प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु: गृहमन्त्री लेखक – Nepal Press

प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएकाा हुन् ।

गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरेको उनले उल्लेख गरे ।

प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपश्चात नेपाल प्रहरीको बृहत्तर हित र वर्षौंवर्षदेखिका हाम्रा अपेक्षाहरू पूरा हुने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।

गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको उच्च मूल्याङ्कन हुने बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा गठन भएको सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई पूर्णता दिएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन हुनेछ’, उनले भने, ‘यसले द्वन्द्वको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरुको परिवारलाई पनि पीडितसरह परिपूरण दिने व्यवस्था गरिएको छ । द्वन्द्वको बेलामा घाइते तथा अपाङ्ग भएका सुरक्षा निकायका व्यक्तिलाई पीडितसरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’

सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।

‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरुले परिश्रमका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । कहिलेकाहीँ सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ । प्रहरी, कर्मचारी र विभागीय मन्त्रीले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ । तसर्थ थप सचेतना, सतर्कता र व्यवसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु’, उनले भने ।

२०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको उनको भनाइ छ ।

‘आमनागरिकको सारथि र जीवनदेखि मरणसम्मको सहयात्री हुन सफल भएको छ । यो महत्वपूर्ण उपलब्धि र आमविश्वासप्रति गौरवबोध गर्दछु । यस अवसरमा नेपाल प्रहरी परिवारलाई हार्दिक बधाई छ’, उनले भने ।

राज्यको नागरिकसँग सम्पर्क सूत्र नै प्रहरी भएको भन्दै उनले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफू भूमिका सदैव सहयोगी रहने विश्वास गृहमन्त्री लेखकले विश्वास दिलाए ।

मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव, छुवाछूतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सुशासन, समृद्धि र विकासका लागि काम गरिरहेको उनको भनाइ छ । नागरिक र सरकारलाई जोड्ने प्रतिनिधि नै प्रहरी भएको भन्दै गृहमन्त्री लेखकले नागरिकको अपेक्षामा खरो उत्रिन निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर