कोजाग्रत पूर्णिमामा जीतगढीमा सरायँ नाच प्रस्तुत गरिने – Nepal Press

कोजाग्रत पूर्णिमामा जीतगढीमा सरायँ नाच प्रस्तुत गरिने

रुपन्देही । घटस्थापनादेखि शुरु भएको दशैं भन्नाले टीका-जमरा, नाचगान, खानपानमात्रै हैन, सरायँ नाचले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पूर्णिमामा खेलिन्छ ।

यसैबीच जीतगढी सरायँ व्यवस्थापन समिति बुटवल- १३ ले पूर्णिमाको दिनमा सरायँ नाच प्रदर्शन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै बुधबार सरायँ नाच देखाउन लागिएको आयोजक समितिले जनाएको छ ।

समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक एवं लोपोन्मुख सरायँ नाच संरक्षणका लागि सरायँ नाच प्रदर्शन गर्न लागिएको बताए । विसं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाइसराइ गरी बुटवल क्षेत्रमा आएकाहरुको पहलमा सरायँ नाच संरक्षण गर्ने उद्देश्यले वर्षेनि यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए ।

सरायँ नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको पनि उनले बताए ।

लुम्बिनी प्रदेश उद्योग तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानले उद्घाटन गर्ने सो सरायँ नाचमा नेपाली सेनाको टुकडीले पनि सरायँ प्रदर्शन गर्ने कार्यक्रम छ ।

समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ देखि साँझ ५ बजेसम्म सरायँ नाच प्रदर्शन गरिने बताए ।

नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि १ दशक अघिदेखि समितिले निरन्तर सरायँ नाच प्रदर्शन गर्दै आएको सचिव भण्डारीको भनाइ छ । परापूर्वकालदेखि नाच्दै आएको सारायँ नाचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भन्ने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्परागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एकापसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने संस्थापक ऋषि आजाद बताउँछन् । सरायँ नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपीठहरूमा नाच्ने प्रचलन छ ।

पहिले पहाडी जिल्लामा मात्रै गरिने यो नाच अहिले बसाइसराइसँगै तराईमा पनि सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर