गौशाला धर्मशाला खाली नगर्न मन्त्री पाण्डेको निर्देशन, पशुपति कोषलाई पत्राचार – Nepal Press

गौशाला धर्मशाला खाली नगर्न मन्त्री पाण्डेको निर्देशन, पशुपति कोषलाई पत्राचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला खाली गराउने सम्बन्धी कार्य अहिलेलाई रोक्न निर्देशन दिएका छन् । पछिल्लो समय बढेको विवाद अन्त्यका लागि उनले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकसमेत आह्वान गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको निर्देशनबमोजिम बिहीबार पठाइएको पत्रमा ‘पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ बुझिन आएकाले परिषदको अर्को बैठकबाट निर्क्यौल नभएसम्म परिषद् बैठकको असोज २० को निर्णय कार्यान्वयन स्थगन गर्न भनिएको छ ।

साथै यही कात्तिक ४ गते मन्त्रालयमा परिषद् बैठक डाकिएको छ ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । त्यसपश्चात कोषले धर्मशाला सञ्चालन/व्यवस्थापनको जिम्मा महानगरपालिकालाई दिने निर्णय गरी महानगरलाई पत्र लेखेको थियो ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढंगले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने निर्णय गरेपछि विवाद बढेको छ ।

महानगर प्रहरी दुई पटक धर्मशाला खाली गराउन गएपनि मारवाडीहरूले अवरोध गरेका थिए ।

महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो । सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन् । तर, आपसी छलफलबाट विवाद मिलाउन आग्रह गर्दै प्रहरी प्रशासनले महानगर प्रहरीलाई धर्मशालाभित्र छिर्न रोक लगाएको छ ।


प्रतिक्रिया

One thought on “गौशाला धर्मशाला खाली नगर्न मन्त्री पाण्डेको निर्देशन, पशुपति कोषलाई पत्राचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *