बीपी कोइराला स्मृति कप क्रिकेट: भारत र नेपालको विजयी सुरुवात – Nepal Press

बीपी कोइराला स्मृति कप क्रिकेट: भारत र नेपालको विजयी सुरुवात

रुपन्देही । चार वटा टेस्ट राष्ट्र र नेपालका क्लबहरुको सहभागितामा रुपन्देहीको भैरहवामा ‘बीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएको छ । उसले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

दोस्रो खेलमा नेक्सस रुपन्देही-११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघलाई ९ विकेटले पराजित गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल बनायो । उसका लागि ऋषभ जोशीले ४६ र अली हुसेनले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा भारतको लाइफ केयरका रोहित डङ्गवालले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै योगेश कुमार र सक्षमले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको भारतको लाइफ केयरले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जीतमा दीपक पुनियाले २५ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै दीपान्सु फोरेले २१ रनको योगदान दिए ।

बलिङमा पाकिस्तानको जावेद गोहारका इमरान नाजिरले १ विकेट लिए । खेलमा भारतका रोहित डङ्गवाल म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा शंकर रानाको उत्कृष्ट ब्याटिङ र साहब आलमको बलिङको मद्दतमा नेक्सस रुपन्देही-११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघलाई ९ विकेटले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाका अधिकांश ब्याटर नचल्दा निर्धारित खेलमा ९ विकेटको क्षतिमा ८६ रनमात्रै जोड्यो । जसमा राज विरा र समानेरा परेराले १६-१६, नानी वासुपल्लीले १५, समन कुमाराले १४ र इन्दुनिल प्रसादले १२ रन जोड ।

बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देहीका साहब आलमले ४ ओभरमा ९ रन खर्चेर ३, दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २-२ तथा वसिर अहम्मदले १ विकेट लिए ।

प्रत्युत्तरमा नेक्सस रुपन्देहीले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ८७ रनको लक्ष्य पूरा ग¥यो । उसका लागि शंकर रानाले २८ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ खेली नटआउट रहे । उनले १७ औं ओभरमा लगातार ४ छक्का प्रहार गरेका थिए । यस्तै सुमित महर्जनले ३१ रन बनाइ नटआउट रहे ।

बलिङमा श्रीलंकाका समानेरा परेराले १ विकेट लिए । नेपालका साहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्तिक १० गतेसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागिता छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले नेपाली क्रिकेटको विकासमा टेवा पुर्‍याउने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिाता आयोजना गरिएको बतए ।

शाहीका अनुसार प्रतियोगितामा पाकिस्तानको राष्ट्रिय टीमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर, भारतबाट आईपीएल खेलेका खेलाडी दीपक पुनियासहित सबै टीममा प्रथम श्रेणीका खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *