पोखरामा रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै महासंघको विरोध – Nepal Press

पोखरामा रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै महासंघको विरोध

काठमाडौं । पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोड गरेको उल्लेख छ ।

निषेधाज्ञा तोड्दै निकालिएको जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा पार्टीका कार्यकर्ताले ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी महासंघमा प्राप्त भएको’ विज्ञप्तिमा लेखिएको छ ।

‘नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो। यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ’, महासंघले भनेको छ ।

घटनामा संलग्नलाई कारवाही गर्न र निर्वाधरूपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन महासचिव पुरीले ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर