दसैँ बिदामै सुनसान सौरहा – Nepal Press

दसैँ बिदामै सुनसान सौरहा

सौरहा । यो वर्ष दसैँको छेकोमा आएको विनाशकारी बाढीपहिरोले आन्तरिक पर्यटनलाई नराम्ररी प्रभाव पारेको छ । जसमा चितवनस्थित सौरहा पनि परेको छ । कोरोनापछि विस्तारै उठेको आन्तरिक पर्यटनलाई यही असोज १०-१२ को अविरण वर्षापछि आएको बाढीपहिरोले पुनः सुनसान बनाइदिएको छ ।

अघिल्ला केही वर्षको दसैँ बिदाको समयमा आन्तरिक पर्यटकले खचाखच हुने सौरहा यो पटक करिब सुनसानको अवस्थामा पुगेको छ । गत सालसम्म आन्तरिक पर्यटकहरुको भीडभाड देखिने सौरहामा यो वर्ष प्रायः होटलहरु खाली देखिए ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने जीप सफारी, हात्ती सफारी र त्यहाँको नाइट लाइफ हेर्न आउने पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

आन्तरिक पर्यटक तान्न सौरहाका केही होटलले निकै सस्तो दरमा होटलको गेटैमा ब्यानर राखे पनि धेरै होटल सुनसान देखिए । होटल व्यवसायीहरु यस पटकको दसैँ बिदामा पर्यटकको चहलपहल पहिलेको तुलनामा निकै कम भएको बताउँछन् ।

नेपालप्रेससँगको कुराकानीमा सौरहाका होटल व्यवसायी भोलानाथ लामिछानेले यो वर्षको दसैँ बिदामा आन्तरिक पर्यटकहरु न्यून मात्र आएको बताए ।

अघिल्ला दसैँ बिदामा टीकाकै दिनबाट भरिभराउ देखिने सौरहा यो वर्ष खालीखाली लागेको उनले बताए ।

सौरहाकै गैंडा चोकमा डिपाटमेन्टल स्टोर चलाउँदै आएका व्यवसायी यो वर्ष पर्यटकको आगमन कोरोनापछिको जस्तै न्यून भएको बताए ।

हामीले सौरहाको एकदर्जन जति होटलमा बुझ्दा यहाँ आन्तरिक पर्यटकहरु यस वर्ष निकै कम संख्यामा आएको प्रतिक्रिया पायौं । यस वर्षको बाढीपहिरोले मानिसहरु हिँड्न समस्या भएको र सडकको अवस्था बिग्रिएको कारण पनि मानिसहरु घुमघाममा ननिस्केको हुनसक्ने उनीहरुको भनाइ छ ।

सौरहाका जिप सफारी व्यवसाय सञ्चालकहरु पनि दसैँ बिदामा आन्तरिक पर्यटकहरु न्यून रुपमा आएको बताउँछन् । बाढीपहिरोको असरले यो पटक पर्यटकहरु कम संख्यामा आएको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *