कुशलको ब्याटिङ र सोमपालको बलिङ, जसले उकास्नेछ लिग- २ अघि सिंगो टीमको मनोबल – Nepal Press

कुशलको ब्याटिङ र सोमपालको बलिङ, जसले उकास्नेछ लिग- २ अघि सिंगो टीमको मनोबल

काठमाडौं । अमेरिकालाई सुपरओभरमा हराएर टी-२० सिरिज कब्जा गरेसँगै लिग- २ को आसन्न प्रतियोगिताअघि नेपालको आत्मविश्वास फर्केको छ । आजको प्रदर्शनमा दुई खेलाडी नायक बने, बलिङमा सोमपाल कामी र ब्याटिङमा कुशल भुर्तेल ।

यसअघि क्यानाडामा नेपालले सोचे जस्तो प्रदर्शन गर्न सकेको थिएन । तीन देश सम्मिलित लिग- २ का चार खेलमध्ये नेपालले तीन खेलमा पराजय भोग्यो भने एउटा खेल वर्षाका कारण रद्द भयो । क्यानाडाले दुई खेलमा नेपाललाई ठूलो अन्तरालले हराएको थियो भने ओमानले एक विकेटको जीत हासिल गरेको थियो । लिग- २ पछिको टी-२० सिरिजमा भने नेपालले केही सुधारिएको प्रदर्शन गर्‍यो । नेपालले ओमानलाई दुवै खेलमा हरायो, तर क्यानाडासँग दुवै खेलमा पराजित हुन पुग्यो ।

क्यानाडामा नेपालले ब्याटिङमा निकै संघर्ष गरेको थियो । गुल्शन झा र कप्तान रोहित पौडेलबाहेक कुनै पनि ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । लिग- २ मा नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको उच्च व्यक्तिगत स्कोर रोहित पौडेलको ६० रन थियो । टी-२० मा पनि रोहितले नै सर्वाधिक ५६ रन बनाएका थिए ।

क्यानाडाबाट अमेरिका आउँदा नेपाली टीम उच्च मनोबलमा थिएन । त्यसमाथि भारतीय खेलाडीहरुले भरिएको अहिलेको अमेरिकी टीम निकै बलियो छ । घरेलु मैदानमा अमेरिकालाई हराउन कुनै पनि एसोसिएट्स राष्ट्रलाई सहज हुँदैन । गत टी-२० विश्वकपमा अमेरिकाले टेस्ट राष्ट्रहरुलाई कडा टक्कर दिएको थियो भने पाकिस्तानलाई सुपरओभरमा पराजित गरेको थियो ।

अमेरिकामा लिग- २ सुरु हुनुअघि भएको द्विपक्षीय टी-२० श्रृंखला नेपालले कब्जा गर्न सफल भयो । तीन खेलको श्रृंखलामा नेपालले २-० को अग्रता लिएर उपाधि जित्ने निश्चित गरेको हो । यो श्रृंखला लिग- २ अघि नेपालको आत्मविश्वास फर्काउन निकै महत्वपूर्ण थियो । दुई टी-२० मा नेपालको प्रदर्शनले पक्कै पनि घरेलु टीम अमेरिकासँगै अर्को प्रतिस्पर्धी स्कटल्यान्डले पनि ‘हिट’ महसुस गरिरहेको हुनुपर्छ ।

दुइटै म्याचमा नेपालले ब्याटिङमा सुधारिएको प्रदर्शन गर्‍यो, जुन सबैभन्दा राम्रो समाचार हो । विदेशी भूमिमा नेपालको ब्याटिङ त्यति आत्मविश्वासी छैन । त्यसमाथि अमेरिको पिच ब्याट्सम्यानका लागि सहज मानिँदैन । त्यहाँ टी-२० मा १५० भन्दा माथिको स्कोर चुनौतीपूर्ण हुन्छ । नेपाल दुवै म्याचमा पहिले ब्याटिङ गरेर बलियो स्कोर खडा गर्न सफल भयो ।

दोस्रो म्याचमा नेपालले कठिन स्थितिबाट जीत निकालेको हो । खेल जिताउन दुई खेलाडीको प्रदर्शन निर्णायक रह्यो । ब्याटिङमा कुशल भुर्तेल र बलिङमा सोमपाल कामी । भुर्तेलले लामो समयपछि एउटा ‘म्याच विनिङ’ पारी खेले । त्रिवि मैदानमा ‘बाघ’ र बाहिर गएपछि ‘बिरालो’ बन्ने गरेको आरोप भुर्तेलमाथि लाग्ने गर्छ । त्यसलाई चिर्दै उनले एउटा टिपिकल टी-२० पारी खेले र नेपाललाई बलियो पोजिसनमा पुर्‍याए ।

लामो समय नेपालको ओपनर रहेका भुर्तेललाई पछिल्लो समय ब्याटिङ अर्डरमा ‘अन्याय’ भइरहेको छ । उनी टप अर्डर ब्याट्सम्यान नै हुन्, तर केही खेलहरुमा असफल भएपछि नेपालले उनलाई जबरजस्ती मिडल अर्डरमा ब्याटिङ गर्न पठायो । पछिल्लो एउटा खेलमा त उनी आठौं नम्बरमा आए ।

आजको खेलमा आसिफ शेख छिट्टै आउट भएपछि ‘डिफ्याक्टो ओपनर’ का रुपमा कुशललाई तेस्रो नम्बरमा पठाइएको थियो । केही समयको अन्तरालपछि टप अर्डरमा फर्किएका कुशलले फेरि एक पटक आफूलाई प्रमाणित गरेर देखाए । उनको इनिङ थुप्रै विशेषताहरुले भरिएको थियो । ६ वटा शानदार छक्का र ७ चौका हान्दै कुशलले आफ्नो विस्फोटक क्षमताको प्रदर्शन गरे । रिभर्स स्कुपमार्फत विकेट पछाडि प्रहार गरेका दुई छक्का ‘कुशल स्पेसल’ थिए । थप तीन चार बल खेल्न पाएको भए सायद टी-२० करिअरको दोस्रो शतक बनाउन सक्थे ।

कुशलको आजको इनिङले सिंगो नेपाली टीममा आत्मविश्वास भर्नेछ । विदेशी भूमिमा पनि नेपाली ब्याट्सम्यानले लामो र विस्फोटक पारी खेल्न सक्छन् भन्ने कुशललले सावित गरे । अब लिग- २ का खेलहरुमा कुशलबाट धेरै अपेक्षा गरिनेछ ।

आजको जीतमा उत्तिकै असरदार रहे फास्ट बलर सोमपाल कामी । सोमपालले नेपालका सबैभन्दा अनुभवी बलरका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेका छन्, लगभग गुमिसकेको खेल फिर्ता ल्याएर । सोमपालले फ्याँकेको २०औं ओभर र सुपर ओभर दुवै उत्कृष्ट थिए ।

अन्तिम १३ बलमा १५ रन आवश्यक हुँदा अमेरिका जीतको संघारमै देखिएको थियो । किनकि ऊसँग ६ विकेट सुरक्षित थियो । एन्ड्रिज गोउस ५९ रन बनाएर विस्फोटक अन्दाजमा खेलिरहेका थिए । १८औं ओभरको अन्तिम बलमा अमेरिकाले विकेट गुमायो । १९औं ओभरमा करण केसीले ८ रन खर्चिएर एक विकेट लिए । त्यसपछि अमेरिकालाई अन्तिम ओभरमा चाहियो केवल ७ रन । हातमा ४ विकेट । स्पष्ट रुपमा अमेरिकाको पल्लाभारी ।

अन्तिम ओभर बलिङमा कप्तान रोहित पौडेलसँग तीन अप्सन थिए । अघिल्लो खेलमा ३ विकेट लिएर म्यान अफ दि म्याच बनेका दीपेन्द्रसिंह ऐरीलाई कप्तानले आज केवल एक ओभर बलिङ गराएका थिए । प्रमुख स्पिनर सागर ढकाल र फास्ट बलर सोमपालका एक-एक ओभर बाँकी थिए । रोहितले बल सोमपाललाई दिए ।

सोमपालले पहिलो तीन बलमा चार रनमात्रै खर्चिए । चौंथो बलमा उनले सबैभन्दा महत्वपूर्ण विकेट लिए एन्ड्र्यू गोउसको, जो ६२ रनको अवस्थामा थिए । यो विकेट अमेरिकाका लागि बज्रपात थियो । अब दुई बलमा जीतका लागि ३ रन चाहियो । क्रिजमा आएका नयाँ ब्याट्सम्यानले दुई रनमात्रै बटुल्न सके ।

खेल सुपरओभरमा गएपछि कप्तान रोहितले धेरै सोचविचार नगरिकन सोमपाललाई नै बल थमाए । सोमपालले चाहेको जस्तो डेलिभरी दिए । सनसनीपूर्ण बलिङ गर्दै उनले पहिलो दुई बलमा दुई रन दिए भने तेस्रो र चौंथो बलमा लगातार विकेट लिए । अमेरिकाले केवल २ रन जोड्न सक्यो । ३ रनको लक्ष्य केवल औपचारिकता थियो, जसलाई कप्तान रोहित पौडेल र कुशल भुर्तेलले पूरा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर