शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा – Nepal Press

शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुष्ट बनेको छ । आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको रास्वपा उपसभापति डिपी अर्यालले प्रतिक्रिया दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारीले महानगर क्षेत्रमा प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भन्दै निषेधाज्ञा लगाएका हुन् । पाँच जनाभन्दा बढीलाई निषेधित क्षेत्रमा जम्मा हुन रोक लगाइएको छ ।

रास्वपाले सहिदचोकमा प्रदर्शन गरिरहँदा निषेधाज्ञाको सूचना जारी गरिएको हो । उक्त सूचनापछि रास्वपाले आफ्नो प्रदर्शन जारी राख्छ कि राख्दैन भन्ने प्रश्नमा उपसभापति अर्यालले भने, ‘हाम्रो प्रदर्शनलाई निरन्तरता दिन्छौँ, तर निषेधित क्षेत्र तोड्ने हाम्रो अभ्यास र नीति छैन ।’

अर्यालले स्वतस्फुर्तरुपमा भएको शान्तिपूर्ण प्रदर्शनबाट सरकार आत्तिनु नपर्ने बताए ।

‘हामीले अस्तिदेखि नै शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छौँ । पार्टीको झन्डासमेत नबोकेर राष्ट्रिय झन्डा बोकिएको छ । प्रहरी प्रशासनले पनि तपाईँहरूको आन्दोलन अरूको भन्दा संयमित छ भनेर प्रशंसा गरेका छन् । तर, अनायास माथिको आदेशमा प्रशासनले निषेधाज्ञा लगाउनु निन्दनीय हो ।’ उनले भने ।

अब कसरी प्रदर्शनलाई निरन्तरता दिने भनेर रणनीति बनाइने उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

  1. रवि र रास्वा पनि उस्तै हुन् भनेर जनताले टाउको बटार्न थालिसकेका थिए । यो घटनाले बरू रवि र रास्वपालाई त्राण दिने भो । फाईदै हुने भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर