टी-२० सिरिज भोलिबाटः आयातित खेलाडीले भरिभराउ अमेरिकालाई बुझ्ने अवसर – Nepal Press

टी-२० सिरिज भोलिबाटः आयातित खेलाडीले भरिभराउ अमेरिकालाई बुझ्ने अवसर

काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा सुरु हुनेछ ।

नेपालले पहिलो पटक अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि गत जुन जुलाईमा भएको टी–२० विश्वकपको वामअप खेल तय भएपनि वर्षाका कारण प्रभावित भएको थियो ।

ओडिआईमा ७ पटक खेलका यी दुई टोली पहिलोपटक टी–२०आईमा भिड्न लागेका हुन् । ७ ओडिआईमा नेपालले ४ खेलमा जित निकाल्दा २ खेल गुमाएको छ । एक खेल भने नतिजाविहीन छ । सन् २०२० मा भएको एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको थियो ।

नेपालले अमेरिकासँग ३ टी–२० खेल खेल्नेछ । दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ । त्यसपछि भने अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिज हुनेछ । उक्त सिरिज अक्टोबर २५ बाट सुरु हुनेछ ।

नेपालले पछिल्लो पटक अमेरिकासँग गत वर्षको असारमा प्रतिष्पर्धा गरेको थियो । एकदिवसिय विश्वकप क्वालिफायर अन्तर्गतको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । एक वर्षअघि र अहिले अमेरिकाको टोलीमा अधिकांश खेलाडी परिवर्तन भएका छन् । अमेरिकाले गत जुन जुलाईमा घरेलु मैदान र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकपमा लागि बलियो तयारी गरेको थियो ।

अमेरिकाले भारत, पाकिस्तानको जुनियर टोलीबाट खेलिसकेका खेलाडीलाई समेटेर मजबुत टोलीका साथ विश्वकपमा सहभागी भएको थियो । पाकिस्तानलाई हराएर सनसनी मच्चाएको अमेरिकाले सुपर ८ को यात्रासम्म तय गरेको थियो ।

अहिले अमेरिकाको कप्तानी गरिरहेका मोनक पटेल भारतका हुन् । भारतमा जन्मिएका उनले उमेर समूहमा भारतबाटै खेलेका थिए । यसबाहेकका अधिकांश खेलाडी पनि आयातित हुन् ।

नेपालसँग टी–२०आई सिरिज खेल्न अमेरिकाले मोनकको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरेको छ । टोलीमा यसअघि नेपालसँग खेलेको ५ खेलाडीमात्र समावेश छन् । तसर्थ अमेरिकाविरुद्ध यो सिरिज नेपालका लागि सिरिज मात्र हुने छैन । खेलाडी चिन्ने अवसर पनि हुनेछ । अमेरिकन खेलाडीको खेल शैलीसँगै मैदानलाई बुझ्न नेपाली खेलाडीलाई यो सिरिजले सहयोग पुग्नेछ ।

टी–२० सिरिज लगत्तै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग–२ अन्तर्गतको एकदिवसीय सिरिज खेल्नेछ । लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज एकदमै महत्वपूर्ण र चूनौतीपूर्ण छ । ८ खेलमा नेपालले मात्र एक खेलमा जित हासिल गरेको छ । ८ खेलमा ६ जितसहित अमेरिका दोस्रो र ७ खेलमा ४ जितसहित स्कटल्यान्ड पाँचौं स्थानमा छ ।

सातौं स्थानमा रहेको नेपालले लिग–२ मा लगातार खराब प्रदर्शन गरिरहेको छ । विश्वकप क्वालिफायर खेल्न र एकदिवसीय मान्यता जोगाइराख्न शीर्ष ४ मा अटाउनुपर्ने हुन्छ । पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरिका र बलियो स्कटल्यान्डलाई हराउन नेपाललाई सहज भने हुने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *