साफको ‘अभागी’ नेपाललाई घरेलु मैदानमा इतिहास रच्ने अवसर – Nepal Press

साफको ‘अभागी’ नेपाललाई घरेलु मैदानमा इतिहास रच्ने अवसर

काठमाडौं । सातौँ संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल बिहीबारदेखि सुरु हुँदैछ । कात्तिक १४ गतेसम्म चल्ने प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालले तेस्रो पटक साफ च्याम्पियनसीपको आयोजना गर्न लागेको हो । यसअघि यो प्रतियोगिता सन् २०१९ र २०२२ मा नेपालमा आयोजना भएको थियो ।

६ संस्करण पुरा भइसकेको यो प्रतियोगितामा हालसम्म भारत र बंगलादेशले मात्र उपाधि जितेका छन् । भारतले ५ र बंगलादेशले एक पटक उपाधि जित्दा नेपाल भने उपाधिविहीन छ । ५ पटक फाइनल यात्रा तय गरेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन। हरेक पटक नेपालको लागि भारत बाधक बनेर उभिने गरेको छ ।

सन् २०१० मा बंगलादेशमा भएको च्याम्पियनसीपमा नेपाल फाइनलमा भारतसँग स्तब्ध भएको थियो । फाइनल पुगेको पाँचा‌ैंपटक नेपाल भारतसँग पराजित भएको छ । चौथो संस्करणबाहेक सबै संस्करणमा नेपाल फाइनल पुगेको थियो ।

सन् २०१६ मा भारतमा भएको प्रतियोगितामा भने घरेलु टोलीसँग पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिनु पर्‍यो ।

सन् २०२२ मा घरेलु मैदानमा भएको च्याम्पियनसीपमा पहिलो पटक नेपालले सेमिफाइनलमा भारतलाई पराजित गरेर इतिहास रच्यो । तर, उपाधि भने चुम्न सकेन । फाइनलमा बंगलादेशसँग पराजित हुँदा नेपालको उपाधि जित्ने सपना पूरा हुन नसकेको हो ।

यसपालि नेपाल घरेलु मैदानमा पहिलो पटक उपाधि चुम्ने दाउमा छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । विदेशमा व्यावसायिक फुटबल खेलिरहेका सावित्रा भण्डारी र रेखा पौडेल पनि टोलीमा समेटिएका छन् ।

पछिल्लो समय नेपाली टोलीको तयारी राम्रो भएकाले नेपाली समर्थक आशावादी छन् ।

गत फागुनमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसीपमा नेपाल फाइनल पुगेको थियो । फाइनलमा जोर्डनसँग पराजित हुँदा नेपाल उपाधि जित्न असफल भएको थियो । त्यसपछि पनि विभिन्न लिग र तयारीले नेपाली टोलीको प्रदर्शन राम्रो हुनेमा टोली विश्वस्त छ ।

टोलीमा मुख्य प्रशिक्षक तामाङले राम्रो नतिजाका लागि चाडपर्वमा पनि प्रशिक्षण गरेको बताए । च्याम्पियन बन्ने लक्ष्यलाई पूरा गर्न सबै खेलाडीलाई उत्प्रेरित गरेर अगाडि बढेको उनको भनाइ छ ।

च्याम्पियनसीपको समूह ’ए’ मा भारत, बंगलादेश र पाकिस्तान छन् । समूह ’बी’ मा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल कात्तिक २ गते भुटानसँग खेल्नेछ । दोस्रो खेल कात्तिक ५ गते माल्दिभ्स र तेस्रो खेल कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुई समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल कात्तिक ११ गते र फाइनल खेल कात्तिक १४ गते हुनेछ ।


प्रतिक्रिया

One thought on “साफको ‘अभागी’ नेपाललाई घरेलु मैदानमा इतिहास रच्ने अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *