एमाले फुटाउँदा काँध थापेका नेताहरू नै बिच्किन थाल्दा अप्ठेरोमा माधव नेपाल – Nepal Press

एमाले फुटाउँदा काँध थापेका नेताहरू नै बिच्किन थाल्दा अप्ठेरोमा माधव नेपाल

नेताहरू भन्छन्- निर्वाचनमा भाग लिने, हारेपछि मान्दैनौं भन्ने कुरा स्वीकार्य हुँदैन

काठमाडौं । महाधिवेशनपछि असन्तुष्ट नेताहरूले दुई बुँदे ज्ञापनपत्र बुझाएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अप्ठेरोमा परेका छन् । विद्रोहमा साथ दिएका नेताहरू सम्हाल्न उनलाई धौधौ परिरहेको छ ।

महाधिवेशनमा अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालले गुटबन्दी गरेको भन्दै नेताहरूले सबै कमिटी खारेजीको माग राखेर  लिखित पत्र बुझाएका थिए । यसले पार्टीभित्र विभाजनको खतरा उत्पन्न भएपछि अध्यक्ष नेपाल आफैं असन्तुष्ट नेतासँग चरणबद्ध संवादमा छन् ।

गत साता जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले अध्यक्ष नेपाललाई केन्द्रीय कार्यालयमै पुगेर  पत्र बुझाएका थिए । पार्टी महाधिवेशनको म्यान्डेटविपरीत चयन गरिएको ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्नेलगायत माग उनीहरुकाे छ । महाधिवेशन र त्यसयताका विभिन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटव्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएको निष्कर्ष असन्तुष्ट नेताहरूले निकालेका छन् ।

एमालेबाट अलग्गिँदा माधवलाई काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, प्रेम आले, कृष्णबहादुर श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला असन्तुष्ट देखिन्छन् । महाधिवेशनमा उपाध्यक्षमा पराजित झाँक्री पछिल्लो समय पार्टीमा निष्क्रिय जस्तै छिन् । एमालेको बढी वकालत गर्दै आएको भन्दै उनी पार्टीभित्रै आलोचित बनिरहेकी छन् ।

नेकपा एसमा बसेर कहीँ नपुगिने निष्कर्षमा पुगिसकेका नेताहरुलाई विकल्प रोज्न महाधिवेशनले मलजल गरेको नेताहरूको भनाइ छ । सर्वसम्मत अध्यक्ष भएका माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिका अगाडि गरेको वाचा तोडेको असन्तुष्ट नेताको आरोप छ ।

सांसदहरूले नै पार्टी छाड्दा कानूनी झमेला आइपर्न सक्ने भएकाले त्यो मिलाउन एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मुख ताकिरहेको पनि चर्चा छ । त्यसो त पछिल्लो समय नेकपा एसका नेताहरू एमाले फर्किने क्रम पनि बढ्दो छ । ओलीले पनि माधव नेपालको साथ छाडेर पार्टीमा फर्किनेलाई पूर्ववत जिम्मेवारी दिन तयार रहेकाे सन्देश पठाइसकेका छन् । त्यसैले पनि नेकपा एसमा निष्क्रिय भएर बसेका नेताहरूले एउटा खुट्टा उचालेकाे बताइन्छ ।

महाधिवेशनपछि पार्टीभित्र केही असन्तुष्टि देखिएको भए पनि अध्यक्षसहित पार्टी नेतृत्वले संवाद गरेपछि हल भइसकेको सचिव सोमप्रसाद पाण्डेले दाबी गरे ।

उनले भने, ‘पत्रको विषयमा पार्टीभित्र छलफल भइसकेको छ । अध्यक्षसहित पार्टी नेतृत्वले उहाँहरूसँग पनि छलफल गरिसकेको छ । अब त्यस्तो समस्या छैन । उहाँहरू पदाधिकारीमा पराजित भएपछि निर्वाचनको बेला चिट बाँडेको कुरा गर्नुभयो । उहाँहरुले पनि बाँडेको पाइयो । नेतृत्व तहबाट नभई आफू अनुकूल बाँडिएको पाइएपछि उहाँहरूले पनि महसुस गर्नुभएको छ ।’

उनले बाहिर हल्ला भए जस्तो पार्टी फुट्ने वा असन्तुष्ट नेताहरूले छाड्ने भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे ।

‘एमालेमा फर्किने गल्ती नगर्नुस् भनेका छौं’

सचिव पाण्डेले निर्वाचनमा भाग लिएर पराजित भएपछि आएको असन्तुष्टिको विषयमा नेतृत्वले छलफल गरिसकेको बताए ।

उनले थपे, ‘उहाँहरूलाई नेतृत्व तहबाट तपाईंहरू कि निर्वाचनमा भाग लिन हुँदैनथ्यो, भाग लिएर हारेपछि असन्तुष्टि व्यक्त गर्न आउनुभएको छ । यो कति उचित हो, कति राजनीतिक हो ? यो ३४४ सदस्यीय केन्द्रीय कमिटीसँग नै असन्तुष्ट हो भने यो निर्वाचनअघि नै तपाईंहरूले असन्तुष्टि राख्न सक्नुहुन्थ्यो । निर्वाचन हारेपछि असहमति व्यक्त गर्नुभएको छ । निर्वाचन स्वीकारेर लड्ने, भोट माग्दै हिँड्ने केही कमिटीभित्र बसेर, अनि हारेपछि असन्तुष्टि राख्न मिल्दैन भन्ने कुरा राखेपछि उहाँहरूले स्वीकार्नुभएको पाइएको छ ।’

उनले चुनाव हारेपछि कमिटी खारेज गरौं भन्ने माग अराजनीतिक भएको टिप्पणी गरे ।

पाण्डेले थपे, ‘केन्द्रीय कमिटी अस्वीकार गर्ने भए सुरूको बैठकमा किन हस्ताक्षर गरेको ? सर्वसम्मत नेतृत्व चयनको सम्भावना नभएपछि निर्वाचनमा गएको हो । उहाँहरूले भनेको राजनीतिक र कानूनी रूपले मिल्दैन । ९३ सदस्यीयभन्दा बढी स्वीकार्दैनौं भनेर बैठक बहिष्कार गरेको भए हुन्थ्यो, महाधिवेशन हलको निर्णय हो । आफू हारेपछि यस्ता कुरा उठाउनु उपयुक्त हुँदैन ।’

असन्तुष्ट नेताहरू एमालेमा फर्किने तयारी भइरहेको बताइन्छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘हामीले सकेसम्म एमालेमा नफिर्किनुस्, विद्रोहमा साथ दिएर यहाँसम्म आइपुग्नुभएको छ । त्यो तपाईंहरूले राजनीतिक र कम्युनिष्ट आन्दोलनलाई बचाउन विद्रोह गरेर यहाँसम्म आइपुग्नुभएको छ । अर्को कुरा त्यहाँ गएका साथीहरूलाई पनि एमाले नेतृत्वबाट भएको व्यवहार हेरेर त्यो गल्ती नगर्नुस् भनेका छौं ।’

पाण्डेले आफूले असन्तुष्ट सबै नेताहरूसँग संवाद गरेको भन्दै एकाधबाहेक अरू एमालेमा फर्किने पक्षमा नभएको दाबी गरे । उनले थपे, ‘उहाँहरूले अर्को पार्टी गठन गर्ने पनि सम्भावना छैन । यो पार्टी विभाजन हुँदैन । महाधिवेशनपछि केही असन्तुष्टि देखिएको भए पनि पार्टी फुट्दैन । असन्तुष्ट साथीहरू पनि पार्टी छाड्ने पक्षमा पाएको छैन ।’

‘छलफलको विषय नै होइन’

दुई बुँदे मागसहित असन्तुष्ट नेताहरूले बुझाएको ज्ञापनपत्र छलफलको विषय नै नभएको उपमहासचिव रामकुमार भट्टराईको तर्क छ ।

उनले भने, ‘यो माग छलफलको विषय नै होइन । चुनाव लड्ने अनि हारेपछि रद्द गर्नुपर्‍यो भन्ने माग कहिल्यै पूरा हुँदैन । उहाँहरूले तत्कालको तुष मेट्न यो माग अघि सार्नुभएको हो । पार्टीले जे जिम्मेवारी दिन्छ, उहाँले काम गरेर अघि बढ्नुपर्छ ।’

उनले महाधिवेशनको म्यान्डेटविपरीत चुनाव भएको भए किन भाग लिएको भन्दै असन्तुष्ट नेताहरूलाई प्रश्न गरे ।

उनले थपे, ‘त्यस्तो असन्तुष्टि भए चुनावमा भाग नलिएको भए कुरा अर्काे हुन्थ्यो । सहमति नभएपछि बहुमतको आधारमा छिनोफानो भएको हो । उहाँहरूले राख्नुभएको माग आवश्यकताको आधारमा छलफल हुनसक्छ ।’

असन्तुष्ट पक्षले पार्टी विभाजन गर्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘उहाँहरू पार्टी विभाजन गर्ने पक्षमा हुनुहुन्न । चुनाव हारेपछि यस्तो हुनु स्वाभाविक हो ।’

‘पार्टी फुटाउन होइन, जोगाउने प्रयत्न गरेका छौं’

महाधिवेशनपछि पार्टीमा उत्साह र सक्रियता नभएपछि पार्टीभित्रको निराशा र निष्क्रियतालाई हटाउन आफूहरुले प्रयास गरेको नेता जीवनराम श्रेष्ठले बताए ।

उनले गत साता नेपाल प्रेससँग भनेका थिए, ‘पार्टी कमजोर, विभाजित र निष्क्रिय नहोस् भनेर महाधिवेशनको म्यान्डेटविपरीत भएका कामलाई समीक्षा गरौं, म्यान्डेटविपरीतका कामलाई सच्याऔं र नयाँ ऊर्जा दिएर जाऔं । केन्द्रीय कमिटीको बैठक राखेर पार्टीलाई बलियो बनाएर जानुपर्छ भनेर पत्र बुझाएका हौं । मूलत: हामीले पार्टी विभाजनलाई रोक्ने र पार्टीभित्र देखिएको निष्क्रियतालाई हटाएर सक्रियतातर्फ लिएर अघि बढेका छौं ।’

उनले अध्यक्ष नेपाललाई एमालेबाट विद्रोह गर्दाको मुद्दा स्मरण गर्नसमेत सुझाए । आन्तरिक रूपमा समीक्षा गरेर पार्टीको आन्तरिक एकतालाई बचाउनुपर्नेमा उनको जोड छ ।

पार्टीभित्र देखापरेको प्रवृत्तिलाई रोकेर विद्रोहको औचित्य पुष्टि गर्नेगरी अघि बढ्नुपर्ने श्रेष्ठको भनाइ छ ।

‘यो आन्दोलनमा सबैलाई एकताबद्ध भएर लाग्ने स्थिति बनाऔं भन्ने कुरा हो । त्योभन्दा बाहेक होइन । हामीले पार्टी विभाजन गर्ने वा छाडेर एमालेमा फर्किने कुरा गरेका छैनौं’, उनले भने ।


प्रतिक्रिया

2 thoughts on “एमाले फुटाउँदा काँध थापेका नेताहरू नै बिच्किन थाल्दा अप्ठेरोमा माधव नेपाल

  1. माधव नेपालले एमाले बनाएको पनि होईन र फैलाएको पनि होईन । पद ओगटेर बसे पनि एमालेलाई ढपक्कै ढाकेर अघि बढाउने काम भने २०५० सालदेखि नै ओलिले गरेका थिए । पार्टी बनाउन, बढाउन के गर्नुपर्दोरहेछ अहिले चेत्दै छन् माधव । यिनले यो एस भन्ने पार्टी बढाउन त परै जाओस् जोगाउन पनिसक्दैनन् । दाङ् को दलालले कालापानी भारतको हो भन्नू र माधवले ढाकिदिनुबाट प्रमाणित हुन्छ कि यी कसको लागि दलाली गर्दैछन् ? भनेर ।

  2. नेकपा एमाले के कारणले फुटाएका हुन कसको चाकरी गर्न फुटाएका हुन देशीविदेशी तत्वको पछि लागेर दुखले बनाएको एमाले फुटाउने काममा माधवकुमार नेपालले जुन गल्ती गरे त्यसको असर त अलिअलि परेको भए पनि अब एमालेले सबै पुराना नयाँ पार्टी सदस्यलाई साविकको जिम्मेवारी दिनुपर्छ र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सबै लागि पर्नुपर्छ आउनोस पुरानो घरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *