हर्क साम्पाङले उपमेयरलाई ‘बाइपास’ गर्दै वडाध्यक्षलाई कावा दिएकाे पत्र- यस्ता छन् ५ सर्त – Nepal Press

हर्क साम्पाङले उपमेयरलाई ‘बाइपास’ गर्दै वडाध्यक्षलाई कावा दिएकाे पत्र- यस्ता छन् ५ सर्त

‘१० दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्नू’

विराटनगर । यतिखेर फेरि चर्चामा छन् धरानका ‘भाइरल मेयर’ हर्क साम्पाङ । बेलायत भ्रमणमा हिँडेका उनले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

मेयर साम्पाङले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । असोज २३ गते उनले असोज २८ (बुधबार) बाट लागू हुने गरी आफू यूकेबाट नफर्कुन्जेल ५ वटा सर्त राखेर अधिकार प्रत्यायोजन गरेको एक पत्र थमाएका हुन् ।

उनले कार्यवाहक दिएको पत्रमा दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्ने, कार्यपालिका बैठक नबोलाउने/नबसाउने, खानेपानी महसुल वृद्धिविरोधी केही समयअघि दलहरूको आन्दोलनको क्रममा फोडिएको गेट र नगरपालिकाको बोर्ड अहिले मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा-बढुवा नगर्ने सर्तहरू छन् ।

यसअघि पनि विभिन्न पालिकाहरूले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा विवाद हुँदै आएको थियो । कार्यवाहकको जिम्मेवारी पाएका अध्यक्ष फागोले आफूलाई कार्यालयमा बोलाएर पत्र दिएको बताए ।

कानूनत: नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनै पनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था भए पनि मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेका हुन् । उपमेयर आइन्द्र विक्रम बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताए ।

उनले भने, ‘उहाँले ऐन कानून पढ्नु भएन होला त्यही भएर वडाध्यक्षलाई कार्यवाहकको पत्र दिनु भयो ।’

कार्यवाहक दिने विषयमा आफूसँग कुनै सल्लाह नभएको उपप्रमुख बेघाले बताए ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर