न्यूजिल्यान्डविरुद्ध भारतको ब्याटिङ धराशायी, ३४ रनमा गुमायो ६ विकेट – Nepal Press

न्यूजिल्यान्डविरुद्ध भारतको ब्याटिङ धराशायी, ३४ रनमा गुमायो ६ विकेट

रोहित शर्मा २ र विराट कोहली शून्य रनमा आउट

काठमाडौं । उच्च लयमा देखिएको भारतको ब्याटिङ न्यूजिल्यान्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा धराशायी बनेको छ । लन्चअघि भारतले ३४ रन मात्र जोड्दा ६ जना ब्याट्सम्यानहरू पेभेलियन फर्किसकेका छन् ।

घरेलु मैदानमा भएको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको थियो । ६.३ ओभरमा ९ रन जोड्दा कप्तान रोहित शर्मा आउट भएसँगै भारतको विकेट पतन सुरु भयो । रोहितले १६ बल खेलेर २ रन मात्रै जोड्न सके ।

तेस्रो नम्बरमा आए स्टार ब्याट्सम्यान विराट कोहली । तर उनको इनिङ सम्झिन लायक भएन । कोहलीले ९ बलको सामना गर्दा एक रन पनि जोड्न सकेनन् । उनलाई विलियम ओ रुर्कले आफ्नो पहिलो ओभरको अन्तिम बलमा क्याचआउट गराए ।

लगत्तै सरफराज खान पनि शून्यमै आउट भएपछि भारत १० रनमा तीन विकेटको स्थितिमा खस्कियो । अर्को इन्डमा ओपनर यशस्वी जैसवाल संघर्ष गरिरहेका थिए । यशस्वी र रिसभबीच केही बेर साझेदारी त भयो, तर स्कोरबोर्ड चलायमान भएन ।

यो जोडीले भारतलाई २० ओभरमा ३० रनसम्म डोहोर्यायो । तर, २०.५ ओभरमा यशस्वीले पनि बिदा मागे । उनी ६३ बल खेल्दै १३ रन बनाएर आउट भए । उनलाई प्रतिस्थापन गर्न आएका केएल राउलले पनि खाता खोल्न सकेनन् । उनी ६ बलको सामना गर्दै शून्यमा आउट भए । राहुललाई पछ्याउँदै रवीन्द्र जडेजा पनि शून्यमै आउट भए ।

लन्चअघिको अन्तिम बलमा जडेजा आउट भएपछि भारत ३४/६ को स्थितिमा पुगेको हो । एक इन्डमा रिसभ पन्त सुरक्षित छन् । उनी १४.३ ओभरमा रिभवको क्याच ड्रप भएका थिए ।

लन्चपछि रिसभलाई साथ दिन रविचन्द्र आश्विन आउनेछन् । उनी पनि ब्याटिङ गर्न सक्छन् । त्यसपछि भने टेलइन्डरहरु छन् । भारतलाई सम्मानजनक स्कोरका लागि रिसभ र आश्विनको ब्याटिङमा भर पर्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर