सरकारले एकीकृत बस्तीको योजना अघि बढाउँदैछ, छिट्टै पुनर्निर्माणको काम सुरु हुन्छ: प्रधानमन्त्री ओली – Nepal Press

सरकारले एकीकृत बस्तीको योजना अघि बढाउँदैछ, छिट्टै पुनर्निर्माणको काम सुरु हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाउने बताएका छन् ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज प्रधानमन्त्री निवास बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराए ।

बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उनले सीमित बजेटका बाबजुद सकभर मागेरभन्दा आफ्नै बुँतामा पुनर्निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए ।

उनले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चापदार्थ स्वदेशमै उत्पादन हुने बताए ।

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

टोलीमा प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलगायत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *