छलाङ मार्दै महिला: राजनीतिमा उत्साहबर्द्धक, निजामतीमा बढ्दैछ उपस्थिति – Nepal Press

छलाङ मार्दै महिला: राजनीतिमा उत्साहबर्द्धक, निजामतीमा बढ्दैछ उपस्थिति

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । यसमध्ये महिला एक करोड ४९ लाख ११ हजार २७ छन्, जुन कुल जनसंख्याको ५१.१ प्रतिशत हो । यो पुरुषभन्दा महिला ६ लाख ५७ हजार ४७६ बढी पनि हो । दश वर्षअघि २०६८ सालको जनगणनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ र ५१.५ प्रतिशत थियो ।

जनसंख्यामा महिला बढी भए पनि आर्थिक, सामाजिक, राजनीतिक एवं प्रशासनिक क्षेत्रमा भने तुलनात्मक रूपमा पुरुषभन्दा कमजोर रहेको राष्ट्रिय महिला आयोगको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले देखाएको छ । सरकारले महिलाको आर्थिक स्वतन्त्रतालाई बढावा दिन सकारात्मक विभेदको नीति अघि सारेको छ । त्यसयता औपचारिक र अनौपचारिक क्षेत्रमा महिलाको संख्या बढ्दै गएको राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिमा उत्साहबर्द्धक महिला सहभागिता

प्रतिवेदनअनुसार संघीय कानून निर्माण गर्ने थलो संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३.१ प्रतिशत छ । प्रदेश कानून निर्माण गर्ने थलो प्रदेशसभामा संघीय संसदमा भन्दा ३ प्रतिशतले बढी ३६.३६ प्रतिशत छ ।

संघ र प्रदेशभन्दा स्थानीय तहमा महिलाको सहभागिता बढी रहेको छ । यहाँ ४१.८ प्रतिशत महिला उपस्थिति छ । निजी क्षेत्रको नीति निर्माण तहमा महिलाको सहभागिता २९.६१ प्रतिशत रहेको छ ।

घरमूली भएका महिलाको प्रतिशत ३१.५५ प्रतिशत रहेकोमा महिलाको स्वामित्वमा घरजग्गा एवं सम्पत्ति जनसंख्याको २३.८ प्रतिशतमात्रै रहेको छ । रोजगारीमा रहेको महिलाको प्रतिशत २२.९ प्रतिशत छ, जसमा ग्रामीणमा १८.६७ र शहरी क्षेत्रमा २५.३ प्रतिशत रहेको छ ।

यस्तै मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा १५० जना रहेको छ । लैंगिक असमानता सूचक ०.४५ प्रतिशत छ । महिलाको साक्षरतादर ६९.४ प्रतिशत रहेको छ । लैंगिक उत्तरदायी बजेटको अवस्था ४०.२५ प्रतिशत रहेको छ भने महिलाको श्रमशक्तिमा सहभागितादर २६.३ प्रतिशत रहेकोमा जसमा ग्रामीण क्षेत्रमा २१ र शहरी क्षेत्रमा २९.३ प्रतिशत रहेको छ ।

न्याय क्षेत्रमा २५ प्रतिशत

न्याय सेवामा कार्यरत राजपत्रांकित विशिष्ट श्रेणी अर्थात मुख्य रजिष्ट्रारदेखि राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतसम्म एक हजार ४८४ कर्मचारीमा महिलाको संख्या २५ प्रतिशत अर्थात ३८४ जना रहेको छ । मुख्य रजिष्ट्रार एउटा पदमा पुरुष कर्मचारी हुँदा सचिवसरहको रजिष्ट्रार पदमा ११ जना कार्यरत रहेकोमा एक महिला छिन् ।

यस्तै सहसचिवसरहको सहरजिष्ट्रार पदमा कानून र न्याय समूहतर्फ ४७ जना कार्यरत रहेकोमा १० प्रतिशत अर्थात ५ जना महिला छन् । न्याय समूहतर्फ २० जना कार्यरत रहेकोमा २ महिला र कानून समूहतर्फ २२ जना कार्यरत रहेकोमा ३ महिला छन् । उपसचिवसरहमा न्याय, कानून तथा सरकारी वकिल समूहतर्फ ४५० कर्मचारीमा १३ प्रतिशत अर्थात ६१ जना महिला छन् । यी तीन वटै समूहमा शाखा अधिकृतसरहमा ९७५ कर्मचारीमध्ये ३२ प्रतिशत अर्थात ३१७ जना महिला छन् ।

निजामती सेवामा २८ प्रतिशत

सरकारले सकारात्मक विभेदको नीति अवलम्बन गरेपछि निजामती सेवामा महिलाको सहभागिता बढ्दो छ । राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार ८५ हजार १०७ निजामती कर्मचारीमध्ये पुरुष ६० हजार ६९६ अर्थात ७१.४ प्रतिशत छ । महिला कर्मचारीको संख्या २४ हजार ४११ अर्थात २८.६ प्रतिशत रहेको छ । निजामती सेवामा नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी हुने विशिष्ट श्रेणीमा भने महिलाको संख्या एकदमै न्यून छ ।

२०१२ सालदेखि अहिलेसम्म ६९ वर्षको अवधिमा २८ जना मुख्यसचिव बनिसक्दा बल्ल एकजना महिला मुख्यसचिव बनिन् । हालै मुख्यसचिव बनेकी लीलादेवी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेकी छन् ।

विशिष्ट श्रेणीमा ७० जनाको दरबन्दी रहेकोमा एक जनाको रिक्त छ । बाँकी ६९ जना विशिष्ट श्रेणीको पदमा बहाल रहँदा ८ प्रतिशत अर्थात ६ जना महिला छन् । जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राधिका अर्याल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सरिता दवाडी, परराष्ट्र मन्त्रालयमा सेवा लम्साल, महालेखापरीक्षकको कार्यालयमा उपमहालेखापरीक्षक विन्दू बिष्ट, खानेपानी मन्त्रालयको सचिवमा प्रमिलादेवी बज्राचार्य र उपराष्ट्रपति कार्यालयको सचिवमा लक्ष्मीकुमारी बस्नेत छन् ।

राष्ट्रिय कितावखानाका अनुसार ६६० जना सहसचिवमा ८ प्रतिशत अर्थात ५५ जना महिला छन् । सहसचिवसरहको अधिकृत बाह्रौं र एघारौं तहका १६० कर्मचारीमध्ये महिला २२.५ प्रतिशत अर्थात ३६ जना छन् । राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा ३ हजार ६१ जना कार्यरत रहेकोमध्ये १२ प्रतिशत अर्थात ३८६ महिला छन् ।

उपसचिवसरहका अधिकृत दशौं र नवौं तहमा कार्यरत ४२६ कर्मचारीमध्ये महिला २६.५२ प्रतिशत अर्थात ११३ जना छन् । शाखा अधिकृतस्तरका ८ हजार ४८३ कर्मचारीमध्ये करिब २१.३३ प्रतिशत अर्थात एक हजार ८१० जना महिला छन् ।

स्वास्थ्य सेवाको पाँचौ र चौथो तहमा सबैभन्दा बढी महिला छन् । पाँचौं तहमा १३ हजार ८४४ कर्मचारीमध्ये महिलाको संख्या ४१.८९ प्रतिशत अर्थात ५ हजार ८०० रहेको छ । चौथो तहमा ११ हजार ७४ कर्मचारीमध्ये ४७.५८ प्रतिशत अर्थात ५ हजार २७० जना महिला छन् । सहायक पाँचौंका हजार ९० कर्मचारीमध्ये ७० प्रतिशत अर्थात १ हजार ४७४ जना महिला छन् ।

यस्तै सहायक चौंथोमा ६८८ कर्मचारीमध्ये ५४ प्रतिशत अर्थात ३७३ जना महिला छन् । सम्भवतः स्वास्थ्य सेवाको नर्सिङमा महिलाको नै दरबन्दी बढी भएका कारण पाँचौं र चौथो तहमा महिलाको संख्या बढी देखिएको हो ।

प्रहरीमा १३ प्रतिशत

नेपाल प्रहरीमा हाल ६७ हजार ३६ कर्मचारी छन् । जसमध्ये ८६.७६ प्रतिशत पुरुष र १३.२४ प्रतिशत अर्थात आठ हजार ८७५ महिला छन् । प्रहरीतर्फ उच्च पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा एक जना महिला छिन् । प्रहरी महानिरीक्षपछिको दोस्रो वरियताको प्रहरी एआईजीको ७ पदमा किरण बज्राचार्य रहेकी छन् ।

बहालवाला २४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा दुर्गा सिंह र किरण राणा दुई जना महिला छन् । यस्तै ६६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा चार, १६२ प्रहरी उपरीक्षक (एसपी)मा ६, ४१२ प्रहरी नायब उपरीक्षक (डीएसपी)मा ३८ र १ हजार २४२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा १६२ जना महिला छन् ।

अधिकृतभन्दा तल १ हजार २६७ वरिष्ठ सईमा १२७, २ हजार ४६५ सईमा २१०, ६ हजार ८०१ असईमा ५२६, ३ हजार ४४५ प्रहरी वरिष्ठ हबल्दारमा १९६, १० हजार ४२ प्रहरी हवल्दारमा १ हजार २९, १३ हजार ५०३ प्रहरी सहायक हवल्दारमा १ हजार ६२७, २५ हजार २०६ जवानमा ४ हजार ४४३ र २ हजार ३९३ प्रहरी कार्यालय सहयोगीमा ५२४ जना महिला छन् ।

सशस्त्र प्रहरी बलमा ९ प्रतिशत

सशस्त्र प्रहरी बल नेपालको ३६ हजार ३८२ कर्मचारीमध्ये ९०.२७ प्रतिशत अर्थात ३२ हजार ८४४ पुरुष र ९.७३ प्रतिशत अर्थात ३ हजार ५३८ जना महिला छन् । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) १, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ३ र सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) १८ जनाको दरबन्दीमा महिला उपस्थिति शून्य छ ।

४१ जनाको दरबन्दी रहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा २.४३ प्रतिशत अर्थात १ जना महिला छिन् । प्राविधिकतर्फ डा.मीना कुवँर एसएसपी छिन् । उनी एपीएफ अस्पताल बलम्बुमा कार्यरत छिन् ।

यस्तै १६३ दरबन्दी रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा १.८४ प्रतिशत अर्थात ३ जना महिला छन् । डा.समृद्धि बस्नेत, सौजन्य कर्माचार्य र सुमित्रा थापा तीनै जना एपीएफ अस्पताल बलम्बुमा कार्यरत छन् । सशस्त्र प्रहरी बलको प्रशासन एवम् साधारण समूहतर्फ एसपीभन्दा माथि एक जना पनि महिला छैनन् । ४६२ जनाको दरबन्दी रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा ५.४१ प्रतिशत अर्थात २५ र ९७५ दरबन्दी रहेको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ४.७१ प्रतिशत अर्थात ४६ जना महिला कार्यरत छन् ।

अधिकृतभन्दा तल सबैभन्दा बढी सशस्त्र प्रहरी जवानमा महिलाको सहभागिता १४.८४ प्रतिशत छ । १३ हजार ६७१ जवानमा २ हजार ५३ जना महिला छन् ।

सेनामा प्रमुख सेनानीभन्दा माथि महिला शून्य

नेपाली सेनामा सामान्यतर्फ प्रमुख सेनानीदेखि महासेनानी, सहायक रथी, उपरथी, रथी हुँदै महारथी अर्थात प्रधानसेनापतिमा महिला शून्यको स्थिति छ । प्राविधिकतर्फ उपरथी र रथीमा महिलाको संख्या शून्य भए पनि सहायक रथीसम्म महिला पुगेकी छन् । प्राविधिकतर्फ ७ सहायक रथी, १३ महासेनानी, २७ प्रमुख सेनानी छन् ।

यस्तै कानूनीतर्फ सहायक रथी र महासेनानी एकएक तथा प्रमुख सेनानी दुई जना महिला छन् । सबै सेवातर्फ गरेर सहायक रथीमा ८, महासेनानीमा १४, प्रमुख सेनानीमा ३१ जना छन् । सेनानीतर्फ सबैभन्दा बढी सामान्यतर्फ १०, प्राविधिकतर्फ ४७, कानूनीतर्फ २ र लेखातर्फ १ गरेर १५६ जना छन् । कार्यवाहक सेनानी भने प्राविधिकतर्फ एक जनामात्रै महिला छिन् । सहसेनानीमा सबैभन्दा बढी प्राविधिकतर्फ ८४, सामान्यतर्फ ६५, लेखातर्फ ६ र कानूनीतर्फ एक जना छन् । कार्यबाहक सहसेनानीमा सामान्यतर्फ ८ जना छन् ।

अधिकृतस्तरको तल्लो तह उपसेनानीमा सबैभन्दा बढी सामान्यतर्फ ३८, प्राविधिकतर्फ २६, लेखातर्फ ७ र कानूनीतर्फ २ गरेर ७३ जना महिला कार्यरत छन् ।

स्वास्थ्यमा सबैभन्दा उल्लेखनीय

अन्य क्षेत्रको तुलनामा स्वास्थ्यमा महिला सहभागिता उल्लेख्य पाइएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार १० हजार ५८८ विशेषज्ञमा पुरुष ७ हजार ४६७ र महिला २९.४७ प्रतिशत अर्थात ३ हजार १२१ जना छन् । विशेषज्ञभित्र पनि ९ हजार ८२३ एमडी तथा एमएसमा पुरुष ७ हजार ६३ र महिला २८.०९ प्रतिशत अर्थात २ हजार ७६० छ । ७६५ एमडीएसमध्ये पुरुष ४०४ रहेकोमा महिला ४७.१८ प्रतिशत अर्थात ४०४ जना छन् ।

यस्तै ३४ हजार ९१० चिकित्सकमध्ये २१ हजार ६८१ पुरुष रहेकोमा महिला ३७.८९ प्रतिशत अर्थात १३ हजार २२९ जना छन् । चिकित्सकभित्र ३० हजार २७ एमबीबीएसमध्ये पुरुष १९ हजार ९५४ र महिला ३३.५४ प्रतिशत अर्थात १० हजार ७३ छन् । बीडीएसतर्फ ४ हजार ८८३ जनामा पुरुष एक हजार ७२७ र महिला ६४.६३ प्रतिशत अर्थात ३ हजार १५६ छन् ।

नर्सिङमा शत प्रतिशत

नर्सिङ पेसा प्रायः महिलाले अपनाउने भएकाले उनीहरुको संख्या शत प्रतिशत नै देखिएको छ । नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार विशेषज्ञदेखि विदेशी नर्ससम्म गरेर १ लाख २२ हजार ३१३ जनामा शत प्रतिशत महिला छन् । विशेषज्ञ तहमा १ हजार ५०७, नर्स ८२ हजार ४७१, मिडवाइफ ६६, एएनएम ३७ हजार ४२० र विदेशी नर्स ८४९ जना कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *