नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने व्यवस्था मिलाउन सरकारले दियो स्वीकृति – Nepal Press

नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने व्यवस्था मिलाउन सरकारले दियो स्वीकृति

काठमाडौं । नागरिक एपबाट पनि राष्ट्रिय पचिरयपत्र हेर्ने व्यवस्था मिलाउनका लागि सरकारले स्वीकृति दिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत आएको प्रस्तावलाई गृह मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गरेपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर आवद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले स्वीकृति प्रदान गरे पनि अहिलेसम्म उक्त निर्णय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विभागमा आइनसकेको विभागका महानिर्देशक युवराज कट्टेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उक्त निर्णय आइसकेपछि विभागले राष्ट्रिय परिचयपत्रलाई नागरिक एपमा देखाउने व्यवस्था गर्नका लागि प्राविधिक पाटोको काम अघि बढाउने छ । विभागले आफ्नो व्यवस्थापनको पाटो पुरा गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको सूचना प्रविधि विभागले राष्ट्रिय परिचयपत्रलाई पनि नागरिक एपमा देखिने व्यवस्था मिलाउने महानिर्देशक कट्टेलले बताए ।

नागरिक एपमा अहिलेसम्म नेपाली नागरिकता, राहदानी, मतदाता परिचयपत्र, पत्रकार परिचयपत्र, सवारी चालक अनुमतिपत्र, प्यान कार्ड, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष लगायतका परिचयपत्र हेर्न पाइन्छ ।
यस्तै नागरिक एपबाटै प्रहरी चारित्रिक प्रमाणपत्र, स्वास्थ्य बीमा, स्थानीय तहले दिने सेवा सुविधा, हेलो सरकारलाई गुनासो, लोक सेवा आयोगको आवेदन गर्न, बैदेशिक रोजगारीको सेवा लिन, एनओसीको सेवा, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल बिद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मौसमी विवरण, विदेशी विनिमयदर लगायतको जानकारी तथा सेवा दिदैँ आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर