सन्न्यासको किनारमै रहेका दुई ‘बुढा’ स्ट्राइकरको लय- रोनाल्डोलाई पछ्याउँदै मेसी – Nepal Press

सन्न्यासको किनारमै रहेका दुई ‘बुढा’ स्ट्राइकरको लय- रोनाल्डोलाई पछ्याउँदै मेसी

काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोलले हरायो ।

ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक पुरा गरे। त्यति मात्र होइन, २ गोलमा असिस्ट पनि गरे ।

३७ वर्षीय मेसी एक महिनाअघि चोट मुक्त भएर मैदान फर्किएका हुन् । गत जुलाईमा भएको कोपा अमेरिकाको फाइनलमा उनी घाइते भएका थिए ।

मैदानमा फर्किएयता मेसीले खेलेका ८ खेलमा ८ गोल र ३ असिस्ट गरेका छन् ।

उनले कोपा अमेरिकाको फाइनलपछि खेलेको पहिलो खेलमै २ गोल र एक असिस्ट गरेका थिए। राष्ट्रिय टोलीका लागि यसबीचमा उनले दुई खेल मात्र खेलेका छन् ।

अघिल्लो खेलमा उनले गोल गर्न सकेका थिएनन् भने अर्जेन्टिना भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

बोलिभियाविरुद्ध उनले १९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनकै दुईवटा असिस्टमा घरेलु टोली पहिलो हाफमा ३-० गोलले अगाडि रहेको थियो ।

त्यसपछि उनले ८४ र ८६ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा मेसीको यो १० औँ ह्याट्रिक हो । उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको सर्वाधिक ह्याट्रिकको कीर्तिमान बराबरी गरे ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले सर्वाधिक एक सय ३३ र मेसीले एक सय १२ गोल गरेका छन्। रोनाल्डो ३९ वर्षका भए र अझै पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

सामान्यतया स्ट्राइकरका लागि मेसीकै उमेर पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसक्ने बेलाको हो तर यी दुवै स्ट्राइकरले सन्न्यासबारे बोल्न चाहेका छैनन् । त्यसैले उनिहरु कहिलेसम्म खेल्छन् भन्नेबारे फुटबल समर्थकलाई अनुमान लगाउन गाह्रो छ ।

‘यहाँ आउनु र समर्थकको माया महसुस गर्न पाउन निकै राम्रो लाग्छ’, घरेलु मैदानमा ह्याट्रिक गरेपछि मेसीले भने, ‘जसरी समर्थकले मेरो नाम लिएर चिच्याउँछन् त्यसले मलाई चलाउँछ । यसले मलाई अगाडि हाँक्छ । मेरो उमेरका बाबजुद, जब म यहाँ हुन्छु आफूलाई बच्चा महसुस गर्छु किनभने यो टिमसँग म आनन्द महसुस गर्छु । जबसम्म म आनन्द महसुस गर्छु र आफूले सोचेजस्तो प्रदर्शन गरिरहन्छु म यसैमा रमाइरहने छु ।’

मेसी फाइनलमा घाइते हुनुका बाबजुद अर्जेन्टिनाले गत कोपा अमेरिका जितेको थियो । मेसीले कोपा अमेरिकाको उपाधि रक्षा र विश्व विजेताजस्ता उल्लेख्य सफलताहरू हात पारेका छन् । यता रोनाल्डो पनि बेजोड प्रदर्शन गरिरहेका छन् ।

उनले मङ्गलवार राति पोर्चुगलले स्कटल्यान्डसँग गोलरहित बराबरी खेल्नुअघि लगातार ५ खेलमा गोल गरेका थिए । अघिल्लो खेलमा उनले पोल्यान्डविरुद्ध एक गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *