संसदको आउँदो अधिवेशनबाट प्रहरी विधेयक पारित गर्ने तयारी छ : गृहमन्त्री लेखक – Nepal Press

संसदको आउँदो अधिवेशनबाट प्रहरी विधेयक पारित गर्ने तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने गरी मन्त्रालयले तयारी थालेको बताएका छन् ।

६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधान पहिचान गरी विधेयकमा समाविष्ट गरिएको छ । गृह मन्त्रालयले यसलाई छिटो भन्दा छिटो प्रतिनिधिसभासमक्ष पेश गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र बर्षौ बर्ष देखीका हाम्रा अपेक्षा पुरा हुने विश्वास मैले राखेको छु ।’

कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गर्नु भएका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको उच्च मूल्याङ्कन हुने बताए ।

सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नु पर्ने भएकाले थप सतर्कताका साथ काम गर्न लेखकले निर्देशन दिए ।

उनले भने, ‘आम नागरिकको सारथि र जीवनदेखी मरणसम्मको सहयात्री हुन सफल भएको छ । यो महत्वपूर्ण उपलब्धि र आम विश्वास प्रति गौरवबोध गर्दछु । यस अवसरमा नेपाल प्रहरी परिवारलाई हार्दिक बधाई छ ।’

राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतीका लागि आफू भूमिका सदैव सहयोगी रहने विश्वास गृहमन्त्री लेखकले विश्वास दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर