भूमिहीन महिलाका कथा: कसले दिन्छ काम ? – Nepal Press

भूमिहीन महिलाका कथा: कसले दिन्छ काम ?

चितवन । भरतपुर नेपालकै प्रमुख शहरमध्ये एक हो । बसाइसराइको हिसाबले यो शहर अहिले १२औं नम्बरमा मानिसहरुको गन्तव्य बनेको छ । बाहिरबाट हेर्दा सरर गाडी गुड्ने काला चिल्ला सडक देखिन्छन् । ठाउँठाउँमा नयाँ बनेका सडकसँगै जनप्रतिनिधिको चर्चा पनि यसरी हुने गरेको छ कि यो चितवन जिल्लाभित्रको एक नगरभन्दा माथि हो ।

अझ यसले मारेको भौतिक विकासको स्वर्णिम फड्कोमा देशकै कुनै शहरले भेट्दैन भन्ने तर्क यसरी स्थापित हुँदैछ कि विकास योभन्दा माथि हुने ठाउँ नै छैन । अवस्थितिको हिसाबले सात स्थानीय तहमध्ये घना बस्ती, मुख्य शहर, पूर्वपश्चिमको नाका हो भरतपुर । जिल्लाको सबैभन्दा धेरै जनघनत्व यही नगरमा छ । यहाँ रोजगारी, शहरी जीवनको सुविधा, जीवनयापनका बाटाहरु खोज्दै आइपुग्नेहरु पनि थुप्रै छन् ।

अर्का एकथरी मानिसहरु यो नगरमा छन्, जसलाई नगरले विशेष समयमा चिन्छ । त्यो विशेष समय कि त निर्वाचनका आसपास हुनुपर्छ, कि हुलमुल देखाउने गरी आन्दोलनमा होमिनुपर्ने अवस्था आउँछ ।

यो आलेखमा भरतपुर महानगरकै चिल्ला सडक आसपास खस्रा जीवनका दुःखाउने आलो कथा बोकेर बाँचिरहेका ती मानिसहरुका चर्चा गरिएको छ, जसको जीवन ओत लाग्ने थलो पनि आज हो कि भोलि उठ्ने हो भनेर वर्षौंदेखि त्रासमा बितिरहेको छ । जसले निःशुल्क भनिएका पढाइको शुल्क बुझाउन नसकेर सन्तानको अध्ययनमा ‘ब्रेक’ लगाइदिन परेको छ । जसले दिनभर गरेको कामको पारिश्रमिक नपाएर कैयौं दिन सादा पानीले पेट भरेर निदाउनु परेको छ । उनीहरुलाई चिल्ला सडकले चिन्दैन, शहरले चिन्दैन न चिन्छन् यहाँका विकासका स्टेरिङ घुमाउने ‘विकासप्रेमी’हरुले नै ।

०००

भरतपुर महानगरपालिकाको वडा नम्बर ११, गणेशस्थान । जहाँ २०२० सालदेखि फाट्टफुट्ट बसोबास गर्दै अहिलेसम्म आइपुग्दा करिब ३०० घरधुरी पुगेको छ । तिनै घरमा बस्नेमध्येकी एक हुन, ४१ वर्षकी सीता बडाल ।

सीताले लामो समय भरतपुर आसपासका पार्टी प्यालेस चहारेकी छन् । उनलाई भरतपुरका पिकनिक स्पटहरु पनि कण्ठै छ । मानिसका विवाह कस्तो भव्य हुन्छ, कसरी उत्सव मनाउँछन्, सबै देखेकी छन् उनले, तर उनको जीवनमा कहिल्यै उत्सव आएको छैन । क्याटरिङमा २ वर्ष काम गरिन् । बिहान ४ बजेदेखि राति १२ बजेसम्म मानिसले खाने मीठा खानेकुरा पकाउने देखिफालेका जुठा भाँडा सफाइको कामसमेत गरिन् । करिब १२ घण्टा काम गर्दा हजार रुपैयाँ पाउँथिन् उनी, तर दैनिक काम भएन ।

‘क्याटरिङको कामै पुगेन, कपडा पसलमा पनि काम गरें । दिनको ३ सयमा काम गर्नुपर्थ्यो । त्यो पैसाले पुगेन’, उनले थपिन्, ‘बुढासँग रङ लगाउने काममा पनि हिँडें, तर सधैं त्यो पनि भएन ।’

बुढाबुढीले जीवनै काममा लगाए पनि उनीहरुले सुखको जीवन कहिल्यै पाएनन् । १२ हजार परीक्षाको फिस तिर्न नसकेपछि छोरीको स्नातक तहको पढाइ रोकियो । पढाइ रोकिएपछि छोरी पनि ज्याला-मजदुरीमा लागेकी छन् । छोरी पढाउन नसक्ने आमा हुँ भन्दा उनलाई भक्कानो छुट्छ । आँखाबाट आँसु रोकिँदैन ।

त्यसपछि राज्य र यहाँका सिस्टमप्रति विरक्तिएर थप्छिन्, ‘हाम्रो लागि कहिल्यै नेताहरुले सोचेनन् । जहिल्यै चुनाव आउने बेलामात्रै नेता आइपुग्छन् यहाँ ।’

सीताको बस्ती चितवनको सबैभन्दा विकसित भरतपुर महानगरमा पर्छ । हाइवेको छेवैमा छ । लामो समयदेखिको यो बस्तीका मानिसले पटकपटक दलका नेताहरुलाई निर्णायक मत दिएर विजेता बनाउन सघाएका छन् । भरतपुरमा निर्वाचित रेनु दाहाल हुन् वा देशभरमा चर्चित प्रतिनिधिसभा सदस्य रवि लामिछाने, उनीहरुका निर्णायक मतदाता पनि हुन् यी बस्तीका बासिन्दा, तर रवि हुन् वा रेनु, कसैले पनि चुनावपछि आफूहरुतर्फ नफर्किएको गुनासो उनीहरुको छ ।

‘हामीले भोट दिइहाल्यौं’, सीताले भनिन्, ‘नेताहरु आआफ्नो ठाउँमा बसेर काम गरिरहनुभएको होला । हामीलाई सबै कहाँ थाहा हुन्छ !’

अधिकांश सुकुमबासी बस्तीको उस्तैउस्तै विशेषता हुन्छ । बिहानदेखि बेलुकासम्म कमाउन गयो, दिनको कमाइले त्यही दिनको जोहो गर्‍यो । भोलिको लागि पुनः श्रम गरेपछि मात्रै खाने जोहो गर्न सकिन्छ ।

गणेशस्थानसँग पनि यो विशेषता मिल्छ, तर यहाँका महिलाको काम गर्न चाहने हुटहुटी र पूर्णकालीन कामको अभाव भने अन्य बस्तीभन्दा अलि फरक छ । भरतपुरले उच्च भौतिक विकासको हरेक पटक दाबी गर्छ, तर मानवीय विकासमा कसरी चुकेको छ भन्ने उदाहरणको रुपमा पनि यो गणेशस्थान उदाहरण हो ।

७१ वर्षकी फूलमाया गुरुङ १५ वर्षदेखि नै क्याटरिङमा काम गर्दैछिन् । छोराछोरी आआफ्नै बाटो लागेका छन् । आफूभन्दा वृद्ध श्रीमान पाल्नुपर्ने दायित्व छ उनीसँग । अहिले एक त क्याटरिङको कामै छैन । बजारको मन्दीका कारण मानिसहरुले ठूला समारोह गर्न छोडेका छन् । कहिलेकाहीँ फाट्टफुट्ट पाउने काममा पनि उमेरका कारण उनलाई बोलाइँदैन ।

‘नानी १५ वर्ष काम गरें । अहिले त्यही महिनाको ६-७ हजार पनि कमाउन नसकिने भयो । काम दिनेले तरुनी छानेर लैजान्छन्’, फूलमायाले भनिन्, ‘यत्रो वर्ष काम गरें । जिन्दगीमा सुख कहिल्यै भएन । अहिले खाली हात छ ।’

१७ वर्षभन्दा अगाडिदेखि गणेशस्थानमै बस्दै आएकी छन् फूलमाया । जीवनको उत्तरार्द्धमा आइपुगे पनि सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेकी छैनन् ।

‘उमेर घटाएर नागरिकता बनाइदिएछन्’, उनले गुनासो गरिन्, ‘ज्यानले भाँडा माझ्ने काम पनि गर्न सक्दैन । सरकारले कागज हेरेरमात्रै भत्ता दिने रैछ ।’

उमेरले प्रौढतर्फ लागेकी सुमित्रादेवी अधिकारी देवकोटा त झन् परिवारको एकमात्रै कमाउने आधार हुन् । खेती गर्ने टुक्रो आफ्नो छैन । घरमा चाहिने सबै चिज पैसा नभए हातमा आउँदैन । नशा रोगी श्रीमान बचाउन नियमित औषधिको भरमात्रै छ । ११ कक्षा पढ्ने छोरीको सरकारी विद्यालय भए पनि शुल्क तिर्नुपर्छ । दैनिक खाजा, किताब, कापी खर्च थप छँदैछ ।

७ वर्ष क्याटरिङमा काम गरेर छोडेकी उनले सिलाइकटाइको सीप सिकेकी छन् । घरमै मेसिन पनि छ, तर सिलाइको काम पनि रेडिमेडले खाइदिएको छ ।

‘सिलाइको काम हुँदा सिलाइ गर्छु, नभए क्याटरिङमा जान्छु, तीन जनाको परिवार पाल्न पनि दुःखै रैछ’, सुमित्राले भनिन् ।

महिनाको कति कमाउँछु भन्ने उनलाई ठेगान हुँदैन । क्याटरिङको कामको पनि पक्का हुँदैन न सिलाइकटाइ नै । आफू पनि उच्च रक्तचापको औषधि सेवन गर्दैछिन् । घर चलाउन नसकेर ऋण लिएर कहिले यता तिर्ने, कहिले उता तिरेर काम चलाउनुपर्ने अवस्थामा छिन् उनी ।

‘दुई लाख रुपैयाँ जति ऋण छ’, सुमित्रा भन्छिन्, ‘खाने चामलकै २३ सय पुगिसकेको छ, आफ्नो उब्जाउ ठाउँ छैन । सबै किनेर खाने, आउने टुंगो नभएपछि बाँच्न त जसरी पनि पर्ने रहेछ ।’

कल्पना न्यौपाने बेरोजगार भएको वर्षदिन हुन लाग्यो । उनी गाडीको सो रुममा सहयोगीको काम गर्थिन् । गाडी सो रुम डुब्यो । महिनाको १२ हजार रुपैयाँको दरले दुई महिनाको तलब पाइनन् उनले ।

व्यवसाय नै डुबेपछि पैसा दे भनिरहन पनि सुहाएन । अर्को काम खोज्न थालेको महिनौं भइसक्यो । जब लिंक भन्नेमा गएर पटकपटक कामको लागि फारम भर्दा ३ हजारभन्दा बढी रकम डुबाइसकिन्, तर काम पाएकी छैनन् ।

‘असोज महिनामा क्याटरिङको काम एक हजारको मात्रै भयो’, कल्पना भन्छिन्, ‘श्रीमानको मात्रै कमाइले घर चलाउन सकिँदैन । महिनाभरि हजार रुपैयाँ कमाइ हुने मौसमी पेशाबाहेकको काम गर्न कैयौं पटक कोसिस गरे पनि नपाएपछि हिजोआज घरमै दिन चलिरहेको छ ।’

३७ वर्षकी उनी दुई सन्तान छोडेर विदेश जान पनि सक्ने अवस्थामा छैनन् । चार जना मुस्किलले बस्न मिल्ने सानो ओत छ सुकुमबासी बस्तीमा । त्यही घरबाट बस्ती छेउछाउका ढुक्कसँग बस्न सक्ने परिवारको झैं आफ्नो लिखतसहितको घर बनाउने चाहना छ उनलाई पनि ।

महानगरका गरिब बस्तीकी कल्पना कहिले रंग लगाउन जाने त कहिले के काम पाउँछ त्यही गर्दैछिन् । दिगो काम पाए जीवन सहज हुन्थ्यो भन्ने आशा छ उनलाई । राज्यले सीप सिकाउँछ रे भन्ने सुनेकी छन् । आफू जस्ता श्रमिकहरुको न्यायको लागि कानून छ रे भन्ने पनि अलिअलि मेसो छ उनलाई, तर सीप सिकाउने स्थानीय राज्यसम्म पहुँच पुर्‍याइदिने उनको आफ्नो कोही छैन ।

‘विदेश जाउँ भने उमेर पनि जान लागिसक्यो, बरु राज्यले सीप र काम दिए यही बसेर गर्न हुन्थ्यो’, कल्पना भन्छिन्, ‘कामै खोज्न भौंतारिँदैमा जीवन जाला भन्ने चिन्ता भो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *