दसैँमा बाबुको हातको टीका थाप्न भक्तपुरबाट दाङ आएका अनिलको हत्या – Nepal Press

दसैँमा बाबुको हातको टीका थाप्न भक्तपुरबाट दाङ आएका अनिलको हत्या

दाङ । दसैँमा बाबुसँग टीका थाप्न भक्तपुरबाट दाङ आएका अनिल तामाङको हत्या भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ का २८ वर्षीय अनिल दसैँको टीका थाप्न असोज २३ मा बबई- ४ हापुरेमा होटेल गर्दै आएका आफ्नै बाबु सोमार तामाङको घरमा आएका थिए ।

बाबुसँगै दाङमा बस्दै आएका अनिलका दाइ ३१ वर्षीय पूर्ण तामाङसँग उनको अंशबन्डामा कुरा मिलेको थिएन । दाङमा अनिल पुगेपछि पुनः दाजुभाइबीच उक्त विषयमा विवाद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका विवादकै क्रममा पूर्णले अनिलको पेटमा पटकपटक चक्कु प्रहार गरी घाइते बनाए । अनि पूर्णले अनिलले आफ्नो पेटमा आफैं चक्कु रोपेको हल्ला चलाए । अनिलको उपचारको क्रममा मृत्यु भयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पूर्णको विश्वास गरेर आफैंले चक्कु प्रहार गरेका अनिलको मृत्यु भएको भन्दै प्रेस रिलिज जारी गर्‍यो । अनुसन्धानका क्रममा प्रहरीले बाबु सोमारलाई नियन्त्रणमा लियो । बयान लिने क्रममा बाबुले अनिलको हत्यामा दाइको संलग्नता भएको संकेत गरेपछि प्रहरीले पूर्णलाई पक्राउ गरेको छ ।

उनले भाइसँग विवाद हुँदा आवेगमा चक्कु प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । इप्रका तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले भाइको हत्या गरेका पूर्णलाई कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *