बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त – Nepal Press

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

हेटौँडा । बागमती प्रदेशमा विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त भएका छ्न ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेपछि श्रेष्ठको आइतबार नियुक्ति भएको हो ।

मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलको नेता शालिकराम जम्मकट्टेको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा श्रेष्ठ नियुक्तिको सिफारिस गरेको थियो ।

२०७६ मङ्सिर २६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठको उमेर हदका कारण गत चैत्र ३ गते पदमुक्त भएपछि उक्त पद खाली थियो ।

अध्यक्ष वा सदस्यको पद रिक्त निजको उमेर ६५ वर्ष पूरा भएका हुने प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ को (ख) मा व्यवस्था गरिएपछि श्रेष्ठ पदमुक्त भएका थिए ।

पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।

आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ । प्रदेश लोकसेवा आयोगको अध्यक्ष समितिको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त र शपथ गराउने कानुनी व्यवस्था छ ।

सिफारिस भएका श्रेष्ठ बिहीबार मात्रै सरकारी सेवाबाट अवकाश भएका हुन् । उनी यसअघि लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । उनी ११ औँ तह सहसचिव हुन् ।

प्रदेश लोक सेवा आयोग ऐनको दफा ५ अनुसारको योग्यता भएका व्यक्ति अध्यक्ष बन्न पाउँछन् । आयोगको अध्यक्ष बन्नका लागि दफा ५ (क) र (ख)अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने र नियुक्ति हुँदाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था छ ।

ऐनको दफा ५ (ग) अनुसार अध्यक्ष बन्न ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष पूरा भएको हुनुपर्ने छ भने (घ) अनुसार उच्च नैतिक चरित्र भएको योग्यता हुनुपर्ने व्यवस्था छ ।

यसैबिच आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष सिफारिस गरेको भन्दै आयोगका सदस्य सुर्दशन ढकालले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष कार्तिक ११ बाट लागू हुनेगरी उनले राजीनामा दिएका हुन् । कार्तिकबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् । ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *