चिया पसलले ‘दाह्रीभाइ’को पहिचान बनाएका सुरज – Nepal Press

चिया पसलले ‘दाह्रीभाइ’को पहिचान बनाएका सुरज

सुर्खेत । सुर्खेतको प्रसिद्ध काँक्रेविहारको छेउमा रहेको ‘दाह्रीभाइ’ चिया पसलले अहिले पर्यटकदेखि स्थानीयसम्मको मन जितिरहेको छ । यस पसलका सञ्चालक २५ वर्षीय सुरज क्षेत्री हुन्, जसलाई अहिले ‘दाह्रीभाइ’को रूपमा चिनिन्छ । सुरुमा चिया पसलको नाम के राख्ने भन्ने सोचमा पारेको सुरज बताउँछन् । अचानक ‘दाह्रीभाइ’ नामले तान्यो र त्यसपछि दाह्री पाल्न सुरु गरेको उनको भनाइ छ । सुरज अहिले सुर्खेतका लोकप्रिय चिया व्यापारीहरूमध्ये एक बन्न सफल भएका छन् ।

सुरजले २०७५ सालमा १० हजार रुपैयाँको सानो लगानीबाट चिया पसल सुरु गरेका थिए । भक्तपुरबाट ल्याइएका ३० मट्कामा चिया बेच्न थालेका उनले अहिले मासिक ५ हजार मट्काका गिलास बेच्ने गरेका छन् । मट्कामा चिया पाइने विशेषता नै ग्राहक तान्ने मुख्य कारण भएको उनी बताउँछन् ।

सुरजका अनुसार मट्कामा पिउँदा चियाको स्वाद सिसाको गिलासभन्दा धेरै फरक र विशेष हुन्छ । चिया पिएपछि ग्राहकहरूले मट्कामा आफ्नो नाम लेख्न पाउँछन्, जसले युवा पुस्तामा ‘दाह्रीभाइ’ चिया पसललाई अझ लोकप्रिय बनाएको छ ।

पसल खोलेपछि मासिक डेढ लाख रुपैयाँसम्म चिया बिक्री हुने गरेको सुरज बताउँछन् । चिया पसलमा दैनिक १०० भन्दा बढी ग्राहक आउने गरेका छन्, जसले गर्दा उनीहरूले चियाको स्वादसँगै नाम लेख्ने अवसर पनि पाउँछन् ।

यतिबेला सुरज आफैं कम फुर्सदिला छन् । किनकि उनी अफिसको काममा व्यस्त छन् । उनको अनुपस्थितिमा उनकी आमा पसलको मुख्य व्यवस्थापनमा देखिन्छिन् । सुरज आफैंले बिदाको दिन वा बिहानसाँझ आमालाई सघाउने गरेका छन् । पसलमा आमालाई धेरै कामको भार नपरोस् भनेर उनले एक जना सहयोगी राखेका छन् ।

दाह्रीभाइ चिया पसलको लोकप्रियतामा सुर्खेतकी रीतु केसी जस्ता नियमित ग्राहकहरूको ठूलो योगदान छ । उनी भन्छिन्, ‘काँक्रेविहारको हरियाली र शान्त वातावरणमा दाह्रीभाइको चियाले अझै शान्ति दिन्छ । बजारको भीडभाड र होहल्ला छोडेर म अक्सर यहाँ आउँछु ।’

सुरजले आफ्नो चिया पसललाई मात्र व्यापारिक सफलताको साधन बनाएका छैनन्, यसलाई स्थानीय र पर्यटकहरूका लागि शान्तिको थलो पनि बनाएका छन् । मट्काको चिया, हरियाली वातावरणले यो पसल अहिले सुर्खेतको मुख्य आकर्षण बनेको छ ।

काँक्रेविहार मन्दिर नजिकैको दाह्रीभाइ चिया पसल सुर्खेत आउने जोकोहीको मन तानिरहेको छ । पसलका मालिक सुरज क्षेत्रीले सन् २०७५ मा १० हजार रुपैयाँबाट सुरु गरेको यो पसल अहिले मासिक डेढ लाख रुपैयाँसम्मको चिया बिक्री गर्न सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर