नेपाली चलचित्रको व्यापारमा बहार, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले ५ दिनमा कति कमाए ? – Nepal Press

नेपाली चलचित्रको व्यापारमा बहार, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले ५ दिनमा कति कमाए ?

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नेपाली चलचित्रका लागि पनि उत्सवमय बनेको छ । दसैंमा लागेका नयाँ नेपाली चलचित्र हेर्न दर्शकहरु हलमा ओइरिएका छन् ।

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका थिए । तीमध्ये दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले विस्फोटक व्यापार गरिरहेका छन् । तुलनात्मक रुपमा कम शो पाएको ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

विदेशी खासगरी भारतीय र दक्षिण भारतीय चलचित्र रिलिज हुँदा देखिने गरेको क्रेज अहिले नेपाली चलचित्रप्रति देखिएको छ । योभन्दा अगाडि नेपाली चलचित्रको ‘प्रि-बुकिङ’ खासै हुँदैनथ्यो । तर, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ रिलिज हुनुभन्दा अगाडि नै दुवै चलचित्र हाउसफुल भइसकेका थिए । आजको दिनसम्म पनि यी चलचित्रमा दर्शक खचाखच छन् ।

दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको थियो । स्थापित ब्रान्ड र निरन्तर सफलताको रेकर्डका कारण यो चलचित्रप्रति प्रदर्शक र वितरकले विश्वास देखाएका हुन् । नभन्दै चलचित्रले पहिलो दिनबाटै बम्पर व्यापार गर्‍यो । ट्रेलरले आलोचना खेप्नु परे पनि चलचित्र हेरेका दर्शकले यसको यथार्थपरक कथावस्तु मन पराएका छन् । चलचित्रमा हास्यरस कम भएको कतिपय दर्शकको गुनासो पनि सुनिएको छ । समग्रमा ‘वर्ड अफ माउथ’ बलियो भएकाले ‘छक्का पञ्जा ५’ ले धेरै दिनसम्म दर्शक तान्नसक्ने अनुमान गर्न सकिन्छ ।

निर्माता दीपकराज गिरी ‘छक्कापञ्जा ५’ ले हिजोसम्म अनुमानित ८ करोड रुपैयाँ ग्रस आम्दानी गरेको बताउँछन् । बुधबारसम्म १० करोड रुपैयाँ पुग्नसक्ने उनले प्रक्षेपण गरे ।

‘आजसम्म दर्शकको चाप हेर्दा हामी पहिलो सातामै १० करोड छुनसक्ने अवस्थामा छौं’, गिरीले भने ।

हलबाट हुने कुल आम्दानीको ५० प्रतिशत सेयर निर्माताले पाउँछन् । जसअनुसार छक्कापञ्जा ५ ले निर्माताको गोजीमा ४ करोड रुपैयाँ मुनाफा निश्चित गरिसकेको छ । छक्कापञ्जा करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । रिलिज हुनु अगाडि नै ओभरसिज राइट्सबाट दीपकराजले लगानी उठाइसकेका थिए । त्यसैले हलबाट भएको आम्दानी उनको टीमको चोखो मुनाफा हो ।

‘छक्कापञ्जा ५’ दीपकराजको टीमले निर्माण गरेको सातौं चलचित्र हो । अहिलेसम्म निर्माण गरेका सबै चलचित्रमा शत प्रतिशत सफलताको रेकर्ड राख्न यो टीम सफल भएको छ ।

दशैंमा दर्शक उराल्ने अर्को चलचित्र बन्यो ‘१२ गाउँ’ । कुनै समयका एक्सन स्टार विराज भट्टले निर्माण र निर्देशन गरेको यो चलचित्र पनि निरन्तर हाउसफुल छ । दक्षिण भारतीय शैलीको एक्सन चलचित्र मन पराउने दर्शकहरु ‘१२ गाउँ’मा आकर्षित भएका छन् । विराज भट्टका छोरा समीर भट्ट यो चलचित्रका मुख्य आकर्षण हुन् ।

‘१२ गाउँ’को व्यापारिक आँकडा निर्माण पक्षले सार्वजनिक गरेको छैन । वितरक गोविन्द शाहीले एकै पटक एक साताको रिपोर्ट सार्वजनिक गरिने बताए ।

‘हामीले सबैतिरको रिपोर्ट पाइसकेका छैनौं, तर दर्शकको उपस्थिति एकदमै उत्साहजनक छ’, उनले भने, ‘आज पनि सबै शोहरु हाउसफुल छन् ।

हिजोसम्म चलचित्रले ६ करोड रुपैयाँभन्दा बढी कमाइसकेको शाहीले दाबी गरे ।

उनले भने, ‘ठ्याक्कै यति भन्न सक्ने अवस्था छैन, तर ६ करोडभन्दा माथि गइसक्यो । पछिल्लो तीन दिनमा डेढदेखि पौने दुई करोड रुपैयाँको बिजनेस भइरहेको छ ।’

सुरुमा ‘छक्कापञ्जा ५’ भन्दा कम शो पाए पनि अहिले हाराहारी पुगिसकेको शाहीले दाबी गरे ।

‘उहाँहरुको स्थापित ब्रान्ड भएकाले बढी शो पाउनु स्वाभाविकै थियो । अहिले चाहिँ हाम्रोमा पनि शो थपिइरहेको छ । हलहरुप्रति कुनै गुनासो छैन’, शाहीले भने ।

योभन्दा अघिल्लो साता रिलज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले पनि राम्रो व्यापार गरेको थियो । सो चलचित्रको भीड नघट्दै नयाँ तीन चलचित्र रिलिज भए । जसले गर्दा दोस्रो सातामा ‘बेहुली फ्रम मेघौली’ सीमित शोमा खुम्चिन पुगेको छ । ती शोहरु अहिले पनि हाउसफुल छन् ।

आफ्नो चलचित्रमा दर्शक हुँदाहुँदै पर्याप्त शो पाउन नसकेपछि निर्माता/निर्देशक निश्चल बस्नेत असन्तुष्ट बनेका छन् । उनले हिजो फेसबुकमा स्टाटस लेख्दै अब हलको विकल्प खोज्ने बताएका थिए ।

नेपाली चलचित्रप्रति दर्शकको अभूतपूर्व क्रेजका बीच पनि वितरक र प्रदर्शकको विदेशी चलचित्रमोह भने कम भएको छैन । उनीहरुले यो साता पनि भारतीय चलचित्र ‘जिग्रा’ भित्र्याएका छन् । आफ्नो बचेखुचेको शो पनि कटौती गरेर ‘जिग्रा’लाई दिइएकोमा निर्देशक बस्नेत आक्रोशित बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर