ट्राफिक कारबाहीमा अब डिजिटल चिट, चालकसँग डकुमेन्ट नलिइ अब यसरी हुनेछ सजाय (भिडिओ) – Nepal Press

ट्राफिक कारबाहीमा अब डिजिटल चिट, चालकसँग डकुमेन्ट नलिइ अब यसरी हुनेछ सजाय (भिडिओ)

काठमाडौं । नियम उल्लंघन गरेबापत कारबाही गर्नेक्रममा अब सवारी चालकसँग ट्राफिक प्रहरीले लाइसेन्सजस्ता कुनैपनि डकुमेन्ट नलिने भएको छ ।

ट्राफिक प्रहरीले डिजिटल चिटमार्फत कारबाही गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले बताए । ‘हाम्रो नयाँ सिस्टममार्फत डिजिटल चिट काटिने छ । हामी अब चालकसँग कुनै डकुमेन्ट लिदैनौँ’, उनले भने ।

 

यसअघि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेबापत लाइसेन्स, सवारी दर्ता किताबजस्ता डकुमेन्ट लिएर २४ घण्टे पुर्जी काट्ने गरेको थियो ।

‘यसको सट्टा अब सवारी चालकले नागरिक एपमा भएको क्युआर कोडसहितको लाइसेन्स देखाएमा ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपमार्फत उक्त क्युआर कोड स्क्यान गरी कारबाही गर्ने छ । यो नै डिजिटल चिट हो’, डिएसपी कार्कीले भने । हाललाई यो व्यवस्था ७० जिल्लामा र काठमाडौं उपत्यकाको ३९ वटा ट्राफिक प्रहरी कार्यालयमा सुरु गरिएको छ ।

डिजिटल चिटका लागि सवारी चालकसँग नागरिक एप हुनुपर्ने छ । डिजिटल चिटको व्यवस्थाले सम्बन्धित सवारी चालकको सम्पूर्ण रेकर्ड, कसुर, सवारी नम्बर अद्यावधिक हुने जनाइएको छ । कारबाही गरिएको डिजिटल चिट नम्बरसहितको जानकारी सवारी चालकको नागरिक एपमा जाने छ ।

उक्त चिट नम्बरका आधारमा सवारी चालकले ई–पेमेन्ट गर्नका साथै कारबाही भुक्तान गरेको जानकारी नागरिक एपमा प्राप्त हुने डीएसपी कार्कीले बताए । तर कारबाही स्वरुपको रकम भुक्तानी वा सचेतना कक्षा क्लियर नगरेसम्म नोटिफिकेसन आइरहने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हाल मापसे, ओभर स्पिड, लेन क्रस र रातो बत्तीमा सचेतना कक्षा लिनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर