गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन कांग्रेस सभापति देउवाको आग्रह – Nepal Press

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउन्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा आज जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धति र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउन्डेसनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउन्डेसनलाई आग्रह गरे ।

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनसमेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि, उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए ।

जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा. धनेश्वर नेपाल र फाउन्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए ।

फाउन्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । फाउन्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन क्रियाशील छ । यसअन्तरर्गत विभिन्न देशमा ३० भन्दा बढी शाखा विस्तार भएको छ ।

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त युवा वैज्ञानिक प्रा. डा. यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउन्डेसनको नेतृत्व गरेका छन् । फाउन्डेसनअन्तर्गत अन्तर्राष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, युथ नेटवर्क र ओमन नेटवर्कसमेत क्रियाशील रहेका छन् । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *