समाजवादी मोर्चा फेरि निष्क्रिय, कार्यदलले तीन महिनामा पनि टुंग्याएन दस्ताबेज – Nepal Press

समाजवादी मोर्चा फेरि निष्क्रिय, कार्यदलले तीन महिनामा पनि टुंग्याएन दस्ताबेज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढले लगत्तै सक्रिय भएको समाजवादी मोर्चा फेरि निष्क्रिय भएको छ । प्रचण्ड नेतृत्वको सरकार ढले पनि साउन १ गते नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको थियो ।

त्यसयता मोर्चाको बैठक बस्न सकेको छैन। मोर्चाको नेतृत्व नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरिरहेका छन् । साउन १ को बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै भावी योजना बनाउने गरी दस्ताबेज लेख्नको लागि चार सदस्यीय कार्यदल बनाएको थियो ।

१५ दिनभित्र दस्ताबेज टुंग्याउनेगरी माओवादीबाट देव गुरुङ, नेकपा एसबाट प्रमेश हमाल, नेकपाबाट नेता खड्ग विश्वकर्मा, नेपाल समाजवादी पार्टीबाट गंगानारायण श्रेष्ठ सदस्य रहेका छन् ।

दस्ताबेज लेख्नको लागि कार्यदलको पटक पटक बैठक बसेको भए पनि टुंगिन सकेको छैन । दस्ताबेजबारे मोर्चाभित्र छलफल चलिरहेको कार्यदल सदस्य श्रेष्ठले बताए। पार्टीहरूको आन्तरिक बैठकहरू भएकाले कारणले दस्ताबेज टुंग्याउने ढिलाइ भएको उनको भनाइ छ ।

गतिविधि ठप्प भएपछि संयोजक विप्लवले मोर्चामा आबद्ध दलका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् । विप्लव हालै मात्रै माओवादीका उपमहासचिव जनार्दन शर्मा र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन् ।

दुई नेताहरुबीचको भेटमा मोर्चालाई थप सक्रिय बनाएर लानेबारे छलफल भएको बताइएको छ । सबै दलका नेताहरूसँग छलफलपछि उनले मोर्चाको बैठक राख्ने तयारी पनि गरेका छन् ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा २०८० असार ४ गते नेकपा एस, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपालाई समेटेर मोर्चा घोषणा गरेका थिए। तर, प्रचण्ड प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी ओलीसँग मिलेर पार्टी फुटाएको भन्दै उपेन्द्र यादव नेतृत्व जसपा नेपाल मोर्चाबाट अलग भएका छन्।

यद्यपि, उनलाई पुनः समेट्ने गरी छलफल भइरहेको नेकपा एसका सचिव सोम पाण्डेले बताए। उनीबाहेक विचार मिल्ने दलहरूलाई पनि समेट्ने प्रयास प्रचण्डको छ। मोर्चालाई पार्टी एकताको तहसम्म पुर्‍याएर पूर्वमाओवादी घटकलाई जोडेर पुन शक्तिमा फर्किने प्रचण्डको रणनीति छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर