दुई दिनदेखि लुक्लामा उडान ठप्प – Nepal Press

दुई दिनदेखि लुक्लामा उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटीसी अफिसर’ विवश दाहालका अनुसार आइतबार ९० वटा उडानमार्फत करिब ८०० पर्यटक भित्रिएको लुक्लामा त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । निरन्तर हुस्सुका कारण उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटक समस्यामा परेका छन् ।

‘रामेछापको मन्थलीमा पनि लुक्ला आउने पर्यटकहरू रोकिएका छन्, कतिपय काठमाडौंमा पनि रोकिएको खबर छ । मौसम प्रतिकूल हुनासाथ उडान प्रभावित हुँदा पर्यटक रोकिएका हुन्’, उनले भने ।

उडान प्रभावित भएसँगै पर्यटक लिएर आएका हेलिकप्टर लुक्लाभन्दा केही तल सुर्केमा अवतरण भइरहेको बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले लुक्ला जान मन्थली पुगेका करिब एक हजार ३०० विदेशी पर्यटक दुई दिनदेखि सोही स्थानमा रोकिएको जानकारी दिए । उडान प्रभावित हुँदा रोकिएका पर्यटक सडक मार्गबाट सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खुम्बु जाने योजनाका साथ अघि बढेको र केही भने हेलिकप्टरमार्फत सुर्के गइरहेको उनले बताए ।

मन्थली विमानस्थलमा पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको प्राधिकरणले जनाएको छ । शरद ऋतुमा सगरमाथा आधार शिविर पदयात्राका लागि पर्यटकले काठमाडौं तथा रामेछापको मन्थली विमानस्थल हुँदै त्यहाँ जाने गरेका छन् । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *