साफ महिला च्याम्पियनसिपकाे तयारी पूरा (भिडिओ) – Nepal Press

साफ महिला च्याम्पियनसिपकाे तयारी पूरा (भिडिओ)

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप कार्तिक १ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । च्याम्पियनशिपको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन् ।

सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेको छ भने भारत र भुटानको टीम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

 

प्रतियोगिताको तयारीका लागि २३–सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए ।

प्रतियोगिताको समुह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु तीन सय र भीआइपी तर्फ रु पाँचसय तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए।

च्याम्पियनशिपका लागि दशरथ रंगशालालाई पूर्णरुपमा तयार पारिएको एन्फाले जनाएको छ । च्याम्पियनशिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *