प्रचण्डमाथि विद्यार्थी नेताहरुले बढाएको दबाब- अवसर हदमा ‘फ्लोर टेस्ट’ किन नगर्ने ? – Nepal Press

प्रचण्डमाथि विद्यार्थी नेताहरुले बढाएको दबाब- अवसर हदमा ‘फ्लोर टेस्ट’ किन नगर्ने ?

नेताहरुको स्वीकार- नेतृत्वले विवेक पुर्‍याउन सकेको छैन, अवसर हदबारे उठेको बहस सही छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका नेताहरुले पार्टीमा अवसरमा पनि उमेर हदको बहस चलाएका छन् । गत महिना भएको अखिलको सम्मेलन उमेर हद विवादमा फसेपछि विद्यार्थी नेताहरुले पार्टीमा पनि अवसरको हद तोक्नुपर्ने बहस चलाएका हुन् ।

उमेर हद विवादको कारणले रोकिएको अखिल क्रान्तिकारीको सम्मेलनको बाँकी काम मंसिर २३ र २४ मा हुँदैछ । उमेर हद विवादमा बहस चलिरहेको भए पनि सम्मेलनबाटै टुंग्याउने तयारी छ । पार्टीका अधिकांश नेताहरु उमेर हदको पक्षमा देखिएका छन् ।

संगठनमा आफू नेतृत्वमा पुग्ने बेलामा उमेर हदलाई तगारो बनाएको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले पार्टी नेतृत्वमाथि नै प्रश्न उठाएका छन् । संगठनमा उमेर हदको विपक्षमा उभिएका विद्यार्थी नेताले पार्टीका नेताहरूलाई पनि अवसर हद तोक्नुपर्ने दबाब नेतृत्वमा बढाएका छन् ।

माओवादीको नेतृत्व करिब साढे तीन दशकदेखि पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । प्रचण्ड तीन पटक प्रधानमन्त्रीसमेत भइसकेका छन्, तर विद्यार्थी नेताहरुले प्रचण्डबाहेक अन्य पार्टी पदाधिकारीमाथि प्रश्न उठाएका छन् । उनीहरु पनि नेतृत्वमा अझै प्रचण्डको विकल्प नभएको निष्कर्षमा पुगेका छन् ।

यद्यपि प्रचण्ड पनि महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने उनीहरुको माग छ । पार्टीमा टिके प्रथाको अन्त्य नभएसम्म गुटबन्दी अन्त्य नहुने भन्दै पार्टी नेतृत्वदेखि संगठनका सबै कमिटीहरु प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने माग विद्यार्थी नेताहरुले अगाडि सार्दै आएका छन् ।

त्यसो त प्रचण्डले अब पार्टीमा सबै कमिटीको प्रत्यक्ष निर्वाचन हुने घोषणा पटक पटक गरे पनि अहिलेसम्म लागू गर्न सकेका छैनन् ।

विद्यार्थी नेताहरुले पार्टीबाट पाउने अवसरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेललगायत मात्रै पटकपटक दोहोरिएको भन्दै उमेर हदसँगै अवसरको हद पनि तोक्नुपर्ने आवाज उठाएका हुन् ।

उनीहरुले ‘पुस्तान्तरण कहिले, हस्तान्तरण कहिले ?, तरमाराहरूलाई घरमै रेस्ट- अवसरको हदमा फ्लोर टेस्ट, संघर्षको शिखरमा उभिएको पार्टीमा अवसरको समान वितरण कि परम्पराको निरन्तरता ?, उमेरमा ध्यान खिच्ने अवसरमा सीमा मिच्ने ?, को कति हुने ?, कोको हुने ?, अब पुगेन ?’ भन्दै नेताहरुको फोटो र अहिलेसम्म कति पटक सांसद र मन्त्री भएकोसमेत राखेर सामाजिक सञ्जालमा दबाबमूलक अभियान नै चलाएका छन् ।

पटकपटक अवसर लिने पैसा, पावर र गुट लाएर कार्यकर्ताको टाउकोमा बुट बजार्ने प्रवृत्ति अब मान्य नहुने अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका छन् ।

विद्यार्थी नेता केशव रावलले लेखेका छन्, ‘ल्यारक्याल लामा, उमेश श्रेष्ठहरुको २ नम्बरी पैसा ल्याएर हामीमाथि गरिने दमन सहिँदैन, भण्डाफोर र प्रतिवाद हुन्छ ।’

उनले गुटहरुको बन्ध्याकरण, हेडक्वार्टरमा केन्द्रीकरण गर्ने अभियानमा आफूहरु लागेको उल्लेख गरेका छन् ।

उनले भने, ‘पार्टीको उही तहका नेताहरुले पटकपटक अवसर पाउने, कसैले अवसर नै नपाउने अवस्था छ पार्टीभित्र, पार्टीका नेताहरुले पनि मनमा राख्ने, तर बोल्न सक्नुभएको थिएन । विद्यार्थीमा उमेर हदको कुरा चलिसकेपछि पार्टीमा अवसर हदको कुरा पनि चलाउनुपर्छ भनेर हामीले थालेका हौं । पार्टीभित्र छलफल हुन्छ भन्ने लागेका छौं ।’

उनले अवसर नपाउनेहरु पाउनेबाट पार्टीभित्र थिचिएर बस्नुपर्ने अवस्था भएको बताए ।

अखिल क्रान्तिकारीको अध्यक्षको आकांक्षीसमेत रहेका रावलले भने, ‘अवसर पाउनेहरुले शक्ति र स्वार्थ समूह बनाएका छन् । त्यसैले अवसर हदसँगै स्वार्थ समूह पनि खारेज गर्नुपर्छ भनेका छौं । पार्टी नेतृत्वमात्रै नभई सबै तहमा पनि निर्वाचनबाट नेतृत्व चयन हुने विधि बसाल्नुपर्छ, अवसरको कुरामा पनि पटकपटक एउटैलाई दिनुहुन्न भन्ने जागरण हामीले चलाएका हौं ।’

उनले सामाजिक सञ्जालमा चलाएको अभियान कुनै टीम वा समूह बनाएर नभएर विद्यार्थीले स्वःस्फुर्त रुपमा गरेको दाबी गरे । उनले विद्यार्थी साथीहरुले प्रत्येक दिन एउटा एउटा विषयमा नेतृत्वलाई दबाब दिन सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरिरहेको बताए ।

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल पार्टी नेतृत्वमा विवेक नपुर्‍याउँदा पार्टीभित्र प्रश्न उठ्नु स्वाभाविक भएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘पार्टीमा अवसर हद भनेको पार्टीले नै विवेक पुर्‍याउनुपर्ने कुरा हो । सधैं एउटै मान्छेलाई मात्रै अवसर दिन हुँदैन भन्ने कुरामा । त्यो मार्क्सवादविपरीत कुरा हो । मार्क्सवादले त विकासको कुरालाई मान्छ, सधैं मान्छे एउटै जिम्मेवारीमा भइरहनुपर्छ भन्ने छैन । त्यसैले पार्टीले विचार, विवेक पुर्‍याएर जिम्मेवारी दिने कुरा हो ।’

उनले पार्टीमा अहिलेसम्म अवसरको हकमा एउटै व्यक्तिहरु दोहोरिएको स्वीकार गरे ।

सचिव पोखरेलले थपे, ‘अवसरमा करिबकरिब एउटै व्यक्ति दोहोरिएको देखिएको छ, नेतृत्वको विकासमा त्यसले राम्रो गर्दैन । नयाँ गुणात्मक ढंगले विकास भएर आउँछ, विचारको विकासविना नेतृत्व स्थापित हुँदैन । पार्टी र सरकारको अवसर दिनु फरक कुरा हो । पार्टीको नेतृत्वमा विचारसहितको नेतृत्व हुन्छ । सरकार भनेको जसले पनि आफ्नो क्षमता देखाउन सक्छ ।’

उनले विद्यार्थीले अभियानको रुपमा उठाइएको कतिपय विषय सही भएकाले छलफल गर्नुपर्ने बताए ।

नेता पोखरेलले भने, ‘विद्यार्थीका कतिपय कुरा ठीक छन्, विद्यार्थीले नेतृत्वको विषयमा प्रश्न उठाए, तर नयाँ नेतृत्व रोक्न विद्यार्थीहरुले पनि ख्याल गर्नुपर्छ ।’

अर्का सचिव देवेन्द्र पौडेल पनि विद्यार्थीहरुले चलाएको अभियानलाई सकारात्मक रुपमा लिएको बताए ।

उनले भने, ‘पार्टीमा विद्यार्थी र युवाहरुले शुद्धीकरणको अभियान चलाउनु सकारात्मक कुरा हो । उहाँहरु आफैं पनि पार्टीमा सक्रिय हुनुपर्‍यो । पार्टी शुद्धीकरण गरेर पार्टीलाई जनतासँग जोड्ने कुरा उठाउँदा सकारात्मक रुपमा लिन्छौं । यो विषयमा छलफल चलिरहेको छ ।’

सचवि पौडेलले पार्टी शुद्धीकरणको अभियान चलिरहेको भन्दै आगामी केन्द्रीय कमिटीको बैठकले ठोस निर्णय गरेर अघि बढ्ने बताए ।

उनले थपे, ‘देशभर यो विषयमा पनि कुरा उठेका छन्, लगत्तै हामी केन्द्रीय कमिटीको बैठक राखेर नयाँ कार्यक्रमसहित अगाडि जान्छौं । भएका गल्ती सच्याएर जनतामा जोडिने कार्यक्रम लिएर जानुपर्छ भन्नेमा सचेत छौं ।’

नेता पौडेलले पार्टी नेतृत्व र अवसरको हदबारे पनि आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गरेर नयाँ ढंगले अघि बढ्नेगरी छलफल चलिरहेको सुनाए ।

तर अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रञ्जित तामाङ भने विद्यार्थीको अभियानप्रति त्यति सकारात्मक सुनिँदैनन् ।

गत साता नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा उनले भनेका थिए, ‘अहिले यो सम्मेलन असफल भए पनि जे तर्क भइरहेका छन्, त्यो एउटा आधार हो, तर त्योमात्रै अन्तिम विकल्प होइन । विद्यार्थी सम्मेलनबाट जे निराशा आयो, त्यसपछि सबैतिर नयाँ ढंगले सोचौं भन्ने त हो, तर त्यसको लागि सामाजिक सञ्जालहरूमा गराइराखेको बहसले मात्रै पनि निकास दिँदैन । यसले तत्कालका लागि हामीलाई एउटा आत्मसन्तुष्टि त हुन्छ, तर सम्पूर्ण निकास होइन।’

विद्यार्थीले आफ्नो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न असक्षम भएपछि पार्टी नेतृत्वलाई तारो बनाउने कुरा राम्रो नभएको उनको भनाइ छ ।

अवसर हदको बहसबारे तामाङको मत छ, ‘विद्यार्थीको सम्मेलनले अहिले पार्टीको सम्मेलनबारे धेरै चासो देखाउन के गर्ने भनेर बोल्ने बेला भएको छैन । पहिला आफ्नो जिम्मेवारी पूरा गर्ने हो । उठाएका कुराहरूमा छलफल र बहस गर्नुपर्छ । कम्युनिष्ट पार्टीहरूले त्यससम्बन्धी कुनै विधि नबनाई लोकतन्त्र मान्ने कि केन्द्रियता मान्ने भन्ने कुरामा निकास ननिकालिकन यही ठीक हो, यो बेठीक हो भनेरमात्रै समस्याको समाधान हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *