१२३ सहसचिवसहित विभिन्न पदका लागि लोकसेवा आयोगले खुलायो विज्ञापन (सूचीसहित) – Nepal Press

१२३ सहसचिवसहित विभिन्न पदका लागि लोकसेवा आयोगले खुलायो विज्ञापन (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले विभिन्न सेवातर्फ १२३ सहसचिव सहित विभिन्न पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुला गरेको छ ।

आयोगले आफ्नो नियमित तालिका अनुसार असोज महिनाको अन्तिम बुधवार प्राविधिक र अप्राविधिकतर्फ विभिन्न पदमा विज्ञापन खुला गरेको हो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाका लागि निजामती सेवामा अप्राविधिक एवं प्राविधिकतर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा र द्वितीय श्रेणी अर्थात् सहसचिव र उपसचिव तथा मानव अधिकार सेवाका अधिकृत प्रथम श्रेणी अर्थात् सहसचिव श्रेणीका पदका लागि विज्ञापन खुला गरेको हो ।

जसमा सबैभन्दा बढी प्रशासन सेवामा १९, परराष्ट्र सेवाका लागि ५ र लेखा परीक्षण (नायब महालेखापरीक्षक) पदका लागि २ गरेर अप्राविधिकतर्फ २६ पदका लागि विज्ञापन खुवाइएको छ ।

यस्तै प्राविधिकतर्फ विभिन्न उपसमूहतर्फ गरेर २२ पदका लागि सहसचिवतर्फ नै विज्ञापन खुला भएको छ ।

यस्तै कार्यक्षमताको मूल्यांकनबाट हुने बढुवाका लागि राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अप्राविधिक एवं प्राविधिक, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम श्रेणीका पदका लागि विज्ञापन खुला भएको हो ।

प्रशासन सेवातर्फ १८, परराष्ट्र सेवातर्फ ५ र लेखा परीक्षण (नायब महालेखापरीक्षक) १ गरेर अप्राविधिकतर्फ २४ पदमा सहसचिव पदका लागि विज्ञापन भएको छ भने प्राविधिकतर्फ विभिन्न समूह तथा उपसमूहतर्फ १३ पद र स्वास्थ्य सेवातर्फ एघारौँ पदका लागि विभिन्न सेवा तथा समूह र उपसमूहमा ८ पदका लागि विज्ञापन खुला भएको छ ।

साथै निजामती सेवा र संघीय संसद सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अप्राविधिक तथा प्राविधिक स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम तथा द्वितीय श्रेणीका पदको आन्तरिक प्रतिस्पर्धा तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन खुला भएको हो । जसमा आन्तरिक प्रतिस्पर्धा (आप्र)बाट प्रशासनतर्फ ११, आप्रतर्फ नै परराष्ट्र सेवातर्फ ३, आप्रतर्फ नै न्याय सेवाको कानून समूह र सरकारी वकिल समूहतर्फ २–२ र सरकारी वकिल समूहतर्फ १, संघीय संसद सेवातर्फ १ पदमा सहसचिवका लागि विज्ञापन भएको छ भने सहसचिवमा नै खुला प्रतिस्पर्धातर्फ प्रशासन सेवातर्फ ३, न्याय सेवाको सरकारी वकिल समूहतर्फ २, न्याय समूहतर्फ १, प्रशासन सेवा र परराष्ट्र सेवामा दलिततर्फ १–१ जना, प्रशासन सेवामा महिलातर्फ १ पदका लागि विज्ञापन भएको छ ।

प्राविधिकतर्फ भने आप्र तथा खुलातर्फ गरेर सहसचिव पदमा १६ र राष्ट्रिय मानव अधिकार सेवातर्फ एक, स्वास्थ्य सेवातर्फ एघारौँ तहका लागि विभिन्न सेवा तथा समूह र उपसमूहतर्फ ८ पदका लागि विज्ञापन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *