उपप्रधानमन्त्री सिंहले सार्वजनिक गरे सय दिनकाे कामकाे विवरण – Nepal Press

उपप्रधानमन्त्री सिंहले सार्वजनिक गरे सय दिनकाे कामकाे विवरण

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हासिल गरेको छ भने ३ वटा योजना चालू अवस्थामा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जसअनुसार धरहरा खुल्ला गरिएको, ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरिएको जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुननिर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ५० वटा झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको र १० वटा पुल निर्माण कार्य चालु अवस्थामा रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री सिंहले शहरलाई सुरक्षित गर्न आवश्यक नीति बनाउन आफूले काम गरिररहेको बताउनुभयो । काम गर्नेहरुलाई काम गर्ने वातावरण बनाउने गरि नयाँ नीति र ऐनहरु ल्याउन काम गरिरहेको उनको भनाइ छ ।

मन्त्रालयले पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगेपुल सञ्चालन आएको जनाएको छ भने गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किमि क्षेत्रमा ढल व्यवस्थापनको काम सम्पन्न भइ १ महिनाभित्रमा गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त हुने उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर