महिलाले बसमा हराएको ३ लाख नगद र सुनसहितको झोला यसरी भेटियो – Nepal Press

महिलाले बसमा हराएको ३ लाख नगद र सुनसहितको झोला यसरी भेटियो

रुपन्देही । भारतको सिक्किममा बस्ने ३२ वर्षीय प्रियंका थापा सुवेदी असोज ३० गते काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउने प्रदेश १–०१–००१ ख, ३८३६ नम्बरको ‘रोयल झापा’ नाम गरेको बसमा यात्रा गरेकी थिइन् ।

गुल्मी चन्द्रकोट नगरपालिका–८ बस्ने झबिन्द्रबहादुर सुवेदीको श्रीमती प्रियंका रोजगारीको लागि सिक्किममा बस्दै आएकी थिइन् । कपिलवस्तुको वाणगंगा ८ बोडगाउँमा रहेको माइतीमा जान उनी सिक्किमबाट त्यहीँको यात्रा तय गरेकी हुन् ।

दुई जीउ रहेकी उनी कपिलवस्तुको बोर्डगाउँ आएपछि ओर्लिएपनि नेपाल बस्दा र सुत्केरी हुने समयको सबै खर्चका लागि जोहो गरेर ल्याएको ३ लाख ४ हजार ७ सय नगद र सुनका औंठीसहितको झोला भने उनी चढेको गाडीमै छुट्यो ।

बसबाट ओर्लेर नजिकैको शौचालय गएर फर्केपछि आफ्नो साथमा रहेको नगद, औंठी, क्रेडिट कार्ड र नागरिकतासहित सामान रहेको झोला बसमै छुटेपछि उनलाई छटपटी भयो । उनले आफू चढेको बसको सबै नम्बरसहितको टिक सुरक्षित राखेकी थिइन् ।

उनी त्यहाँ झर्ने समयमा बसमा ६ जना मात्रै यात्रु बाँकी रहेका थिए । बसको कर्मचारीसँग सम्पर्क गरेर उनले त्यो बसमा अघि पछि रहेका यात्रुको नम्बर पत्ता लगाएर फोन गरेपनि कुनै जानकारी नै नभएको बताए । त्यो बस चन्द्रौटासम्म पुग्ने भएकाले उनले नगदसहितको झोला बसमा छुटेको जानकारी वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी गराइन् ।

प्रहरीले अनुसन्धान र खोजबिन गरी त्यो बसका सँगै रहेका यात्रुलाई सबै केरकार गर्यो । सुरुमा प्रहरीसँग पनि ती महिलाको झोला लगेको इन्कार गरेका यात्रुले बसमा रहेका सिसिटिभी फुटेज, सँगै रहेका यात्रुले देखेका सबै प्रमाण रहेर कारबाही गर्ने बताएपछि मात्रै त्यो नगद दिन राजी भएका थिए ।

पछि बसेका दुईमध्ये एक जनाले उक्त झोलासहितको नगद लिएर झरेका पत्ता लागेपछि अनुसन्धान सुरु गरेर सफलता हात लागेको वडा प्रहरी कार्यालयका सई नवराज शाहीको भनाइ छ ।

‘सुरुमा ती झोलाको रकम लगेका व्यक्तिको नम्बरमा हामीले सम्पर्क गर्दा पनि केही थाहा नभएको बताएका थिए तर गाडीमा रहेको सबै सिसिटिभी प्रमाण सुरक्षित रहेको र नदिए कानूनी कारबाहीमा जाने बताएपछि उनले नगद दिन तयार भएर प्रहरीकोमा आए तर झोलाबाट नगद झिकेर अरु फालेपछि त्यो समान भेटाउन अर्को समस्या पर्यो’; अनुसन्धानमा खटिएका सई नवराज शाहीले भने, ‘उनलाई लिएर झोला फालेको ठाउँ खोज्दै जाँदा भुटियो, सबै समान सुरक्षित नै रहेछन्, पीडितलाई बोलाएर ससम्मान सबै समान दिएका छौं, यात्रुले पनि सबै सूचना राख्नुपर्छ, बसका कर्मचारीले पनि अनिवार्य टिकटमा सबै विवरण लेख्नुपर्ने यो घटनाले सिकाएको छ ।’

प्रहरी निरीक्षक सुजनविक्रम शाहको नेतृत्वमा खटिएको प्रहरीले यो सबै काम गरेको थियो । ती महिलाको झोलामा रहेको नगद शिवराज नगरपालिका–६ का बसीर चुरेटाले झोला लगेका प्रहरीले पत्ता लगाएर फोन गरेपछि उनले नगद दिएका थिए ।

तर झोला रहेको नगद आफूले लगेर झोला बाटोमा फालिदिएपछि सुन र अन्य महत्वपूर्ण सामग्रीबारे अर्को समस्या थपिएको अनुसन्धानमा संलग्न सई नवराज शाहीले बताए । बसिरले झोलामा रहेको नगद आफ्नो खल्तीमा राखेपछि अन्य सामान नहेरी झाडीमा झोला फालेर घरतिर हिँडेका थिए । पछि उनी आफैँले त्यो झोला फालेको ठाउँ नभेटाएर समय लागेको प्रहरीको भनाइ छ । प्रहरीले बसिरलाई लिएर झोला फालेको ठाउँ पत्ता लगएर झोला र झोलामा रहेको सबै समान भेटाएको थियो ।

‘झोला हराएपछि मेरो होस उडेको थियो, प्रहरीको ठूलो सहयोग भयो, हामीले फोन गर्दा त ती यात्रुले आफूले नदेखेको बताए, पछि फोनै उठाउन छाडे तर बसमा सिसिटिभी भएकाले सबै प्रमाण भेटियो, टिकट काटेकाले उनीहरुको पनि प्रमाण भेटियो, व्यवसायी, बसका कर्मचारी र यात्रु सबै सचेत भए यसरी हराएको समान पनि भेटियो निकै खुसी छु, नेपाल प्रहरीलाई धन्यवाद छ, मेरो एक रुपैयाँ पनि खतै हराएन; प्रियंकाले नेपाल प्रेससँग भनिन् । ‘नेपाल प्रहरीलाई धन्यवाद छ, मेरो यति ठूलो रकम र सबै समान खोजेर ठूलो राह दिलाउनुभएको छ’ उनले भनिन् ।

परोजगारीको सिलसिलामा भारतको सिक्किम बस्ने उनी गर्भवती भएपछि सुत्केरीका लागि माइती आएकी हुन् । भटिएको सबै नगद, झोलासहितका समान प्रहरीले प्रियंका र उनकी आमालाई बोलाएर हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर