कसरी बन्न सक्छ लुम्बिनीमा हप्तौँ पर्यटक रोक्ने पर्यटन सर्किट ?
रुपन्देही । एक हिमाली, पाँच पहाडी र ६ तराईका जिल्लाहरू रहेको लुम्बिनी प्रदेशमा दर्जनौँ पर्यटक लोभ्याउने केन्द्रहरू रहेका छन् ।
विश्वशान्तिको केन्द्र लुम्बिनीसँगै बुद्ध सर्किटमा कपिलवस्तु र नवलपरासीमा रहेका ऐतिहासिक स्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विश्वमा अंग्रेजलाई हराएको जितगढी किल्ला, पाल्पाको सिद्धबाबा, रानीमहल, गुल्मीको रुरु क्षेत्र, रेसुङ्गा, अर्घाखाँचीको मालारानी, सुपादेउराली, पाणिनि तपोभूमि, प्यूठानको स्वर्गद्वारी, रुकुमपूर्वको पुथा र सिस्ने हिमाल, रोल्पामा युद्ध संग्रहालय, दाङको थारु संग्रहालय, बाँके बर्दियामा रहेका राष्ट्रिय निकुञ्जसहितका दर्जनौँ क्षेत्रमा हप्तौँ बिताएर घुम्न लायक क्षेत्र रहेका छन् ।
परिवार, समूह वा यस्ता विषयमा अध्ययन गर्नेलाई अलिक धेरै दिनको बिदा मिलाएर पर्यटन सर्किट नै बनाएर घुम्न उचित हुनेछ । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला जोडेर पर्यटन सर्किटको अवधारणा ल्याए पनि त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन ।
लुम्बिनी आएका पर्यटकलाई केही दिन रोक्ने योजना निजी क्षेत्रको सहकार्यमा बनाउन सके स्वर्गद्वारी र पुथाहिमाल अनि सुपा पाणिनी, रुरु रेसुङ्गा, रानीमहल, जीतगढी क्षेत्र गुल्जार हुने थिए । यो बाटोमा पर्ने कैयन अन्य पर्यटकीयस्थलको समेत उसैगरी प्रवर्द्धन हुनसक्ने थियो ।
लुम्बिनीसहित बुद्ध सर्किट
विश्वशान्तिको मुहानमा घुम्न मात्रै होइन गौतमबुद्धबारे चासो राखेर अध्ययन गर्न बुद्ध जन्मस्थल लुम्बिनी उनको गृहनगर कपिलवस्तु र मावली रहेको देवदह अनि अस्तुधातु रहेको रामग्राम क्षेत्रमा रहेका स्थानमा जानुपर्दछ । धेरैलाई यो विषयमा ज्ञान पनि छैन । सबैको ध्यान लुम्बिनी मात्रै रहेको छ तर यससँग जोडिएका यी स्थान पनि सँगै अघि सारिनुपर्दछ ।
लुम्बिनी विश्वकै धार्मिक पर्यटनको गन्तव्य बनिसकेको छ । अब यसलाई यही रुपमा अघि सारिनुपर्दछ तर यही मात्रै ध्यान दिइयो भने आएका पर्यटकलाई रोक्ने कसरी भन्नेमा ध्यान दिनुपर्दछ । मायादेवी आफ्नो घर कपिलबस्तुबाट माइती देवदह जाँदैगर्दा बाटोमै (लुम्बिनीमा) इशापूर्व ५६३ वैशाख पूर्णिमामा सिद्धार्थ गौतमबुद्धको जन्म भएको थियो ।
रुपन्देहीको भैरहवादेखि २१ किलोमिटरको दुरीमा रहेको लुम्बिनी पुग्न सहज छ । भैरहवामै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि लुम्बिनी घुम्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ र बाहिरी देशबाट आउने पर्यटकका लागि पनि यसले अब ध्यान तान्ने छ । लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणको केन्द्र बनेको छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको नामले यस प्रदेशको पनि नामकरण गरिएको छ ।
दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने लुम्बिनी परिसरमा दर्जनौँ घुम्न लायक बौद्ध गुम्बा तथा मन्दिर, तालतलैया तथा नहरमा बोटिङको व्यवस्था पनि गरिएको छ । यहाँ निरन्तर लुम्बिनी दीपको प्रज्वलित छ ।
लुम्बिनीमा पर्यटकहरूलाई सुविधाका लागि सुविधा सम्पन्न होटल पनि खुलेका छन् । यहाँ तारे होटेलदेखि स–साना होटल तथा रेस्टुराँहरू सञ्चालनमा छन् । लुम्बिनी विकास कोषले भौतिक संरचनाहरू पनि थपिरहेकाले कतिपय संरचना निर्माणाधीन अवस्थामा छन् । लुम्बिनीसँग बुद्धको मावली रुपन्देहीको देवदहस्थित भवानीपुरलाई पनि जोडेर पर्यटकहरू भ्रमण गर्ने गर्दछन् ।
यसै गरी गौतमबुद्धको पवित्र अस्तिधातु रहेको पश्चिम नवलपरासीको रामग्रामलाई पनि लुम्बिनीसँग जोडेर विकास गरिँदै छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम नगरपालिकाको बजारमा रहेको रामग्राममा बुद्धका विविध आयामबारे खोज अनुसन्धान भइरहेको छ ।
रामग्राम स्तुपाको नामबाट रामग्राम नगरपालिकाको नामकरण गरिएको हो । बुद्धसँग सम्बन्धित अध्ययनका लागि पनि परासीमा पर्यटकको आगमन हुुने गरेको छ । निकै शान्ति र हराभरा रामग्राम पनि धार्मिक पर्यटनको केन्द्र बनेको छ । तिलौराकोट कपिलवस्तु जिल्लामा पर्दछ । भगवान् गौतमबुद्धले तिलौराकोटमा २९ वर्ष बिताएका थिए ।
गौतमबुद्धका बुबा शुद्धोदन बस्ने यो तिलौराकोट कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि तीन किलोमिटर उत्तरमा वाणगंगा खोलाको किनारमा पर्छ । तिलोराकोट शिवगढ गाउँसँग जोडिएको छ । यहाँ तीनवटा भग्नावशेष छन् । यहाँ दरबारको भग्नावशेष र पूर्वी पश्चिमी द्वार छन् । तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । यसलाई विश्वसम्पदामा सूचिकृत गर्न अन्तिम पहल भइरहेको छ ।
अंग्रेजलाई हराएको जितगढी किल्ला र पाल्पाको भगवती जात्रा
नेपाल–अंग्रेजका बिचमा युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको क्षेत्र हो जितगढी । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो ।
जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, अंग्रेज सेनाका मेजर जनरल सुलीभान उडको नेतृत्वमा बुटवल–पाल्पा हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।
जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अङ्ग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अङ्ग्रेजहरूलाई पराजित गरेको इतिहास छ ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गरेर उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयउत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ । तिनाउ पुल नजिकै रहेको यो किल्ला इतिहास जान्न खोज्ने र नयाँ पिँढी सबैलाई पुराउनुपर्ने स्थान हो ।
रानीमहल
नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल एक प्रसिद्ध पर्यटकीय स्थल हो । विक्रम संवत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानीमहल दरबार पनि पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ । पाल्पा गौँडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायती इन्जिनीयरले डिजाइन गरेका हुन्, जो निकै कलात्मक छ ।
खासगरी प्रेमको प्रतीकका रुपमा रहेको यो महल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटकहरु घुम्न जाने गरेका हुन्छन् ।
सदरमुकाम पाल्पाबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठूलो चट्टानमाथि यो दरबार अवस्थित छ । महलभित्र पोखरी, मन्दिर, बगैंचा आदि छन् । कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले संग्रहालय बनाएर संरक्षण गरेको छ ।
तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानीमहल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रुपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानीमहल नजिकै खाना तथा बास बस्नका लागि होटल तथा रेष्टुराहरु पनि सञ्चालित छन् ।
भैरवस्थान
पाल्पाको रिब्दीकोट गाउँपालिका– ४ मा पर्ने भैरवस्थानको अग्लो डाँडोमा भैरवको मन्दिर छ । ११ रोपनी चार आना क्षेत्रफलमा रहेको यो विशाल भैरव मन्दिर पाल्पाका तत्कालीन सेन वंशीय राजाले स्थापना गरेका हुन् । धार्मिक पर्यटनको हिसावले निकै महत्त्वपूर्ण रहेको यो मन्दिरमा पाल्पाका राजा मुकुन्द सेनले काठमाडौंबाट भैरवको मूर्ति ल्याएर वि.सं. १५१५ तिर स्थापना गरेका थिए ।
भैरवको मूर्ति भु्इँ तलामा छ । नजिकै कालीको मूर्ति छ । मन्दिरमा भाकल पूजा, पन्चवली पूजा, क्षमा पूजा आदि गरिन्छ । यो मन्दिरमा चढाइने प्रसादको रुपमा रोट प्रख्यात छ । यहाँ ठूलो त्रिशूल राखिएको छ । जनरल खड्ग शमशेरले आफ्नी श्रीमतीको चाहनामा यो त्रिशूलमा सुनको जलप लगाइदिएको भनाइ छ ।
प्राकृतिक मनोरम स्थलमा रहेको मन्दिरको दक्षिणतिर रोट पकाउने रोटघरहरुले झनै आकर्षण बढाएका छन् । सफा, शान्त, सुन्दर मन्दिर परिसरमा धार्मिक पर्यटकहरु पूजाआजा गर्न र तस्बिर खिचाउन लालयित हुन्छन् । यहाँ बली चढाएका पशुपंक्षीलाई प्रसादको रुपमा तयार गरिदिने व्यवस्था पनि छ ।
मन्दिर नजिकै केही व्यवसायीले गतवर्षदेखि जीपलाईन पनि निर्माण गरेका छन् । जीपलाईन खेल्नका लागि पनि पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम पाल्पाबाट १० किलोमिटर पश्चिममा रहेको भैरव मन्दिर पनि पाल्पाको एक प्रमुख पर्यटकीय स्थल हो । यहाँ आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा आउने गर्दछन् ।
रुरु क्षेत्र
गुल्मी,पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल रुरु क्षेत्र कालीगण्डकीकोनामले परिचित छ । रुरु कन्याको नामबाट रुरु क्षेत्रको नाम रहन गएको धार्मिक पौराणिक मान्यता छ । रुरुक्षेत्रको महत्त्व र प्रचार प्रसार दैनिक रूपमा विकसितरुपले भइरहेको छ । नेपालको चार धाममध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र पर्यटकीय गन्तव्य पनि हो ।
कालीगण्डकीको सामीप्यमा रहेको रुरु क्षेत्रको वारी पारी र गुल्मी र स्याङ्जा मुखामुख गरेका छन् उनीहरूको बिचमा पाल्पाले मुस्कान छाडिरहेको छ । सिंगो इतिहास बोकेको हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरु मध्ये (रुरु क्षेत्र, बराह क्षेत्र, पाशुपतक्षेत्र र मुक्तिक्षेत्र) मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो ।
सरकारले रुरु—रेसुंगालाइ एकैसाथ अगाडि बढाउने योजना अगाडि पनि सारेको छ । भगवान बिष्णुको प्रतीक मानिने शालिग्राम पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लभ शालिग्रााम पाइने स्थानका रूपमा पनि चिनिएको छ । पाल्पातर्फ ऋषिकेश मन्दिर नेपालकै सुप्रसिद्ध मन्दिर रहेको छ ।
ऋषिकेशको मूर्ति कालीगण्डकीमा भेटिएको पाइन्छ । जुन विश्व सम्पदा सूचीको लागि मनोनयमा समेत परेको छ । यिनै भगवान ऋषिकेशको बिराजमान, कालिगण्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रै—आयामिक बिशेषताहरुको संगम रहनाले रुरु क्षेत्रको विशिष्ट प्रकारको पहिचान रहेको छ । यो क्षेत्र धार्मिकस्थल मात्र नभएर यो भेगको मुख्य व्यापारिक केन्द्रबिन्दु पनि हो ।
इतिहासमा पाल्पाली राजा मणिमुकुन्द सेन, भीमसेन थापा, जंगबहादुर राणा तथा राजामहाराजाहरुको प्रमुख गन्तव्य रहेको पाइन्छ । साथै भीमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवासमेत बनाएका छन् । त्यस्तै श्री ३ जुद्ध शमशेर राणाले अर्गलीमा दरबार छन् । यस क्षेत्रको माहात्म्य अठार पुराणमा गरिएको छ ।
रेसुङ्गा
गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट एक घण्टाको पैदल दुरीमा रहेको अग्लो घना जंगलसहितको डाँडो रेसुङ्गा नामले परिचित छ । करिब ३५ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गामा प्राचीन युगमा ऋष्यशृंग ऋषिले तपस्या गरेको मान्यता छ ।
भगवान राम र लक्ष्मणले ऋष्यशृंग ऋषिको दर्शन गर्न आउँदा ऋषिलाई यहाँ के अभाव छ भनी सोधेको र ऋषिले पानीको समस्या देखाएपछि राम लक्ष्मणले धनुषवाणले हानेर पानी निकालिदिएको किम्बदन्ती छ । यहाँ अहिले सुन्दर पोखरी र भ्यू टावरसमेत निर्माण गरिएको छ । यहाँ गणेश, शिव, विष्णु, शिद्धबाबालगायत देवीदेवताको मन्दिर स्थापना गरिएको छ ।
धार्मिक पर्यटनका दृष्टिले निकै चार्चामा रहेको रेसुङ्गामा खासगरी गर्मी महिनामा पर्यटकको चाप बढ्ने गर्दछ । रेसुङ्गा डाँडाबाट धौलागिरी, माछापुच्छ्रेे, अन्नपूर्ण लगायत १५ वटा हिमाल देखिन्छन् । आन्तरिक तथा बाह्य पर्यटक लोभिने रेसुङ्गा डाँडामा होटल पनि खुलेका छन् ।
यहाँ खान र बस्नको समेत सुविधा भएपछि सदरमुकाम तम्घास आउने पर्यटक रेसुङ्गा पुगेकै हुन्छन् । रेसुङ्गा पुगेका पर्यटकले रिडीको रुरु धाम पनि अवलोकन गर्न सहज छ । पक्की सडक विस्तार भएकाले रेसुङ्गालाई रुरुको पर्यटकीय क्षेत्रसँग जोडिएको छ । रिडीमा अहिले तीनमुखे पुल बनेपछि थप रमणीय बनेको छ ।
पाणिनि तपोभूमि
महर्षि पाणिनि संस्कृत व्याकरणका सूत्रकार हुन् । पाणिनिद्वारा प्रतिपादन गरिएको व्याकरण नै भाषाको पहिलो व्याकरण मानिन्छ । महर्षि पाणिनिका सूत्रहरूको वास्तविक ज्ञानका विषयमा काशिका न्यास पदमञ्जरी, सिद्धान्त कौमुदी आदिका वृत्तिहरूबाट, महाभाष्यबाट र तिनीहरूबाटै पुष्टि दिइएका भर्तृहरि कैयट, नागेश आदिका ग्रन्थहरूबाट पनि सहयोग मिल्छ । यिनीहरूका विवेचनद्वारा नै सूत्रका अर्थको निरूपण र उपयोग हुन्छ ।
यसरी पाणिनीय व्याकरण त्यस बेलाको सामाजिक जीवनको पूर्वीय दर्शन र संस्कृतिको शाश्वत दस्ताबेज बनेको वर्तमानसम्म विश्व वाङ्मयसामु प्रभावशाली बनेर रहेको छ । पूर्वीय दर्शन, संस्कृति र वाङ्मयको साथै भूगोल, समाज र शिक्षाको जानकारीका निमित्त पनि पाणिनीय व्याकरण अध्ययन अति लाभदायक छ ।
पाणिनीय सूत्रहरूमा मध्य एसियादेखि कलिंग पर्वत, सिन्धु उपत्यकादेखि इरावदी सम्ममा पर्वत,वन, नदी, गाउँ, नगर र देश–प्रदेशको पनि परिचय पाइन्छ । संग्रहित पद र पदावलीहरूबाट तत्कालीन सांस्कृतिक जीवनको आदर्श चित्र झल्किन्छ । त्यसैले त भनिएको छ–‘पाणिनीयम् महाशास्त्रमा परसाधुत्व लक्षणम्, सर्वोपकारकं ग्राह्यं कृतस्नं त्याजं नकिञ्चन अर्थात् पद सिद्ध गर्ने लक्षणले युक्त पाणिनीय व्याकरण महाशास्त्र सबको उपकारक हुनाले सम्पूर्ण ग्रहण गर्न योग्य छ, यसमा त्याग्न पर्ने केही छैन ।’
अष्टाध्यायीबाहेक जाम्बवती विजय, द्विरूपकोश, ऋक् तन्त्र आदि महत्वपूर्ण कृतिहरू पनि सिर्जना गरेका थिए । महर्षि पाणिनिद्वारा रचित पहिलो सिर्जना माहेश्वर सूत्र हो । यसमा १४ सूत्र छन् । यसको विस्तारका रूपमा पाणिनिले सूत्राष्टाध्यायी रचना गरे । पाणिनिलाई भाषा व्याकरणका पिता मान्न सकिने आधार यिनै हुन् ।
यिनै पाणिनिका विषयमा यहाँ केही चर्चा अघि सार्ने प्रयास गरिएको छ । पाणिनिको अर्को नाम शालातुरीय थियो । यसबाट उनी शलातुरमा जन्मेका थिए भन्ने स्पष्ट हुन्छ । बलभी नरेश वसेनको संवत् ३१० को ताम्रपत्रमा, भामहद्वारा रचित काव्यालंकारमा, काशीकाको विवरण पञ्जिका तथा गुणरत्न महोदधिमा पनि पाइन्छ— ‘शलातुरो नाम ग्रामः स अभिजनो अस्यास्तीति शालातुरीयस्तत्र भवान् पाणिनि, अर्थात् शलातुर नामक गाउँमा जन्मेका हुनाले शालातुरीय रहेको हो ।’ यसैका आधारमा अन्वेषकहरूले महर्षि एवं वैयाकरण पाणिनिको जन्मथलो शलातुर गाउँलाई मानेका छन् ।
श्यू यान च्वाङ नामक चिनिया यात्री सातौँ शताब्दीमा शलातुरग्राममा गएका थिए भनिन्छ । उनले त्यहाँका स्थानीय मान्छेहरूसँग सोधपुछ गरे । स्थानीय मान्छेहरूले पाणिनिको जन्मभूमि शलातुर बताउने अनेक कथा किंवदन्तीहरू सुनाए । त्यसका आधारमा ती यात्रीले शलातुर गान्धार देश, काबुल नदी र सिन्धु नदीको दोभाननेर प्रसिद्ध उद्भाण्ड स्थानदेखि पश्चिमोत्तर दिशामा दुईकोश जति टाढा हालको लाहोर सहरको नजिकै हो भन्ने कुरा लेखेका छन् ।
विचारणीय कुरा के छ भने लाहोर सहरदेखि सिन्धु र काबुल नदीको दोभान च्वाङले लेखेभन्दा धेरै फरक छ । दुई कोस हैन २०० कोसभन्दा पनि फरक छ । यसर्थ, के अनुमान गर्न सकिन्छ भने या शलातुर हालको लाहोरभन्दा धेरै पश्चिमोत्तर, सिन्धु र काबुलनदीको दोभान नजिक थियो या चिनियाँ यात्रीले सत्य तथ्य दिन सकेनन् ।
जेहोस्, शलातुर भन्ने पाणिनिको जन्म गाउँ पक्का हो । उनको पुर्ख्यौली देश भने वाहीक वा बाल्हीक (अहिलेको वलख) थियो भनिन्छ, जो मानस कैलाशभन्दा पश्चिम, खसहरू नेपाल पसेको उपल्लो मार्गमा पर्छ, जहाँ दरद र कसगर रहेका छन् । पाणिनिका पिता धनी व्यापारी थिए । संस्कृत भाषामा व्यापार व्यवसायलाई ‘पण’ वा ‘पणनम्’ भनिन्छ । सामन वा शालङ्क व्यापारिक कारोबारी भएकाले उनको पेसा अनुसार उनलाई ‘पणिन’ भनिन्थ्यो ।
यो समयमा व्यापारीलाई आदरसहित साहुजी भनेझैँ त्यो बेला उनलाई पनि पणिन भन्नु स्वाभाविक हो । पणिनका छोरालाई ‘कुमार साहु’ भनेझैँ पाणिन या पाणिनि भनेर सम्बोधन गर्न थालियो । उनको वास्तविक नाम आहिक भए पनि पाणिनि नाम नै सर्व प्रचलित भयो ।
पाणिनिका अन्य विभिन्न नामहरू पनि छन् । पाणिनि, पाणिन, दाक्षीपुत्र, आहिक, शालङ्की र शालातुरीय (पुरुषोत्तम देव निर्मित त्रिकाण्डकोश अनुसार ) समेत छ वटा रहेका छन् । त्यसै गरी शालातुरीयक, दाक्षीपुत्र, पाणिनि र आहिक (वैजयन्ती कोशअनुसार) भन्ने नामहरू छन् । संस्कृत–हिन्दी कोशले शालोत्तरीय र मातृ पक्षीय नाम दाक्षेय पनि दिएको छ ।
पाणिनिको वास्तविक नाम आहिक उनको पुर्ख्यौली देश वाहिकसँग ध्वनि सामीप्य रहेको देखिन्छ । प्राचीन कोश र ग्रन्थहरू केलाउँदा कुनै निक्र्याेल निस्कन पनि सक्छ । पाणिन, पाणिनि र आहिक नामबारे माथि चर्चा भयो ।
दाक्षीपुत्र वा दाक्षेय दक्षकुलकी कन्यापुत्र हुनाले, शालङ्की पिताको नामबाट र शालातुरीय, शालातुरीयक वा शालोत्तरीयक चाहिँ जन्मथलोबाट रहेका नामहरू हुन् ।
सुपादेउराली मन्दिर
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलवस्तुको गोरुसिङ्गे रोडमा पर्ने यो मन्दिर नरपानी र फलामे पहाडको खोँचमा अवस्थित छ । समुन्द्र सतहबाट करिब ४ हजार ५ सय फिटको उचाइमा रहेको यो मन्दिर बाइसे चौबिसे राज्यका बेला खाँचीकोटका राजाले निर्माण गरेको किंवदन्ती छ ।
धर्मात्मी मानिसले मागेको आशिष दिने मान्यता रहेको सुपादेवीको यो मन्दिरमा धार्मिक पर्यटकको भिड हमेसा हुन्छ । भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढाँटेको कारण एक लाउरेलाई यो भिरमा देवीले टाँसेको भन्ने मान्यता पनि चर्चामा छ ।
मन्दिर नजिकैको भिरलाई लाउरे टाँसिएको भिर नामकरण गरिएको छ । स्थानीयको भनाइ अनुसार प्राचीन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना) हुन पाउँ भनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलरे अर्कै बाटो प्रयोग गर्दा उनी भिरमा टाँसिएर मृत्यु भएको थियो ।
जिल्लाको मध्यभाग देवीस्थलमा पर्ने यो मन्दिरमा बली दिएर विभिन्न पूजाआजा गरिन्छ भने विवाह, व्रतबन्ध पनि गरिन्छ । बली चढाएका पुशुपंक्षी घरमा नलगी नरपानी डाँडामा प्रसाद बनाएर खाने प्रचलन छ । नरपानीको सुन्दर डाँडाबाट हिमशिखरहरु हेर्दै सुपादेउराली मन्दिरमा देवीको पूजा गर्न नेपाली मात्र नभई भारतीय नागरिकसमेत आउने गर्दछन् ।
धार्मिक पर्यटनको केन्द्र बनेको सुपादेउरालीको प्राकृतिक सुन्दरता र मन्दिर दर्शनका लागि एकपटक पुग्नै पर्ने ठाउँ हो यो । अर्घाखाँचीको ठाडादह पनि धेरै पर्यटक तान्न सक्ने केन्द्रको रूपमा रहेको छ ।
स्वर्गद्वारी
प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी निकै चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो । प्युठानको सदरमुकाम खलङ्गाबाट २६ किलोमिटरको दुरीमा रहेको स्वर्गद्वारी मन्दिर नेपालकै प्रमुख धार्मिक पर्यटनको केन्द्रमध्ये एक हो । परापूर्व कालमा पाण्डवहरू स्वर्ग जाँदा प्रयोग गरेको बाटो (द्वार) भएकाले यसको नाम स्वर्गद्वारी रहेको बताइन्छ ।
भगवान् ब्रह्मा र ऋषिहरूले तपस्या गरेका यो पवित्र भूमिमा ऐतिहासिक अग्नि खण्ड, गुफा, महाप्रभु, गाईको दर्शन गर्नाले रोगब्याधि नलाग्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
२६ सय रोपनीमा फैलिएको स्वर्गद्वारी मन्दिरको जग्गा दाङ जिल्लाका विभिन्न ठाउँमा पनि १०५० बिगाहा जग्गा छ । समुन्द्र सतहदेखि ७००० फिट उचाइमा रहेको स्वर्गद्वारीमा गौसाला, निरन्तर अग्निकुण्ड, महायज्ञ तथा विभिन्नि पूजापाठ हुने गर्दछन् । यहाँ आउने भक्तजनलाई निःशुल्क प्रसादी तथा भोजनको व्यवस्था छ । गौशालाका सयौँ गाई गोरुलाई हेरचाह गर्ने कामदार पनि राखिएको छ ।
विभिन्न देवीदेवताका मन्दिर रहेको स्वर्गद्वारी साँच्चैकै स्वर्गजस्तै छ । स्वर्गद्वारीमा विभिन्न देशबाट पर्यटकहरू आउने गर्दछन् । विषेशगरी वैशाख पूर्णिमा, उभौली पर्व तथा बुद्धजयन्तीमा यहाँ भव्य मेला लाग्दछ । यहाँ रथयात्रा समेत गरिन्छ भने वेदको पाठशाला पनि सञ्चालन गरिएको छ ।
पर्यटकको भिडभाड भइरहने यो पवित्र स्थलको अवलोकन गर्नु पनि दसैँ बिदाको सदुपयोग गर्ने माध्यम बन्न सक्छ । स्वर्गद्वारीसँग प्यूठानको ओखरकोटमा अवस्थित कोट मन्दिरको पनि चर्चा गरिन्छ ।
एक शक्तिपीठको रूपमा परिचित ओखरकोटको कोट पनि पर्यटनको केन्द्र बन्दै गएको छ । अग्लो डाँडोमा अवस्थित प्राकृतिक हिसाबले निकै मनोरम स्थल कोटमा विभिन्न भौतिक निर्माणका काम भइरहेका छन् । यस कोटमा पनि दैनिक पर्यटकहरू घुम्न आउने गर्दछन् ।
पुथा र सिस्ने हिमाल
पूर्वीरुकुम जिल्लामा पर्ने पुथा र सिस्ने हिमाल पनि लुम्बिनी प्रदेशमा पर्ने प्रमुख पर्यटकीय क्षेत्र हुन् । पुथा लुम्बिनी प्रदेशमा पर्ने सबैभन्दा अग्लो हिमाल हो । समुन्द्र सतहदेखि पुथा ७ हजार २४६ मिटरको उचाइमा छ भने सिस्ने ५ हजार ८४९ मिटरको उचाइमा छ । यी हिमालका वरपर विभिन्न सानाठूला हिम ताल छन् । पूर्वी रुकुमको उत्तरपूर्वमा रहेको मैदान डाँडा र खोर्सेबाट सिस्ने हिमाल देख्न सकिन्छ । यी हिमालमा मानिसहरु नचढेकाले कन्या हिमाल पनि भन्ने गरिन्छ ।
पर्यटकीय हिसाबले निकै मनमोहक यी हिमाललाई लुम्बिनी प्रदेश सरकारले चिनाउन भने सकेको छैन । यी हिमाललाई तराईको बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर विकास गरिनुपर्ने पर्यटन क्षेत्रका विज्ञहरू बताउँछन् । यी हिमाल निकै मनमोहक छन् ।
रुकुमका हिमालसँगै रोल्पा र रुकुमका कतिपय स्थलहरू युद्ध पर्यटनका हिसाबले पनि विकसित हुँदै गएका छन् । रोल्पाको लिवाङ, थवाङ लगायतका युद्ध पर्यटनका क्षेत्रहरू पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । यी युद्ध पर्यटनका क्षेत्रलाई विश्वसामु चिनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने देखिन्छ ।
धारापानी
दाङ जिल्लाको सुन्दर सहर घोराही नजिकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटनको प्रमुख स्थल हो । यहाँ विश्वकै अग्लो दाबी गरिएको पञ्च धातुमिश्रित त्रिशूल स्थापना गरिएको छ । यहाँ पाण्डेश्वरको मन्दिर छ, जहाँ पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर छन् । यहाँ साढे ५५ फिट उचाइको त्रिशूल, १०८ शिवलिङ्ग, १०८ जोडी वरपिपल, १०८ सीमका वृक्ष, ओम कुण्ड आदि आकर्षणका रूपमा छन् ।
धारापानीमा तीर्थाटन लागि धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । खासगरी शिवरात्रिका बेला यहाँ भब्य मेला लाग्दछ । पाण्डेश्वर धामका रूपमा परिचित यस धाम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ गुरुयोजना बनाएरै भौतिक संरचना बनाउने काम भइरहेको छ । यस आसपास दर्जनौँ जलाशय तथा कुण्ड छन् । त्यस्तै तुल्सीपुरको थारु संग्रहालय पनि एक पर्यटकीय स्थल बनेको छ । थारु संस्कृतिको अध्ययनका लागि यो पनि पुग्नैपर्ने एक ऐतिहासिक स्थल बनेको छ ।
बागेश्वरी मन्दिर
बाँके जिल्लाको मुख्य सहर नेपालगञ्ज बजारमा अवस्थित बागेश्वरी मन्दिर धार्मिक पर्यटनको हिसाबले निकै चर्चित र महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको जिब्रो पतन भएको जनविश्वास गरिन्छ । यो मन्दिरमा पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
यहाँ गणेश, जुंगे महादेव आदिको मूर्ति स्थापना गरिएको छ । यहाँ पूजा आराधना गर्न भक्तजनको निकै भिड हुने गर्दछ । बागेश्वरी माताको पूजा गर्न आसपासका जिल्ला दाङ, बर्दिया, सुर्खेत, दैलेख तथा छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बन्दै गएको यो मन्दिर हेर्न लायक छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो । बर्दियाको ठाकुरद्वारामा रहेको यो राष्ट्रिय निकुञ्ज करिब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् १९६८ मा शाही सिकार आरक्षको रूपमा स्थापना गरिए पनि पछि यसलाई शाही बर्दिया वन्यजन्तु आरक्षण नामकरण गरियो । बबई नदी आसपासको क्षेत्रलाई पनि समेटेर यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ ।
यस निकुञ्जमा बाघ संरक्षणका लागि मुख्य पहल गरिएको छ । यहाँ गैंडा, घडियाल, डल्फिन, गोही आदिको संरक्षण गरिएको छ । यहाँ ५६ प्रजातिका वन्यजन्तु र ४३८ थरीका रैथाने र बसाइ सरी आउने चरा पाइन्छन् । त्यस्तै बाँके जिल्लाको बाँके राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । यो ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
यी राष्ट्रिय निकुञ्जहरु पनि पर्यटकको रोजाइमा पर्ने मुख्य पर्यटकीय स्थल हुन् । पर्यटन क्षेत्रमा सरोकार राख्नेहरू अब यी क्षेत्रहरूलाई मिलाएर लुम्बिनीका कुनै जिल्लामा घुम्न आउने पर्यटकलाई मिलाएर पर्यटन सर्किटअनुसार घुमाउन सल्लाह दिने गरेका छन् ।