फेरिएको दशैँ : सन्तानसँगै चाड मनाउन आएकाको अष्ट्रेलियामा देखिएको भिड – Nepal Press

फेरिएको दशैँ : सन्तानसँगै चाड मनाउन आएकाको अष्ट्रेलियामा देखिएको भिड

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टस्थित सिचुवान एयरलाइन्सबाट छेन्दुका लागि दिउँसो १ बजे हामी तीनजनाको परिवार उडेका थियौँ । कुहिरोको लप्कासँगै जहाजले उचाइ लिँदै थियो भने हामीहरू आकाशमुनि बाक्लो कुहिरो, सेताम्मे हिउँले ढाकिएका पहाड छिचोल्दै गन्तव्यतर्फ जाँदै थियौँ ।

काठमाडौंबाट जहाज चढेदेखि नेपाली यात्रु देखेर आश्चर्यमा परेको थिएँ म । दशैं नगिच आइरहँदा यति धेरै नेपाली किन बाहिर हिँडे होलान् ? यस्तै प्रश्न मनमा उठाउँदै जहाज चढेको भए पनि छेन्दुबाट संख्या घट्ने होला भन्ने मेरो अनुमान थियो ।

२ वर्ष पहिला पनि म मलेसियन एयरलाइन्स हुँदै अष्ट्रेलिया आएको थिएँ तर, यति धेरै नेपाली थिएनन् । बरू फर्कँदा पर्याप्त नेपाली थिए । यो पटक छेन्दुबाट सिड्नीका लागि उडेको ४५० जना यात्री रहेको जहाजमा दुई तिहाइ नेपाली थिए ।

दशैँको मुखमा हामी जानुको प्रमुख कारण यो वर्ष टीका नहुनु हो । यद्यपि टीका भएको भए पनि दुवै छोरा, बुहारी, छोरी ज्वाइँ र नाति-नातिनीहरूसमेतको संयोग आफैँमा रोमाञ्चक नै थियो । अरू सबैको कारण त हामीलाई थाहा भएन तर, अधिकांशका परिवारका बहुमत सदस्य अस्ट्रेलिया हुनु हो भनेर अनुमान लगाउन खासै गारो थिएन ।

रोजगारी, अध्ययन वा अन्य कुनै कारणले घर छोडेकाहरू दशैंमा ‘घर’ फर्किएको अनुभव प्रायः सबैले गर्दै आएको विषय हो । यसबारे खासै धेरै चर्चा गरिरहनु पर्दैन । तर यो पटक मेरो अनुभव अलि फरक रह्यो ।

लाग्थ्यो हिजो सम्म गाउँले नै संस्कृति, धर्म र परम्परा धानिदिएको थियो । त्यसैले मानिसहरू शहरबाट मात्र हैन विदेशबाट पनि फर्कने गर्दथे । गाउँ फर्कनुको अर्थ यति मात्र थिएन इष्टमित्र, नाता कुटुम्ब, साथी र आफन्तसँगको भेटघाट खास अर्थपूर्ण हुन्थ्यो । वर्षमा एक हप्ता जसो गाउँ जाँदा पाइने आत्मीयता, अपनत्व र सहयोगी भावनाले हरेकको मन फर्काउँथ्यो ।

आजभोलि नेपालीहरू बाक्लै आउन थालेका छन् । एकातिर बुवाआमालाई घुमाउने, अर्कोतिर चाड पनि मनाइने भएपछि यतै बोलाउनेको संख्या दिनहुँ बढ्दो छ, कणेंलले भने- कतिपयका नातागोता नै यतै हुने र फरक फरक सहर वा राज्यमा हुने भएपछि पूर्णिमासम्म नै दशैँ मनाउन थालिएको छ ।

पहाडबाट बसाइसराइ गरेर तराई वा सहरमा गएकाहरू पनि दशैँमा घर फर्कने गर्दथे । मेरो अनुभवमा सम्पूर्णरूपले बसाइसराइ गर्दा पनि दशैंको टीकापछि पहाड जाने गर्दा एक प्रकारको आनन्द आउँथ्यो । तर, बिस्तारै सो क्रम रोकिँदै गयो । पछिल्ला वर्षमा देश विदेश यात्रामा निस्कने क्रम बढ्न थाल्यो र अहिले दशैँमा घर छोड्ने क्रम उल्टो हुन थालेको छ ।

सिड्नी जब म उत्रेँ । विदेश छु भन्ने भावनाले नै होला नेपालभन्दा धेरै मान्छे यतै छन् कि जस्तो लाग्यो । २०२३ को अनुमानित तथ्यांकअनुसार अस्ट्रेलियाको सिड्नी शहरको जनसंख्या लगभग ५.३ मिलियन (५३ लाख) छ र सिड्नी अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर न्यू साउथ वेल्स राज्यको राजधानी हो ।

सामाजिक सञ्जालको कारणले धेरैको दैनिकी थाहा हुन्छ आजभोलि । सिड्नी आउँदा नआउँदै केही साथीहरूका स्टाटस र तस्बिरले ममात्र हैन भन्ने देखाएकै थियो । पत्रकार तीर्थ कोइरालाको यात्रा कतै भइरहेको छ भन्ने कुराको छनक पाएकोले सिड्नी आएको तेस्रो दिनमा सम्पर्क गरेँ । उनी अमेरिका थिए । छोरा बुहारी उतै भएकोले दशैं मान्ने सन्दर्भसहित अमेरिका पुगेका रहेछन् ।

अस्ट्रेलियामा देखिएको तुलसीको मोठ ।

ठिक यसरी नै बुटवलका राजनीतिक तथा सामाजिक व्यक्तित्व बलबहादुर आचार्य अमेरिकामै घुमेको देखिन्छ ।

नेपालगन्ज बसेर पत्रकारिता गर्ने अक्षरी पोख्रेललाई अमेरिकामै देखेँ । उनी पनि छोरा बुहारीसँग दशैं मान्ने सन्दर्भमा गएकी रहिछन् । एक हप्ता पुग्दा नपुग्दै पोखराका पत्रकार गंगाधर पराजुली अस्ट्रेलियाको मेलबर्न आइपुगे । गत वर्ष अमेरिकामा दशैं मानेका पराजुली यो वर्ष दशैं मान्ने उद्देश्यले यता आएका रहेछन् ।

लुम्बिनी प्रदेशकी सांसद वसन्ती अधिकारीका दम्पती अलि पहिल्यैदेखि अष्ट्रेलिया आएका छन् । उनी पनि दशैं मानेर मात्र फर्कने विचारमा छिन् । अर्घाखाँचीका राजनीतिज्ञ जनार्दन खनाल असोजको पहिलो हप्ता सिड्नी आइपुगेका छन् ।

नवलपुर कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाल, बुटवलका व्यावसायिक तथा सामाजिक अगुवा अर्जुनमान सैजू, मेघराज भण्डारी, बुटवल- १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य र नयाँ गाउँका नन्दी किशोर खरेल, राधिका भुसाल, शिक्षक प्रेमबहादुर बस्नेत, निवृत्त शिक्षक प्रदीप श्रेष्ठ, सुखानगर निवासी काशिराम पोख्रेल, रामप्रसाद पाण्डे (क्यानबेरा), कलाकार चिरन बराल लगायत थुप्रै नेपाली दशैंको सम्मुखमा यतै छन् ।

पहिलादेखिनै समय व्यवस्थापन गर्नुपर्ने धेरैले २६ गतेका लागि समय मिलाई सकेकाले सोही दिननै टीका लगाउने तयारी गरेको पाइयो । फेरि दुई-चार दिनसम्मै टीका लगाउनु पर्ने भएकोले पनि आफ्नो अनुकूलतामा दुवै दिन टीका लगाउने तयारी गरेका छन् ।

कतिपयको धेरै बसाइनै यतै हुन थालेको छ । बुटवल-१३ का लक्ष्मण कँडेल प्रायः यतै बस्ने एकजना प्रतिनिधिमूलक पात्र हुन् ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । खोज्दै जाने हो भने हरेक टोलका मानिस भेटिन्छन् । बुटवलको वडा नं १३ को तथ्यांक विश्लेषण गर्ने हो भने हरेक पाँच घरबाट एक जना विदेशिएको भेटिन्छ ।

अस्ट्रेलियामा रहेका नेपालीहरूले नेपालमा जस्तै दशैँ पर्वलाई परम्परागत रूपमा, आफ्ना परिवार, साथीभाइ र समुदायसँगै उत्साहपूर्वक मनाउँदा रहेछन् । भनिन्छ कर्मसँगै धर्म, संस्कार र संस्कृति पनि जान्छ । शायद यही कारणले होला उनीहरूले आफ्ना धार्मिक र सांस्कृतिक मान्यताहरूलाई जोगाउँदै सबै प्रकारका चाडबाडहरू मनाउने गर्छन् ।

दशैंमा घरमा देवी दुर्गाको पूजा गर्ने र दशमीका दिन टीका र जमरा थाप्ने, परिवारका सदस्यहरूबीच आशीर्वादको आदानप्रदान गर्ने र कतिपय शहरहरूमा संघ–संस्थाहरूको माध्यमबाट सामूहिक कार्यक्रमहरू आयोजना गर्ने गर्छन् । जस अन्तर्गत नेपाली खानपान, सांस्कृतिक कार्यक्रम र परम्परागत खेलहरू पनि हुँदा रहेछन् ।

त्यसो त केही वर्ष यता विदेशमा बस्नेहरूले पनि दशैं वा अन्य चाडबाडको महत्वलाई सजीव राख्दै, आफ्नो परिवारसँग भर्चुअल माध्यमबाट पनि जोडिने प्रयास गरेको पाइन्छ । कतिपयले बच्चाको जन्म पश्चात् न्वारन, पास्नी वा अन्य धार्मिक कर्म पनि त्यसरी नै गर्छन् । यद्यपि यो पण्डितहरूको अभावका कारणले पनि हो तर आजभोलि धार्मिक कर्म गर्ने पण्डितहरूको पनि समस्या रहेन ।

सन् २०१४ देखि अहिलेसम्म सात वटा दशैं यही मनाउँदै गरेका लक्ष्मण कँडेलको अनुभवमा सुरुमा स्थायित्व नहुन्जेल अप्ठेरो भए पनि स्थायित्व भएपछि धेरैले आफ्ना परम्परा, संस्कृति र धर्मलाई प्राथमिकतामा राख्ने गर्छन् ।

यसको अर्थ नयाँ तथा एक्लै रहेका वा स्थायित्व नभएकाले चाडबाड मान्दैनन् भन्ने हैन । उनीहरूले सामूहिक रूपमा विभिन्न पार्कहरूमा गएर पनि ज्येष्ठ नागरिक वा आफूभन्दा सिनियरबाट टीका थाप्ने गर्छन् । यसका लागि एनआरएनए तथा नेपाली समुदायका संघसस्थाले पण्डित र जमराको व्यवस्था गरेर सहयोग गरेका हुन्छन् । सानो परिवार भएका र आफ्नो घर नभएका कारण जमरा राख्न नसक्नेलाई नेपाली समुदायका व्यक्तिले सञ्चालन गर्ने पसलमा जमरा किन्न पाइन्छ ।

आजभोलि नेपालीहरू बाक्लै आउन थालेका छन् । एकातिर बुवाआमालाई घुमाउने, अर्कोतिर चाड पनि मनाइने भएपछि यतै बोलाउनेको संख्या दिनहुँ बढ्दो छ, कणेंलले भने- कतिपयका नातागोता नै यतै हुने र फरक फरक सहर वा राज्यमा हुने भएपछि पूर्णिमासम्म नै दशैँ मनाउन थालिएको छ ।

कुरा दशैंको मात्र हैन अन्य चाड तिहार, तीज, माघे सक्रान्ति, होली लगायत सबै चाडबाड र पर्वहरू उत्साहपूर्वक मनाउन थालिएको छ । बाक्लो नपाली बस्ती भएका ठाउँमा तदनुसारका पसलहरू पनि छ्यापछ्याप्ती नै भेटिन्छन् ।

कुनै प्रकारको सार्वजनिक बिदा नहुने भए पनि बिदा लिएर वा समय मिलाएर दशैँलाई भव्यतका मनाउने क्रम बढ्दै गएको देखिन्छ । अस्ट्रेलियामा मुख्यतः इसाई धर्मका चाडपर्वहरू (जस्तै क्रिसमस, इस्टर) मा मात्र बिदा दिने गरिन्छ ।

कणेंलको अनुमानमा सिड्नीको वाडियामा सबैभन्दा धेरै करिब पाँच सय र डेनम कोटमा करिब साठी घरपरिवार नेपाली छन् । यसबाहेक अवन, अस्टलमा पनि उल्लेख्य संख्यामा छन् । केही वर्ष पहिलेसम्म पूजाआजा गरेर फूलप्रसाद सेलाउने ठाउँ थिएन । तर, अहिले लिभरपुलमा भारतीय मूलका नागरिकले यसको व्यवस्था मिलाएका छन् । त्यसैले परम्परा अनुसार सबै कर्म गर्न कुनै समस्या छैन ।

नेपालमा भन्दा एक दिन ढिला थियो अस्ट्रेलियामा दशैँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले असोज २७ गते अर्थात् अक्टोबर १३ तारिखमा दशैँ मनाउनुपर्ने जनाएको थियो । तर, पहिलादेखिनै समय व्यवस्थापन गर्नुपर्ने धेरैले २६ गतेका लागि समय मिलाई सकेकाले सोही दिननै टीका लगाउने तयारी गरेको पाइयो । फेरि दुई-चार दिनसम्मै टीका लगाउनु पर्ने भएकोले पनि आफ्नो अनुकूलतामा दुवै दिन टीका लगाउने तयारी गरेका छन् ।

सिड्नीमा मात्र हैन, क्यानबेरा, मेलबर्न, वृशवेन, पर्थ, तास्मानिया लगायत जहाँ जहाँ नेपाली छन् ती सबै ठाउँमा दशैं मनाउने गरिन्छ ।

क्यानबेरामा बसोबास गर्ने दीपक पाण्डेका अनुसार हिजो मात्र एउटै पार्कमा करिब पचास जना अभिभावकसँग भेट भएको थियो । यसबाट अनुमान लगाउन सकिन्छ दशैँको मुखमै पर्याप्त नेपालीहरू आएका थिए ।

२५, असोज २०८१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *