ढकमक्क फुल्न थाले सयपत्री, चिस्यान केन्द्र नहुँदा समस्या – Nepal Press

ढकमक्क फुल्न थाले सयपत्री, चिस्यान केन्द्र नहुँदा समस्या

दाङ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् ।

उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहे‍ंलै भएका छन् ।

भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लागेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्छन् ।

कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लागेका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका छन् ।

घोराही-१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक दुई हजार भाडामा लिएर उनीहरूले फूलखेती गरिरहेका छन् । गत वर्ष तिहारमा मात्रै १३ लाखको फूल बिक्री गरेको साउदले बताए ।

तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरूको छ ।

उनीहरुले दुई वर्ष अगाडि कर्मा-५५५ जातको सयपत्री फूलबाट खेती सुरु गरेका थिए । यसपाली कर्मा ५५५, कर्मा-९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए ।

‘यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौं’, उनले भने, ‘यसपालि दुई लाखको बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर प्रतिगोटा  दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।’

स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउँछन् । उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राखेका छन् ।

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समयसम्म राख्न समस्या भएको उनले बताए ।

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनले बताए ।

फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।

रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर