११ वर्षदेखि डिभोर्स खोजिरहेका आचार्यलाई सर्वोच्च अदालतले देखाएको ‘रेड सिग्नल’ – Nepal Press

११ वर्षदेखि डिभोर्स खोजिरहेका आचार्यलाई सर्वोच्च अदालतले देखाएको ‘रेड सिग्नल’

काठमाडौं। विवाह गरेको झन्डै तीन वर्षपछि सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया थालेका एक व्यक्तिलाई अन्ततः सर्वोच्च अदालतले पनि निराश बनाएको छ।

सम्बन्ध विच्छेदको मागमा दाबी नपुग्ने काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको छ।

नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत पुसमा गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको छ।

काठमाडौंको चाबहिलका मुनिष आचार्यले श्रीमती श्रुति गौतमविरुद्ध सम्बन्ध विच्छेदको निवेदन सुरुमा काठमाडौं महानगरपालिकामा २०६९ कात्तिकमा दिएका थिए।

महानगरपालिकाले २०७० माघमा आवश्यक कारबाहीका लागि उक्त निवेदन काठमाडौं जिल्ला अदालतमा पठाउने निर्णय गरेको थियो।

जिल्ला अदालतले २०७२ असारमा निवेदक गौतमको मागदावी नपुग्ने भन्दै सम्बन्ध विच्छेद हुन नसक्ने निर्णय सुनाएको थियो।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ फागुनमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। त्यसपछि आचार्य सर्वोच्च अदालत पुगेका थिए।

निवेदक आचार्यले श्रीमती तीन वर्षदेखि लगातार छुट्टै बस्दै आएको र आफूमाथि जिउ ज्यानको खतरा रहेको दाबी लिएर सम्बन्ध विच्छेदको निवेदन दिएका थिए। तर दुवै कारण मनासिब नरहेको ठहर तीनवटै तहका अदालतले गरे ।

आचार्य र गौतमबीच २०६६ असार १५ गते मागी विवाह भएको थियो । निवेदक आचार्यका अनुसार विवाह भएको झन्डै २ महिना मात्र गौतम उनको घरमा बसेकी थिइन् । त्यसबीचमा विभिन्न बहाना बनाएर माइत बस्ने गरेको र बिस्तारै माइतमै बस्न थालेको उनले निवेदनमा जिकिर गरेका थिए ।

२०६७ सालको दशैँमा गौतमको परिवार आएर आफ्नो घरमा तोडफोड गरेको र परिवारका सदस्यलाई कुटपिट गरेको पनि उनले दाबी गरेका थिए । आफूसमेत घाइते भएको उनको भनाई थियो। श्रीमतीले पनि अफिसमा आएर र फोनबाट तथानाम गाली गर्ने गरेको उनले उल्लेख गरेका थिए ।

यता गौतमले २०६६ माघमा काकाको आसौच बार्नु पर्ने भएका कारण ससुराले माइत गएर बार्नु भनेकाले आफू त्यतिबेला माइत गएको भन्दै २ महिना मात्र आफूसँग बसेको भन्ने श्रीमानको जिकिरको खण्डन गरेकी थिइन् ।

जुठो चोखिएर घर फर्कँदा सासूले फर्काएर माइतमै बस्नु भनेको र श्रीमानले पनि अहिले जाऊ आमालाई म सम्झाउँछु भनेको गौतमले लिखित जवाफमा उल्लेख गरेकी थिइन् । तर त्यसपछि श्रीमानले आफूलाई बेवास्ता गर्दे लिन नआएको र घर जाँदा पनि तेरो श्रीमान् छैन, आइन्दा नआइज भनेर फर्काउने गरेको उनको दाबी थियो ।

अफिसमा भेट्न जाँदा भेट नदिने र फोन पनि रिसिभ नगर्ने गरेको उनको लिखित जवाफ थियो । २०६७ सालको दशैँमा बहिनीलाई लिएर श्रीमानको घर जाँदा आफूहरूमाथि कुटपिट भएको र त्यो थाहा पाएपछि परिवारका सदस्यहरू श्रीमानको घर पुगेर विवाद हुँदा केहीलाई चोट लागेको गौतमले बताएकी थिइन् ।

आफूलाई सासूलगायत परिवारका सदस्य मिलेर श्रीमानसँग बस्न नदिएको दाबी गर्दै उनले सम्बन्ध विच्छेद बदरको माग गरेकी थिइन् । आफू श्रीमानसँग बस्न तत्पर रहेको गौतमले उल्लेख गरेकी थिइन् ।

यता सर्वोच्च अदालतले आफ्नो फैसलामा आचार्यले २०६६ भदौपछि श्रीमती बेग्लै बस्दै आएको बताए पनि त्यस वर्षको दशैंमा खिचिएको तस्बिरलाई वादी पक्षले खण्डन गर्न नसकेको उल्लेख गरेको छ ।

यस्तै २०६६ माघसम्म आफू आचार्यकै घरमा रहेको भन्ने गौतमको दावीविरुद्ध पनि वादीले प्रमाण पेश गर्न नसकेको पूर्ण पाठमा उल्लेख छ। यता सर्वोच्चले तीन वर्ष अलग बसेको हुनुपर्ने कानुनी व्यवस्थालाई पनि व्याख्या गरेको देखिन्छ ।

समयको गणना गरी अवधि पुग्नु मात्र सम्बन्ध विच्छेदको आधार हुन नसक्ने भन्दै श्रीमतीले श्रीमानको मन्जुरीबिना स्वेच्छाले घर छाडेको हुनुपर्ने भनिएको छ ।

यस्तै अकस्मात् कुनै कारणले एक दुई पटक रिस, आवेग वा उत्तेजनामा आई भएका सामान्य वादविवाद, झैझगडा वा कुटपिटका घटनाहरू सम्बन्ध विच्छेदका लागि आवश्यक कानुनी सर्तका लागि पर्याप्त नहुने पूर्ण पाठमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *