कार्तिक १ देखि साफ महिला च्याम्पियनशिप, सातै देश सहभागी हुने – Nepal Press

कार्तिक १ देखि साफ महिला च्याम्पियनशिप, सातै देश सहभागी हुने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप कार्तिक १ गतेदेखि काठमाडौंमा हुँदैछ । च्याम्पियनशिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा नेपालसँगै माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टीमले सहभागिता जनाउँदैछन् ।

सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेका छन् । भारत र भुटानको टीम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए ।

प्रतियोगिताको समूह चरणका खेलको टिकटदर साधारण पारापिटतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकिएको छ । नकआउट चरणका खेलहरुको टिकटदर साधारण पारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए ।

च्याम्पियनशिपका लागि दशरथ रंगशालालाई पूर्ण रुपमा तयार पारिएको एन्फाले जनाएको छ । च्याम्पियनशिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कार्तिक २ गते भुटानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेल ८ गते श्रीलङ्कासँग खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक १४ गते हुने एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर