राजनीति, संस्कृति अनि इतिहासका ज्ञाता माल्दाई – Nepal Press

राजनीति, संस्कृति अनि इतिहासका ज्ञाता माल्दाई

विवाहपछि स्कुल गएर एमए पास, पढाउँदै राजनीति गर्दै जनताको घरमा बास

रुपन्देही । झपेन्द्रबहादुर घर्तिक्षेत्री ‘माल्दाई’राजनीतिज्ञ मात्रै होइनन् संस्कृति, भूगोल, सहकारी क्षेत्रको उस्तै जानकार हुन् । पाल्पाको मदनपोखरामा २०१० साल पुस २७ गते जन्मेका उनी हरेक विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने क्षमता राख्दछन् ।

उमेरले ७२ वर्ष पुगेका उनले जीवनका मुख्य ऊर्जावान समय राजनीति, सामाजिक सेवा र सांस्कृतिक तथा इतिहास क्षेत्रको अध्ययनमै बिताएको बताउँछन् ।

अझै रोचक विषय त विवाहपछि अध्ययन सुरु गरेर एमए पास गरेर समकालीन साथीहरुलाई आश्चर्यमा पारेका थिए ।

‘२०२३ सालको माघमा बिहे गरेको हुँ, त्यसपछि पढाई चाहिने महशुस भयो, २५ सालमा एकैपटक ३ कक्षामा भर्ना भएर कक्षा फड्को मार्दै ५ वर्षमा एसएलसी पास गरेको हुँ, त्यसपछि प्राइभेट अध्ययन गर्दै पार्टीको काम गर्दै विभिन्न स्कुलमा पढाउँदै २०३८ सालमा राजनीति शास्त्रमा एमए पास गरेको हुँ’ उनले भने–‘म परीक्षा दिएको विषयमा कहिले फेल भइन, सबै आश्चर्यमा पर्थेकसरी पास हुन्छ भनेर ।’

प्राइभेट जाँच दिएर, आफै कमाएर स्वअध्ययनले उनलाई डिग्रीहोल्डर बनाएको हो । पढाईमा अब्बल रहेका उनले त्यसैलाई आधार बनाएर खोज,अनुसन्धानमा खास रुचि राख्दछन् ।

तत्कालीन जिल्ला विकास समिति पाल्पाका सभापति भइसकेका उनलाई पाल्पालीहरुले सभापति नै भनेर बोलाउँछन् अहिले पनि । सबै क्षेत्रका जानकार भएकाले पनि उनलाई धेरै प्रकारले चिन्ने गर्दछन् । दुई वर्षअघि प्यारालाइसिस भएपनि उनले बैशाकीको सहारामा विभिन्न ठाउँमा पुगेर आफ्नो अभियानमा निरन्तर लागेका छन् ।

अध्ययन अनुसन्धानका लागि विभिन्न कार्यक्रममा पुगेर उनले प्रशिक्षण अहिले पनि दिइरहेका छन् । केही समय यता छोराबुहारीसँगै बुटवलमा बस्दै आएका छन् । ‘मैले समाजका लागि धेरै गर्नुछ, मैले जानेका सिकेका धेरै विषयलाई लिपिवद्ध गर्नुछ, त्यही कारण पनि म स्वास्थ्य समस्या भएर पनि काममा खटिरहेको छ’ उनले भने ।

कसैले राजनीतिज्ञ,कसैले सभापति अर्थात् नेता,कसैले साहित्यकार,कसैले संस्कृतिकर्मी,कसैले पर्यटनविद् अनि कसैले गाउँका कुरा देख्ने र लेख्ने लेखक पनि भन्छन् । प्रलेकस पाल्पाका अध्यक्ष भइसके उनी । उनी सहकारीकर्मी भएर पनि पाल्पामा अभियान चलाए । साझाको व्यवस्थापक भएर काम गरे ।

नेकपा एमालेमा लामो समय काम गरेका उनी पार्टीको केन्द्रीय अनुशासन कमिटीको सदस्य छन् । उनी पार्टीको मात्रै होइन बोलाएका सबै कार्यक्रममा पुग्छन् । घरमा माइलो भएकाले गाउँमा मात्रै होइन पार्टीमा पनि उनलाई माल्दाइ भनेर चिनिन्छन् ।

माल्दाइ गएको प्रदेशको निर्वाचनमा पाल्पाबाट उम्मेदवारको चर्चामा रहेपनि पाएनन् । पछि राष्ट्रिय सभाको सदस्यमा उम्मेदार बनेपनि तत्कालीन रुपमा गठबन्धनमा नपरेपछि उनी पराजित भएका थिए ।

पार्टीबाट धेरै अपेक्षा नगरेको बताउने उनी अहिले बिरामी भएपनि आफूले सकेको काम गरेको र जिम्मेवारी पूरा गरेको बताउँछन् । ‘एकपटक जिविस सभापति बनेकै हो, कर्म गरेपछि फल पाइन्छ भन्ने गीताको सार हो, अब अलिकति बिरामी नि छु, धेरै दौडधुप गर्न सक्दैन, सकेको काम गरेको छु’ उनले भने ।

उनी ०७९ सालमा एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार भएपनि सरकार नै तीन महिनाभन्दा बढी टिकेन । घरमै राजनीतिक वातावरण भएकाले आफू राजनीतिमा लागेको बताउने माइल्दाईले पुष्पलालको पार्टीबाट २०२८ सालमा सदस्यता लिएर पार्टी काममा लागेका हुन् । पार्टी कामकै शिलशिलामा उनले विभिन्न विद्यालयमा ८ वर्षसम्म अध्यापन गरेका थिए ।

उनलाई २०७२ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले तीजपर्वको सांस्कृतिक अध्ययन गर्न जिम्मा दिएको थियो । यो उनको सबैभन्दा बढी मेहनत र रुची भएको सामग्री हो । पाल्पाली संस्कृतिको पहिचान दिनका निम्ति उनले हातीलेक सेरोफेरो मौलिक एवम् सांस्कृतिक पुस्तक लेखेर प्रकाशन गरेका छन् । आजको कोपिला,भोलिका फूल उनको बालकविता संग्रह हो ।

बादशाहको नयाँ पोसाक मौलिक कथा लेखेर छापेका छन् । उनले रुपन्देही सैनामैना नगरपालिकाको आर्थिक एवम् व्यवस्थापकीय सहयोगमा सैनामैना दर्पणको संयोजन एवम् लेखन गरेका थिए । योगसम्बन्धी पद्मपाणी मच्छेन्द्रनाथ पुुस्तक लेखेका छन् । त्यसैगरी तिनाउदेखि टिष्टासम्म, फागु संस्कृति, कलमलगायत थुप्रै पुस्तकहरु लेखेका छन् । छापेका छन् । बाँडेका छन् । पुस्तक बाँड्दा ज्ञान बाँडेका छन् । ज्ञानी बनाएका छन् ।

ज्ञानका धनी बनाएका छन् । इतिहास,दर्शन,संस्कृति,पर्यटनमा उनको खास अध्ययन छ । रुचि हो र लेखनका विषय हुन् उनका ।
अहिले उनी ७२ वर्ष पुगे । दुई वर्षअघि कुनै रोग नभएका उनी एक्कासी प्यारालाइसिस भएर अहिले लठ्ठीको सहारामा हिँड्छन् । पहिले पार्टी संगठन बनाउन गाउँमा हिँडेको, विभिन्न जिल्लाका गाउँगाउँमा बसेको र गाउँलेहरुका नाम र काम कण्ठै बताउँछन् ।

गाउँ घुम्दा,डुल्दाका कथा,व्यथाहरुलाई समेटेर उनले हिँड्दा हिँड्दै संस्मरणात्मक पुस्तक लेखे । पाल्पाबाट बनारससम्म पर्यटन पुस्तक लेखे । तिनाउदेखि टिष्टासम्म यात्राको किताव छापे । आफू सभापति हुँदा पाल्पा दोभानमा फेलापारिएको रामपिथेकसको बंगराका बारेमा खोज,अध्ययन र अनुसन्धानमा जोड दिएका थिए ।

योद्धा उजिरसिंहका बारेमा नाटक लेखेका छन् । सामुदायिक रेडियो मदनपोखराका अध्यक्ष भएर उनले सञ्चार क्षेत्रमा अनुभव संगालेका छन् । देश,विदेश घुमेका छन् । ‘झपेन्द्र जीसीले समुदाय पढेका छन्, गीत,कविता लेखेका छन् । जस्तो देख्छन् ,त्यस्तै लेख्छन् । जे बोल्छन् ,त्यस्तै पाराले लेख्छन् । कथ्य पाराको उनको लेखाइ छ । अर्थात् जनबोली नै उनको रुचि हो । ’ उनको बारेमा अध्ययन गरेका दलबहादुर गुरुङ बताउँछन् ।

सिद्धबाबा क्षेत्रमा तपस्या गरि सिद्धि प्राप्त गरेका भर्तृहरिका बारेमा उनको आफ्नै तर्क छ । कुहिरेभीरमा शिवजीले गाँजा खाएर धूँवा उडाएको भन्ने कुरामा उनलाई चित्त बुझेको छैन र उनको आफ्नै मत छ । त्यसलाई उनी बैज्ञानिक विचार भन्छन् । माल्दाइ पार्टीका निम्ति भूमिगत भए ।

त्यतिबेला हुँदाखाँदाको स्थायी शिक्षण सेवालाई चटक्कै छाडेर । जनतालाई जगाउने,जाँगरण ल्याउने र पञ्चायती व्यवस्था विरुद्धको अभियानमा उनले राजनीतिलाई मूल बाटो बनाए । राजनीतिले नै सबै कुराको निधो गर्छ भन्छन् उनी । राजनीतिप्रति उनमा कहिल्यै वितृष्णा छैन । पलाएन पनि । राजनीतिमा उतार चढाव हुन्छ तर आफू हिलामा गाडेको लौरोजस्तो हुन नहुने बताउँछन् ।

प्रविधिमैत्री हुन नसक्दा बैयक्ति प्रगतिमा क्षति पुगेको उनको बुझाई छ । एकपटक देखेका र बोलेका मान्छेहरु र गएको भूगोललाई सितिमिति भुल्दैनन् । ‘माल्दाइले अरुका कुरा कम सुन्दछन् र आफ्ना कुरा बढी गर्छन्, अथाह ज्ञानको खानी छ, भएका र जानेका विषयलाई हामीले सम्पतिको रुपमा राख्नसकेका छैनौ, त्यो सबैको प्रयासमा गरिनुपर्दछ’ गरुङले भने ।

संस्कृतिको गहिरो अध्ययन गर्ने उनले पाल्पामा बाहुल्य रहेको मगर भाषा, हिन्दी र अंग्रेजीमा राम्रै ज्ञान छ । रुचिका पुस्तक पढ्न पाउँदा समय गएको हेक्का नहुने उनी सुनाउँछन् ।‘अहिले स्वास्थ्यले लगातार पढ्न र लेल्न दिँदैन, तर सकेसम्म अरु समयभन्दा यसमै ध्यान दिन्छु’ उनले भने ।

कुनैबेला उनले हातैले लेखेर बुटवलबाट प्रकाशन हुने सबै पत्रपत्रिकाहरुलाई सामग्री पुर्‍याउने गर्दथे त्यो काम अहिलेसम्म नियमित गरिरहेका छन् । पाल्पाबाट प्रकाशित हुने गाउँले देउराली पत्रिकामा गाउँघरका कुरा, गाउँले भाषा र शैलीमा लेखेर झपेन्द्रले आफ्नो पहिचान बनाएको उनका निकटस्थहरु बताउँछन् ।

बच्चादेखि पाका, पुराना सबैसँग घुलमिल गर्ने उनी गीत गाउन र नाच्न पनि उत्तिकै मन पराउँछन् । उनलाई विभिन्न संघसंस्थाहरुले अभिनन्दन, सम्मान, पुरस्कृत गरेपनि त्यसलाई प्रचार गर्न नहुने उनले सुनाए । पछिल्लो पटक उनी भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट सम्मानित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *