सांसद रवि लामिछाने पक्राउबारे संसद सचिवालयले गरायो जानकारी – Nepal Press

सांसद रवि लामिछाने पक्राउबारे संसद सचिवालयले गरायो जानकारी

काठमाडौं । संघीय संसदले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ ।

संसद सचिवालयले चितवन क्षेत्र नं २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी गराएको हो ।

संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्नेसमेत व्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१/०८२ च.नं. ७०२७ मिति २०८१/०७/०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) मा बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउने उल्लेख छ ।

प्रतिनिधिसभाको निययावलीमा २४८ मा भनिएको छ-

(१) सदस्यको पक्राउसम्बन्धी जानकारीः (१) संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ ।

(२) बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ ।

(३) प्रचलित कानूनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ ।

स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि ‘अदालत’ भन्नाले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत सम्झनुपर्छ ।

(४) कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परी कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ ।

(५) उपनियम (३) बमोजिम पक्राउ भएको कुनै सदस्यले सफाइ पाएमा वा थुना मुक्त भएमा निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई तत्काल दिनेछ र अधिवेशन चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनेछ । त्यसरी कुनै सदस्य निलम्बन फुकुवा भएमा निजको स्थगित भएको पारिश्रमिक, सेवा र सुविधा सुचारु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *