अन्तरिक्षकी चिनियाँ गुरुआमा
काठमाडौं । सन् १९८० जनवरीमा जन्मेकी वाङ याफिङले सानामा देखेको डाक्टर सपना पूरा गरिनन् । सन् १९९९ मा पहिलो जहाज उडाएर उनी पाइलट भइन् । कक्षा चारमा हुँदा दौडमा उनी दोस्रो भएकी थिइन् । चिनियाँ महिला अन्तरिक्षयात्रीको दौडमा पनि उनी दोस्रो नै भइन् । सन् २०१२ मा लिउ याङ प्रथम चिनियाँ महिला अन्तरिक्षयात्री हुँदा उनले २०१३ मा ‘सन्चौँ-१०’ अन्तरिक्षयानबाट ‘थियाङकोङ-१’ अन्तरिक्ष स्टेसनमा प्रवेश गरेर अन्तरिक्षको यात्रा गरिन् ।
उनी दोस्रोमात्रै भइनन्, पहिलो पनि भइन् । जस्तो स्कुल पढ्दा सात हजार मिटरको दौडमा उनी प्रथम भएकी थिइन्, अन्तरिक्षमा कक्षा लिने चिनियाँ प्रथम अन्तरिक्ष महिला उनै भइन् । उनले सन् २०१३ जुन २० मा विज्ञान शिक्षाको कक्षा लिइन् ।
स्पेस वाक गर्ने प्रथम चिनियाँ महिला पनि उनै भइन् । उनले सन् २०२१ नोभेम्बर ८ मा उक्त रेकर्ड बनाएकी हुन् । वाङ याफिङ विद्यालय शिक्षा सकेर गाँउमै शिक्षक बनुन् भन्ने आमाबाबुको सपना थियो । उनले चीनको सान्दोङ प्रान्तको फुसान जिल्लाको गाँउ चाङचेचुआङमा शिक्षक बन्ने आमाबुबाको सपना पूरा गरिनन् । तर, चीनको पहिलो अन्तरिक्ष शिक्षक हुने देशको सपना भने पूरा गरिन् ।
अहिले उनी चीनमा त लोकप्रिय छन् नै, विश्वको चासोको केन्द्र बनेकी छन् । वाङ याफिङका समाचार, डकुमेन्ट्रीदेखि किताबहरू प्रकाशन भएका छन् । त्यसमा एक हो- चाओ यानले लेखेको र दिङ केचियाले अंग्रेजीमा अनुवाद गरेको उनको जीवनी ‘चाइनाज फर्स्ट फिमेटल टिचर इन स्पेस’ यसलाई नेपाली भावानुवाद गर्दा अन्तरिक्षकी प्रथम चिनियाँ गुरुआमा भन्न सकिन्छ । यो जीवनी एक व्यक्तिको सफलताको कथामात्रै होइन । यो चीनदेखि एसिया एक महादेशकै सफलताको कथा पनि हो ।
चीनको कृषक परिवारमा जन्मेकी वाङले उच्च मावि पढ्दा कक्षामा चस्मा नलाउने एक्ली छात्रा भएकोले उनले चीनको महिला पाइलटहरूको सातौँ व्याचको सदस्यमा आवेदन दिन हौसला पाइन् । उनले आवेदन दिइन्, सफल पनि भइन । यसले उनको पाइलट करिअर बन्यो । पाइलट हुँदा उनले २००८ मा सिचुआन प्रान्तको भूकम्पको उद्धारमा होस् वा २००८ कै बेइजिङ ओलम्पिकमा बादल धपाउने पाइलटको रूपमा काम गरेको ऐतिहासिक अनुभव लिएकी छिन् । पाइलटको रूपमा भन्दा उनले अन्तरिक्षयात्रीको रूपमा भने आफ्नो ब्राण्ड बनाउन सकिन् ।
वाङको कथाले बदलिँदो चीनको चित्र देखाउँछ । के चार दशक अगाडि वाङजस्तो कुनै गाउँको विद्यालय पढ्ने छात्राले पाइलटदेखि अन्तरिक्षयात्री हुन सक्ने सपना देख्न सक्थे ? सक्दैनथे । त्यसैले यो वाङको निजी सफलता कथामात्रै होइन । के सोभियत संघका युरिगागरिन पहिलोपटक अन्तरिक्ष पुग्दा होस् वा अमेरिकाका बज एल्ड्रिल र निल आर्मस्ट्रङ चन्द्रमामा पुग्दा युरोप र अमेरिका बाहिर एसियाबाट यसैगरी अन्तरिक्ष पुग्ने सपना कसैले देखेको थियो ? सायद थिएन । त्यसैले यो एसियाली सफलताको पनि कथा हो ।
चीनको होप पब्लिसिङ हाउसले प्रकाशन गरेको वाङको कथामा कृषक परिवार, घरकी जेठी छोरीदेखि पाइलट श्रीमानसँगै भएको विवाह अनि अन्तरिक्ष यात्रु हुँदा श्रीमानले जागिरबाट बिदा लिएर गरेको सहयोगदेखि अन्तरिक्ष यात्रु हुँदाका दुःख र उत्साहको कथामात्रै छैन । पुस्तकमा विश्वभरका अन्तरिक्ष महिला शिक्षकसँगको कथादेखि उनले अन्तरिक्ष र स्वदेशको तुलना गरेको रोचक किस्सा पनि छन् । उनले भनेकी छिन्, ‘भुँइमा हुँदा मात्रीभूमि घर हो । अन्तरिक्ष सपना हो । अन्तरिक्ष हुँदा अन्तरिक्ष घर हो । मात्रिभूमि सपना हो ।’
अन्तरिक्ष कक्षा लिँदा उनले हास्यबाट सुरू गरिन् । पृथ्वीबाट ३०० किलोमिटर माथिको अन्तरिक्ष स्टेसनबाट कक्षा लिनु अगाडि उनले सहकर्मी अन्तरिक्षयात्रु निए हइसङलाई हत्केलाले एक धक्का दिइन् । गुरुत्वाकर्षण नहुने भएकोले उनी उडेर सरर पर पुगे । पृथ्वीमा हुने ८० हजार चिनियाँ विद्यालयका करोडौं विद्यार्थीले यो देखिरहेका थिए । यत्ति गरेर उनले भनिन्, ‘अन्तरिक्षमा हामी सबै कङ्फू मास्टर्स हौँ ।’
अमेरिकी स्कुले शिक्षक बार्बरा मोर्गनले सन् २००७ अगस्ट १४ मा अन्तरिक्षबाट कक्षा लिइन् । त्यसको ठिक छ वर्षमै वाङले चिनियाँहरूलाई कक्षा लिइन् । बार्बराले २५ मीनेर र वाङले चालिस मिनेट कक्षा लिएका थिए । यी दुवैको प्रेम पनि रोचक तरिकाले किताबमा लेखिएको छ । वाङले कक्षा लिन लागेको थाहा पाएपछि बार्बराले सन् २०१३ जुन १३ मा पत्र लेखेर बधाई र शुभकामना दिँदै भनेकी छिन, ‘सायद तिमी आफ्नो काममै अन्तरिक्षमा व्यस्त हुने छौँ । तर, समय निकालेर बाहिर पनि हेर्नु । चीन र विश्व अभूतपूर्व सुन्दर छन् ।’
कक्षा सकेर जुन २० मा वाङले उत्तर फर्काउँदा लेखेकि छिन्, ‘मैले उडान भरिनै हाम्रो घर पृथ्वीलाई पटकपटक हेरिरहेँ ।’
विज्ञान र प्रविधिको शिक्षामा आम विद्यार्थीहरूको चासो र चर्चा बढाउन अन्तरिक्ष कक्षा विद्यालयमा लान सुरू गरिएको हो । यसको आरम्भ अमेरिकाबाटै भएको हो । चीनले त्यसको सफल प्रयोग गरेर एसियामा उदाहरण पेस गरेको छ । जनसंख्या, अर्थतन्त्रदेखि अन्तरिक्ष शक्तिमा विश्वको शीर्ष देशहरूको सूचीमा चीन अटाएको छ । चीनको यो सूचीलाई चर्चित बनाउन वाङहरूको योगदान महत्वपूर्ण छ ।
नेपालमा बसेर अन्तरिक्ष सपना देख्न त सकिन्न । तर, चीनजस्तो अन्तरिक्ष शक्तिसँग सहकार्य गर्न भने सकिन्छ । चीनको अन्तरिक्ष स्टेसनमा अफ्रिकि देशका कलाकृति प्रदर्शनदेखि पाकिस्तानसँग अन्तरिक्षका सहकार्यहरू भएका छन् । नेपालले विज्ञान कूटनीतिबाट यस्ता क्षेत्रमा आफ्ना मेधावी विद्यार्थी जोड्न बाटो देखाउन सक्छ । त्यसको पहिलो सर्त भनेको चीनको अन्तरिक्ष सफलता कथाहरू सुन्नु पढ्नु हो । त्यसको लागि वाङको यो अंग्रेजीमा आएको किताब एक ग्रन्थ बन्न सक्छ ।