मेस्सीको लगातार ह्याट्रिक, इन्टर मायमीले फिफा क्लब विश्वकप खेल्ने – Nepal Press

मेस्सीको लगातार ह्याट्रिक, इन्टर मायमीले फिफा क्लब विश्वकप खेल्ने

काठमाडौं। लियोनल मेस्सीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्। अघिल्लो खेलमा राष्ट्रिय टोलीका लागि तीन गोल गरेका मेस्सीले आइतबार बिहान इन्टर मायमीका लागि तीन गोल गरेका हुन्।

खेलमा २–० गोलले पछाडि परेको अवस्थामा इन्टर मायमीले मेजर लिग सकर(एमएलएस)को नियमित सिजनको अन्तिम खेलमा न्यु इङ्ल्यान्ड रेभ्युलुसनलाई ६-२ गोलले हरायो। इन्टर मायमी एमएलएसको नियमित सिजनमा सबैभन्दा बढी अंक बटुल्ने टिम बनेको छ।

एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मायमीले ३४ खेलमा ७४ अंक बटुल्यो। इस्टर्न कन्फेरेन्समा १५ र वेस्टर्न कन्फेरेन्समा १४ टिम छन्। दुवै कन्फेरेन्सको नियमित सिजनमा सर्वाधिक अंक बटुल्ने टोलीलाई सपोटर्स सिल्ड्सको उपाधि दिइन्छ।

सपोटर्स सिल्ड्स जितेको आधारमा मायमी अमेरिकामै हुने फिफा क्लब विश्वकपमा छनोट भएको छ। यसपटकको क्लब विश्वकपमा ३२ टोली सहभागी हुँदैछन्। आयोजक अमेरिकाको प्रतिनिधि टोलीका रुपमा इन्टर मायमीले क्लब विश्वकप खेल्ने पक्का भएको हो।

वेस्टर्न र इस्टर्न दुवै कन्फेरेन्सका शीर्ष ७-७ टोली एमएलएस कपका लागि सोझै छनोट भएका छन्। आठौँ र नवौँ स्थानका टोली प्ले अफमा पुगेका छन्। जसबाट दुई टोली गरेर कुल १६ टोलीले एमएलएस कपमा प्रतिस्पर्धा गर्नेछन्।

नियमित सिजनमा इन्टर मायमीले यसपटक २२ जित, ८ बराबरी र ४ हारको नतिजा निकाल्यो। दोस्रो स्थानमा रहेको टोली मायमीभन्दा ८ अंकले पछाडि पर्यो ।

मायमीका लागि २० गोल र १७ असिस्ट गरेका मेस्सी एमएलएसको नियमित सिजनतर्फ समग्रमा दाेस्राे सर्वाधिक गोलकर्ता बने। वेस्टर्न कन्फेरेन्समा प्रतिस्पर्धा गर्ने डीसी युनाइटेडका क्रिस्टियन बेनटेक २३ गोल र ७ असिस्टसहित पहिलो स्थानमा रहे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर