कावा पाएका वडाध्यक्षले मेयरकै कार्यकक्षमा राखे टेबलकुर्सी, कानून साम्पाङले जान्ने तर्क – Nepal Press
धरान उपमहानगर

कावा पाएका वडाध्यक्षले मेयरकै कार्यकक्षमा राखे टेबलकुर्सी, कानून साम्पाङले जान्ने तर्क

विराटनगर । धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्र टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् । उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११ नम्बर वडाध्यक्ष फागोले हिजोबाट कामकाज थालेका हुन् ।

मामा ससुरा नाता पर्ने वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर हर्क साम्पाङ श्रीमती र छोरासहित लन्डन उडेका छन् । हिजो साम्पाङको कार्यकक्षमा ताला थियो । आज भने ताला खोलेर फागो त्यहीा बसेर काम गरिरहेका छन् । केही सिफारिसहरूमा तोक लगाएको उनले बताए ।

फागोले भने, ‘सेवाग्राहीहरू कम आएका छन् आएकाहरूको अधिकारले पाएसम्मको काम गरिरहेको छु । ’

आफू कार्यालयभन्दा बढी फिल्डमा खटिएको भन्दै उनले नेपाल प्रेससँग भने, ‘मैले मागेर लिएको होइन । मेयरले दिनु भयो मैले मेयरले दिएको जिम्मेवारी निर्वाह गरिरहेको छु ।’

उनले प्रमुख प्रशासकीयसँगको सल्लाहमा आफूले सिफारिसहरूमा तोक लगाउने काम गरिरहेको बताए ।

फागोले थपे,‘कानून हेरेर नै मेयर सा’बले मलाई जिम्मेवारी दिनु भएको होला । कानून अनुसार छ छैन उहाँले जान्ने हो । मैले होइन ।’

‘मेयर सा’बले मलाई कावा दिएर हिँडेपछि विवाद सुरू भएको छ । मलाई पनि काम गर्न समस्या होला भन्ने लागेको थियो । मेयर साप धरानमा भइन्जेल कसैले छलफल गर्नु भएन अहिले नभएपछि विवाद झिकिएको छ । उहाँ हुँदा हुँदै छलफल गरेको भए समस्या समाधान हुन्थ्यो’, उनले भने ।

आफूलाई कार्यवाहकको जिम्मेवारी दिएको विषयको जिम्मा मेयर सापले नै लिने भन्दै फागो भन्छन्, ‘ मैले मागेर पाएको होइन । उहाँले विश्वास गरेर दिनुभयो । उहाँले पनि कानून हेरेर दिनुभएको होला । यसबारेमा मेरो केही भन्नु छैन ।’

वडाध्यक्ष फागो भन्छन्, ‘तपाईँलाई पनि सबै कुरा थाहा नै छ । मलाई किन कानूनको कुरा भन्न लाउनु हुन्छ ? मैले अह्राएको काममात्रै गरेको हो । अहिले म हानेको ढुंगा भएको छु ।’

वडाध्यक्ष फागो नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । उनी कार्यवाहक तोकिएको विषयमा नेपाली काङ्ग्रेस धरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

हिजो कांग्रेस बाहेक धरानमा क्रियाशील ६ दलले मेयर कदम कानूनविपरीत र नीच भएको टिप्पणी गरेका थिए ।

आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको पत्र थमाएपछि उपमेयर आइन्द्रविक्रम बेघाले भने कानूनी उपचार खोज्ने बताएका छन् । उनले कानूनको रक्षका लागि अदालत जाने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *