व्यवसायीबाट पार्टी कार्यालय बनाउने निर्णय सच्याउन नेतृत्वलाई बिन्दा पाण्डेको आग्रह – Nepal Press

व्यवसायीबाट पार्टी कार्यालय बनाउने निर्णय सच्याउन नेतृत्वलाई बिन्दा पाण्डेको आग्रह

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् ।

कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने चेतावनी समेत उनले दिएकी छन् ।

उनले पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभई गरिएको यो कार्यले २८ लाख एमालेका मतदाताको समेत अपमान भएको बताएकी छन् ।

पार्टी कार्यालय शिलान्यास सम्बन्धी नेपाल प्रेसको समाचार शेयर गर्दै पाण्डेले भनेकी छन्– साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौँ ।

एमाले कार्यालयका लागि जग्गा उपलब्ध गराएका गुरुङले नै एक वर्षभित्र भवन बनाएर हस्तान्तरण गर्ने भनिएको छ ।


प्रतिक्रिया

One thought on “व्यवसायीबाट पार्टी कार्यालय बनाउने निर्णय सच्याउन नेतृत्वलाई बिन्दा पाण्डेको आग्रह

  1. यो वृन्दा पाण्डे अर्को माधव नेपाल हो है । यसलाई भिम रावलजस्तो बनाएर राख । पुल्पुल्याउने काम नगर । दिल्लीसँग मिलेमतोको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर