पनि दिने चलन छ । दशमीकै दिन गुरुबाहरू भेला भएर आगोमा नाचिने अखडिया नाच गरेर नयाँ गुरुबा बन्ने चलन पनि छ’ उनले भने ।

तर, पूर्व र पश्चिममा बसोबास गर्ने थारुहरूबीच पनि दशैँ मनाउने चलन फरक रहेको उनी बताउँछन् । थारु समुदायमा दशैँ अघिबाटै सुरु हुने सखिया नाच दशैँसँगै समापन गर्ने परम्परा छ ।

सृष्टिकर्ता जाति भएका नाताले पनि प्रकृतिसँग रमाउनु र नजिक हुनु, सेतो रङलाई गौतमबुद्धको प्रतीक, शान्तिको प्रतीकको रूपमा मात्रै हेरेर प्रयोग गरिएको पूर्वमन्त्री धर्मबहादुर चौधरी बताउँछन् ।

मगर समुदायको दशैँ

नेपालका मगर समुदायको संस्कृतिबारे अध्ययन गरिरहेका डा. विष्णु सिंजालीले परम्परागत रूपमै दशैँमा सेता टीका लगाउँदै आएको बताउँछन् । संघको अगुवाइमा बनेको प्राज्ञिक परिषद्का सदस्य सचिव डा. सिंजालीका अनुसार मगर समुदायले परम्परागत रूपमा सांस्कृतिक र प्राकृतिक संरक्षणको खुसीयालीको पर्वका रूपमा दशैँलाई मनाउने गरेको इतिहास छ ।

खास गरी वर्षा यामको सबै बाली स्याहार गरी धानसमेत स्याहार गरी दही र चामलको सेतो टीका आफ्नो समुदायले खुसीयालीका रूपमा मनाउन थालेको उनको विश्लेषण छ ।

‘आफ्नो समुदायमा कहिलेबाट यसरी मनाउन थालियो भन्ने त केही खुलेको छैन तर हाम्रो पुर्खाहरूबाटै यसको थालनी भएको हुनुपर्छ भन्ने हाम्रो ठम्याई हो, यसलाई संस्थागत रूपमा हामीले मनाउने गरेका छौँ, मगर समुदायमा हरेक शुभ कार्यमा सेतो टीका नै प्रयोग गरिन्छ, स्वास्थ्यको हिसाबले पनि हामीलाई पुर्खाहरूले उचित निर्णय गरेको भन्ने लाग्छ’ उनले भने ।

तर, अहिले धेरै ठाउँमा मिश्रित समुदायको बस्ती भएकाले केहीले नयाँ चलन पनि चलाएका छन् । नेपालमा मगरका ७ थर र साढे ९ सय उपथर रहेका छन् । थापा, राना, आले, पुन, बुढाथोकी, घर्ती र रोका मूल थर रहेका छन् । सिंजालीका अनुसार सेतो टीका र दसैको सम्बन्ध कहिलेबाट भन्ने केही नखुले पनि रंगको सुरुवात नहुँदै आफ्नो समुदायले प्राकृतिक रूपले खुसीयाली मनाउँदै यो संस्कारको थालनी गरेको विभिन्न अध्ययनबाट भेटिएको छ ।

गुरुङ समुदायको दशैँ

गुरुङ समुदायको भाषा, धर्म संस्कृतिको अध्यापन गराइरहेका अभियन्ता भीम गुरुङका अनुसार दशैँमा यो समुदायका सबैले पहिले सेतो टीका लगाउने गरे पनि अहिले भने सबैले लगाउन छाडेका छन् । परम्परागतरूपमा पुर्खाले गरेको संस्कृतिअनुसार यस्तो टीका लगाइने गरे पनि पछिल्लो समय सबैले त्यसको निरन्तरता नदिएको उनको भनाइ छ ।

टीकासँगै यो समुदायमा मावली मान्ने चलन दशैँमा धेरै पहिलेबाट गरिँदै आएको हो । आफ्नो मामाघर फलफूल, रक्सी लगेर रमाइलो गर्ने चलनलाई मावली मान्ने भनिन्छ । नवमीको दिन यो समुदायमा कुलायन पूजा गरिन्छ । भने दशैँको दिन मान्यजनबाट टीका लगाएपछि दशैँ सकिन्छ । अहिले धेरै मिश्रित समुदाय बस्ने भएकाले केही ठाउँमा यो परम्परा नै फेरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *