‘बच्चाहरु लड्छन्, लड्न देऔं ! लडेपछि उठ्न सिक्छन्’ – Nepal Press

‘बच्चाहरु लड्छन्, लड्न देऔं ! लडेपछि उठ्न सिक्छन्’

र‌ङ्गकर्मी केदार श्रेष्ठ भन्छन्- पहिले बच्चाको साथी बनेर हेर्नुस्

काठमाडौं । ‘गाउँ आएको बाटो’ फिल्मको प्रदर्शनताका बाल कलाकार प्रसन राई रोएको भिडियो भाइरल भयो । एक अन्तर्वार्तामा प्रसनको व्यक्तिगत र पारिवारिक कुरा सोधिएपछि क्यामेराको अगाडि नै उनी भावुक बने ।

प्रसनलाई सोधिएको प्रश्न न फिल्मसँग सम्बन्धित थियो न त उनको कलाकारितासँग । प्रश्नकर्ताले बच्चाको निजी जीवनलाई कोट्याइदिएपछि उनी जवाफ दिन नसकेर रोए ।

बच्चाको उक्त भिडियो क्लिप भाइरल भएपछि रंगकर्मी केदार श्रेष्ठले सञ्जालमा दुःखेसो पोखे । जो यस फिल्मको कास्टिङ डाइरेक्टरसमेत थिए । बच्चाहरुलाई अभिनय गराउने जिम्मा नै केदारको थियो ।

केदारले दुःखेसो पोख्नुमा मुख्य कारण थियो, कहिल्यै अभिनय नगरेका बच्चासित साथी बनेर, अभिनय सिकाएर क्यामेराको अगाडि उभ्याएका थिए । अर्को कारण थियो, रंगकर्मीको अलावा केदार बाल साहित्यकार पनि हुनु । सँगै बाल अधिकारको पक्षमा वकालत गर्दै हिँडेको अभियन्ता हुनु ।

बानेश्वरको उमोजा कफी सपमा यो प्रसंग कोट्याउँदा नोस्टालजिक हुँदै केदारले भने, ‘मलाई त्यो अन्तर्वार्तामा मिडियाले बच्चाहरुको आँसु खोजिरहेको जस्तो लाग्यो । आँसुलाई ग्लोरिफाइ गरे जस्तो लागेकाले दुःखेसो पोखेको थिएँ ।’

उनले लेखेका थिए, ‘बाल भावनाको कदर नगरी, बाल सुलभताको हेक्का नराखी, पूर्वजानकारी नलिई, विनाअध्ययन बच्चालाई आघात पर्ने नितान्त निजी कुरा सोध्ने अनि ‘हाउ स्वीट, सो सरी’ भन्दै आँसु बेचेर भ्युज किन्नेहरुप्रति घोर भर्त्सना छ । बालवयका कलाकारलाई कलाकारकै रुपमा बाल सुलभ जिज्ञासा राख, उसको गाला चिमोट्दै, मन चिमोट्दै च्व च्व गर्दै प्रश्न तेर्साएर इजलासगिरी नगर । अनि यस्तै कन्टेन्टमा रमाउनेहरुप्रति पनि आपत्ति छ ।’

केदारले ‘ऐना झ्यालको पुतली’ फिल्ममा पनि कास्टिङ डाइरेक्टरको काम गरे । यो फिल्ममा त तीन जना बच्चा नै मुख्य भूमिकामा छन् । उनको आफ्नै छोटो फिल्म ‘जूनको जुत्ता’ पनि जुत्ता उल्टो लगाउने बालिकाको कथा हो । ‘जूनको जुत्ता’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा पनि छनोट भएको थियो । ३०-४० वटा नाटकमा काम गरिसके । ती नाटकमा बालबालिकालाई आफ्नो क्षमता प्रस्फुटन गर्ने अवसर प्रदान गरेका छन् ।

‘पहिले बच्चाको साथी बनेर हेर’

सम्भवतः हामी सबैको बाल्यकालीन स्मृतिमा छ- शिक्षकको लठ्ठी । हातमा हरियो डाम बोक्नु, केही गल्ती गर्नसाथ कुखुरा बन्नु, उठबस गर्नु सामान्य दैनिकी हुन्थ्यो विद्यालयमा । विद्यार्थीहरुले शिक्षकको डरका कारण जबरजस्ती पढ्नुपर्थ्यो । विद्यालय एक खालको त्रास गृह हुन्थ्यो बालबच्चाका लागि ।

बालबालिकालाई थर्काएर, तर्साएर, पिटेर पढाउने विधि गलत हो भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । यस्तो तरिकाले पढाउँदा बालबालिकाले विद्यालयको परीक्षा त पास गर्लान्, तर जीवनको परीक्षा ? उनीहरुको मानसिक स्वास्थ्य ? प्रश्नहरु धेरै छन् ।

पाठ्यक्रम जसोतसो शिक्षकको डरले बालबालिकाले छिचोल्लान् रे, तर उनीहरुलाई सृजनात्मक काममा सहभागी गराउनु अर्को चुनौती रहेको केदारको अनुभव छ । उनको अनुभवले भन्छ, बालबालिकाले आफ्नो क्षमता खुलेर प्रस्तुत गर्ने वातावरण बनाउनु अर्को चुनौती हो । झनै फिल्ममा उनीहरुलाई जीवन्त अभिनय गराउनु कति ठूलो चुनौती होला ! एउटा सानो गल्तीले मात्रै पनि सिंगो फिल्मलाई असर गर्नसक्छ । निर्देशकले भन्न चाहेको कथा नभनिन सक्छ ।

केदारले धेरै पटक बालबालिकासँग साथी बनेर उनीहरुबाट सुन्दर काम निकाल्ने जिम्मेवारी सम्हालेका छन् । चाहे ‘गाउँ आएको बाटो’ होस् या ‘ऐना झ्यालको पुतली’, चाहे ‘जूनको जुत्ता’ होस् या रंगमञ्चका नाटकहरु ! बालबालिकाबाट उत्कृष्ट काम निकालेका छन् केदारले ।

कोही बच्चा बोलक्कड हुन्छन् । कोही अन्तरमुखी स्वभावका हुन्छन् । कोही एकदमै चकचक गरिरहनुपर्ने खालका हुन्छन् । यी फरक फरक स्वभावका बच्चाहरुसँग सहकार्य गरेर कसरी उत्कृष्ट काम निकाल्ने ?

‘पहिलो कुरा त यसमा कुनै पनि म्याथम्याटिकल टेक्निक हुँदैन । बच्चासँग काम गर्दा आफूमा बच्चाको स्वभाव हुनुपर्‍यो । उनीहरुका लागि आफू पनि बच्चा जस्तै बनिदिनुपर्‍यो’, केदार सुनाउँछन्, ‘उनीहरुलाई केही कुरा सिकाउँदैछु भनेर होइन, उनीहरुसँग खेल्दैछु भनेर सोच्नुपर्‍यो । खेल्दाखेल्दै आफूले जानेको कुरा उनीहरुलाई दिँदैछु भन्ने भयो भने सिकाउनेलाई पनि दबाब हुँदैन ।’

बच्चाले सिकाउने व्यक्तिलाई साथीको रुपमा स्वीकार गरेपछि बच्चासँग साथी भइने केदारको अनुभव छ । उनको अनुभवले भन्छ, यदि बच्चाले स्वीकार गर्न थाल्यो भने खत्रै तरिकाले स्वीकार गर्छ । यदि इग्नोर गर्न थाल्यो भने खत्रै तरिकाले इग्नोर गर्छ ।

उदाहरणका लागि कोही बच्चाले मन नपरेको मान्छे छ भने उसले वास्तै गर्दैन । बाउआमाले जति नै ‘अंकल आन्टीसँग बोल’ भने पनि उसले वास्ता नै गर्दैन । यसको एकै कारण हो, उसलाई त्यो मान्छे मनै परेन ।

‘सेल्फ रेस्पेक्टको सवाल बच्चाहरुमा एकदमै धेरै हुन्छ । उनीहरु हरेक कुरालाई इमोसनको तरिकाले मात्रै हेर्छन् । कसैले हेपिरा’छ भने सिर्फ हेपाइको तरिकाले मात्रै बुझ्छ । हामी ठूलो भएपछि पो कसैको इगो, एट्टिट्युडलाई पेशासँग जोडेर विश्लेषण गर्छौं । यत्तिको मान्छेको यत्तिको व्यवहार पच्छ भनेर कम्प्रोमाइज गर्छौं’, केदार अनुभव सुनाउँछन् ।

पछिल्लो समय बाल साहित्यमा काम गरिरहँदा श्रेष्ठहरु बाल रंगमञ्च हुनुपर्छ भनेर लागिपरे । बाल रंगमञ्च प्रोफेसनलहरुले गरिदिने काम हो, तर नेपालमा भने बालबालिका रंगमञ्चमा उत्रिँदा बाल रंगमञ्च भनिदिने चलन छ । केदारको प्रश्न छ, ‘त्यसो भए बच्चाले लेखेको कविता बाल साहित्य हुनुपर्थ्यो । किन ठूलाले लेखेको बाल साहित्य हुन्छ ?’

उनको एउटामात्रै धारणा छ, कुनै पनि सृजनाको दर्शक बालबालिका पनि हो भने त्यो बाल साहित्य हो, बाल सिनेमा हो । र, बालबालिकाका लागि बनेको सृजना सबैका लागि हो । जस्तोः हिन्दी फिल्म ‘तारे जमिन पर’ । वा ‘सेक्रेट सुपरस्टार’ !

‘खै बालबालिकाको पक्षमा बोलिदिने मान्छे ?’

बालबालिकालाई हामी स्वःस्फूर्त रुपमा आफ्नो प्रतिभा पस्कने अवसर दिँदैनौं । बरु उनीहरुमाथि निरन्तर मानसिक र शारीरिक दबाब बढाइरहन्छौं । यो गलत तरिका सिधै गएर समाज र राजनीतिसँग जोडिने केदारको बुझाइ छ । हामीले बसालेको गलत थितिसँग जोडिने केदारको बुझाइ छ ।

उनलाई लाग्छ, बालबालिकालाई यो सिस्टमले नै सबैभन्दा बढी अवहेलना गरेको छ ।

जनजाति आन्दोलनमा बोलिदिने मान्छे छन् । महिला आन्दोलनमा बोलिदिने मान्छे छन् । आन्दोलनमा लागेका मान्छेहरु आफैं पनि बोल्छन्, तर बालबालिकाले बोल्न सक्दैनन् । उनीहरुको बोलिदिने मान्छे पनि विरलै भेटिन्छन् । केदारलाई यही कुराले निराश बनाउँछ कहिलेकाहीँ, ‘जब कि जुन देशले बालबालिकालाई पहिलो प्राथमिकता दिएर नीति बनाएका छन्, ती देशमात्रै समृद्ध भएका छन् ।’

हाम्रोमा त सांस्कृतिक रुपमा पनि बच्चालाई हेप्ने संस्कृति रहेको श्रेष्ठको अनुभव छ ।

हाम्रो बहुचर्चित भनाइ छ, ‘सानालाई माया गरौं, ठूलालाई आदर गरौं ।’

केदारलाई यो भनाइको भाष्य नै गलत लाग्छ । सानालाई माया भनेको पप्पी गर्नुमात्रै हो त ? लाडे स्वर निकालेर बोलाउनुमात्रै हो त ? भन्छन्, ‘आदर त साना बच्चालाई चाहिने हो । किनभने आदरभित्रै माया हुन्छ । वृद्ध अवस्थामा पुगेका मान्छेलाई आदर भनेर घरमा थन्काइदिने, आश्रममा राखिदिने गर्छन् । खासमा माया त वृद्धहरुलाई चाहिने हो नि !’

बालबालिकालाई भविष्यको कर्णधार भनिन्छ । अर्थात् भविष्यलाई काँधमा बोकेर हिँड्ने । ‘यस्तो भाष्य बनाउने हो’, श्रेष्ठ जंगिन्छन्, ‘भविष्य काँधमा बोकेर हिँड्ने व्यक्ति होइन, भोलिको भविष्य नै बालबालिका हो ।’

केदारहरुले बालबालिकालाई ‘फुच्चेफुच्ची’ नभन्नु भनेर अभियान नै चलाए । जस्तैः आइमाई शब्द नराम्रो होइन, तर यो शब्दलाई जुन नियतका साथ प्रयोग गरिन्छ, त्यो चाहिँ गलत हो । त्यस्तै जुन नियतका साथ ‘फुच्चेफुच्ची’ भनिन्छ, त्यो नियतको विरुद्ध केदारहरुले अभियान चलाएका थिए ।

‘ऐना झ्यालको पुतली’मा मुख्य कलाकार नै तीन जना बच्चा छन् । ती बच्चाहरुले यसरी काम गरेका छन् कि कास्टिङ डाइरेक्टर श्रेष्ठ प्रशंसित बने । ‘गाउँ आएको बाटो’मा पनि दयाहाङ राईको छोरा बनेका प्रसनले एकदमै राम्रोसँग काम गरेका छन् । श्रेष्ठले नै बनाएको ‘जूनको जुत्ता’मा एन्टागोनिस्ट नै थिएन । उनले ठोसमा एन्टागोनिस्ट खोजेर पनि बसेनन् । यही फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा पुग्यो ।

केदारको अनुभवले भन्छ, ‘हाम्रो वरिपरि रहेका कतिपय बच्चाहरु खराब पनि होलान्, तर कसरी खराब भए भनेर खोज्ने हो भने उनीहरु खराब लाग्दैन । अर्को मान्छे चाहिँ खराब लाग्छ ।’

‘बच्चा लड्छ ! लडेरै त उठ्न सिक्छ’

केदारले बालबालिकालाई अभिनयको प्रशिक्षण पनि दिन्छन् । यही वर्ष अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव गर्ने तयारीमा पनि उनको टीम लागिपरेको छ ।

केदारसित आफ्ना बच्चाहरु लिएर अभिभावक आइपुग्छन् । बजारमा फिल्मी क्षेत्रको ग्ल्यामर देखेर आएका अभिभावकले श्रेष्ठलाई सोध्ने पहिलो प्रश्न हो, ‘यति सिकेपछि फिल्म खेल्न पाउँछ ? नाटक गर्न पाउँछ ?’

‘हामीले त व्यक्तित्व विकासको लागि ट्रेनिङ दिने हो । के बन्ने, त्यो त बच्चाको छनोट हो । अभिनय कक्षाले उसको क्षमतालाई पहिल्याउन सजिलो बनाउनेमात्रै हो’, केदार सुनाउँछन् ।

उनी स्वयंको बच्चा डेढ वर्षको भयो । बच्चाको सामुन्ने केदार किताब पढ्छन् । बच्चाले पनि किताब नै पढ्न खोज्छ र किताब भएको व्यक्ति घरमा जाँदा बच्चा खुसी हुन्छ । रोएको वेला किताब दियो भने शान्त हुन्छ ।

‘बच्चालाई एक्सप्लोर गर्न दिने हो । कुनै सामान बिग्रेर घाटा हुँदैन भने खेलाउन दिनुपर्छ । केही गर्छु भन्दा सक्छस् र भनेर आशंका गर्ने होइन, गर्न दिने हो’, केदार सुनाउँछन्, ‘म मेरो मिसेसलाई भन्छु, धेरै रोयो भने बच्चा आफैं तनावमा जान्छ । अनि रुन छाड्छ । जीवनमा कति रुनुपर्छ, पर्छ । अलिकति लड्यो भने मिसेस आत्तिन्छे । लड्छ त ! लडेर उठ्छ । लडेको वेला फुत्त उठाइदियौं भने कसरी उठ्ने भनेर उसले सिक्नै सक्दैन । यस्तो गर्नुको मतलव बच्चालाई इग्नोर गरिएको होइन नि, छेउमा बसेर हेरिरहनु भनेको केयर त गरिरहेकै छौं नि !’

बच्चा आफैंले आफ्नो जीवनमा आइपरेका समस्याहरुलाई पहिचान गरेर समाधान खोज्छ, त्यस्तो अवसर सृजना गरिदिनु अभिभावकको दायित्व भएको केदारको भनाइ छ । उनी भन्छन्, ‘जूनको जुत्ता यही थिममा बनेको फिल्म हो । उल्टो जुत्ता लगाउने बानी बच्चीले आफैं सुधार्छे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *