बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ: गृहमन्त्री लेखक – Nepal Press

बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको १४ औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताए ।

बाढीपहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उनले उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको बताए ।

गृहमन्त्री लेखकका अनुसार असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनःस्थापना र पुनर्निर्माणको काम भइरहेको छ ।

उनले भने, ‘एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुनेगरी निर्णय गर्न आवश्यक छ । पुनड्पडट्नाठथा र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ ।’

विपद्मा सीमित स्रोतसाधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोतसाधनको आवश्यकता रहेको औ‌ल्याए । विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकले अति क्षति भएको पालिकालाई १ करोड, मध्यम क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *